भर्खरै :

अमेरिकी बन्दूके कूटनीति : एक हप्तामा ३६ मुलुकलाई चेतावनी

राजन
अमेरिकाले ३६ राष्ट्रमाथि धम्कीको भाषा प्रयोग गर्दै दादागिरी देखायो । अमेरिकी स्वार्थमा धक्का पुग्ने नीति बनाउने ती सबै मुलुकले अमेरिकाको नाकाबन्दीको सामना गर्नुपर्ने स्थिति छ । अमेरिकाले आफ्ना नजिकका मित्र राष्ट्रमाथि धम्की दिन पछि परेको छैन । अमेरिकी धम्कीको पछिल्लो तारो छिमेकी मुलुक मेक्सिको भएको छ । आफ्नो कमजोरीलाई लुकाउँदै अमेरिका मेक्सिकोलाई धम्की दिन्छ । यदि ल्याटिन अमेरिकाबाट आप्रवासीलाई अमेरिका छिर्नबाट रोकिएन भने हरेक आयातमाथि ५ प्रतिशत कर लगाउनेछ र यो विस्तारै २५ प्रतिशतसम्म पुग्नेछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावमा वाचा गरेका थिए, अमेरिका छिर्ने आप्रवासीलाई रोक्न मेक्सिकोको सीमामा पर्खाल लगाउने । तर अहिलेसम्म यो काम हुन सकेको छैन । सन् २०२० मा हुने राष्ट्रपति चुनाव नजिकिँदै जाँदा डोनाल्ड ट्रम्प झन् उग्र भएका छन् । यो धम्की आगामी राष्ट्रपति निर्वाचनको लागि अहिलेदेखि तयारी गरिएको बुझिन्छ । सीमामा तनाब ल्याउने शासकको यो एउटा सूत्र हो । भर्खरैमात्र भारतीय चुनावमा पाकिस्तान र भारतको सीमाको कुरा उठाउँदै मोदीले चुनाव जितेका थिए । स्मरणीय छ, उक्त चुनावी अभियानमा भारतीय जनताको समस्याभन्दा पनि पाकिस्तानको नाम बढी लिएका थिए मोदीले ।
त्यसैगरी सम्पूर्ण युरोपियन युनियन पनि अमेरिकी चेतावनीमा परेको छ । यदि युरोपेली देशहरूले इरानसँग मानवीय सहायताको निहुँमा इरानमाथि अमेरिकी नाकाबन्दीलाई बेवास्ता गरे अमेरिकाले त्यस्ता मुलुकलाई पनि नाकाबन्दी गर्ने चेतावनी दिएको छ । सन् २०१५ मा इरानसँग भएको परमाणु सन्धिअनुरूप प्रभावकारी ढ·ले काम भइरहेकोले ट्रम्पको सन्कीमा इरानसँगको व्यापार बिथोल्न चाहँदैन युरोपेली राष्ट्र । तर, युरोपेली मुलुकले इरानमाथिको नाकाबन्दी छल्नलाई वैकल्पिक उपायबाट भुक्तानी गरेमा सजाय दिन पछि पर्ने छैन भन्दै अमेरिकाले युरोपियन युनियनलाई चेतावनी दिएको छ । जर्मनीले रूसबाट ग्यास आयातलाई बन्द नगरे त्यसको गम्भीर असर भोग्नुपर्ने भनेर अमेरिकाले जर्मनीलाई धम्की दिएको छ ।
अमेरिकाको अर्को तारो बनेको छ, भारत । रुससँग ‘एस ४ सय हवाई सुरक्षा प्रणाली’ खरिदलाई रद्द नगरे ‘काउन्टरिङ अमेरिकाज आडभरजरी थ्रु स्यान्कसन एक्ट’ (नाकाबन्दी ऐनको माध्यमबाट अमेरिकाको शत्रुसँग सामना) ऐनअन्तर्गत नाकाबन्दीको सामना गर्न तयार हुनु भनेर अमेरिकाले भारतलाई धम्की दिएको छ । अमेरिका आफ्नो प्रतिद्वन्द्वीसँग अरू कुनै मुलुक नजिकसम्म भएको मनपराउँदैन । भारत रूससँग नजिक भएको अमेरिका सहँदैन ।
उस्तै प्रकारको धम्की टर्कीले पनि सामना गर्नु परेको छ । टर्कीलाई पनि रूससँगको हतियार सम्झौता रद्द नगरे एफ ३५ लडाकू जेट योजनालाई ठप्प पार्ने चेतावनी दिइएको छ । अमेरिकाको अन्तर्राष्ट्रिय सुरक्षा मामलाका सहायक सचिव क्याथरिन विलबार्गरले चेतावनी दोहो¥याएका छन् । टर्कीले १ अर्ब २५ करोड डलर उक्त परियोजनको लागि खर्च गरिसकेको छ । यसका थुप्रै पार्टपुर्जाहरू टर्कीमा पनि बन्छ । यो विवादले गर्दा अमेरिका आफै ठूलो घाटामा पुग्ने देखिन्छ ।
ट्रम्पको सन्कीको अर्को पीडक राष्ट्र क्युवा बनेको छ । भेनेजुयलाका राष्ट्रपति मुडुरोका समर्थक राष्ट्र हो क्युवा । यही कुरा अमेरिकालाई पचेको छैन । अमेरिकी उपराष्ट्रपति माइकल पेन्सले क्युवाले भेनेजुयलालाई गरेको सहयोग बन्द गर्नुपर्ने चेतावनी दिएका छन् ।
एकै दिनमा २८ मुलुकलाई नाकाबन्दी र धम्की दिने अमेरिकी प्रशासकको मनस्थिति ठीक छैन । विश्वका परराष्ट्र जानकारहरू यो वर्षलाई डोनाल्ड ट्रम्पको ‘बन्दुके कूटनीति’ भनेर खिल्ली उडाउँछन् ।
इरानसँग तेल किन्ने सबै राष्ट्रमाथि नाकाबन्दी लगाउने धम्की दिन्छ, अमेरिका । पर्सियाली गल्फ नजिक तेल ट्याङकरमाथि आक्रमण उचित थिएन । अमेरिकी चेतावनी भए पनि चीनले इरानसँग तेल किनिरहेको छ । यो अमेरिकाको लागि सह्य भएन । यसैसँग जोडेर चीनमाथि पनि नाकाबन्दी लगाउने धम्की दिएको छ । भारतलाई भने अमेरिकाको धम्कीले गर्दा अप्ठ्यारो भइरहेको छ । भारतीय तेल आयातको ठूलो हिस्सा इरानसँग छ तर अमेरिकी धम्कीको खुलेर विरोध गर्न सकिरहेको छैन, भारत । रूसले छोटो दूरीको परमाणु क्षेप्यास्त्रको पुनःनिर्माण गर्ने विषयलाई जोडेर नाकाबन्दी गर्ने धम्की अमेरिकाले दिएको छ तर रूसले त्यसलाई टेरपुच्छर लगाएको छैन ।
वर्तमान समयमा ट्रम्पको यस्तो कुनै हप्ता छैन जुन हप्ता कुनै सार्वभौम राष्ट्रलाई धम्की वा चेतावनी नदिएको होस् । तर, गएको हप्ता अलि बढी नै अर्थात् ३६ मुलुकले अमेरिकाको धम्की सुन्नुप¥यो ।
आफ्नो स्वार्थ सिद्ध गर्ने सरकार भए जस्तोसुकै अत्याचारी सरकार भए पनि समर्थन गर्ने तर आफ्नो स्वार्थसँग बाँझिने गरी अडान लिने भयो भने जस्तोसुकै इमानदार सरकार भए पनि विरोध गर्ने अमेरिकी शासकको प्रवृत्ति रहेको छ । जसको पछिल्लो उदाहरण होण्डुरसको सरकार रहेको छ जसलाई त्यहीका जनताले विरोध गरिरहेका छन् । तर, होण्डुरस सरकारले आफ्नो पक्षको भएकोले त्यसलाई अमेरिकी सरकार समर्थन गरिरहेको छ । त्यसैकोे विरोधस्वरूप हालैमात्र होण्डुरसका जनताले त्यहाँँस्थित अमेरिकी दूतावासमा आगो लगाएका छन् ।
दसकौँदेखि अमेरिकाको प्रभाव विश्वभर फैलिएको तथ्यलाई नकार्न सकिँदैन । अमेरिकाको विरोधी मुलुक पनि अमेरिकी मुद्रा डलरमा निर्भर छ । अमेरिकी शासकले विश्वका सम्पूर्ण राष्ट्रले अमेरिकाले भनेको मान्नुपर्छ भन्ने अर्थ लगाइरहेको छ । यसरी अहिलेको अवस्थामा ट्रम्प विश्वलाई नै खतरनाक युद्धमा तानिरहेको भान हुन्छ । अमेरिकाको विश्वभर तैनाथ गरिएका असङ्ख्य सैनिक अखडाहरूले विश्वमा अमेरिकी प्रभावमात्र होइन अमेरिकाको शत्रु राष्ट्र पनि धेरै छन् भन्ने देखाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *