भर्खरै :

चीनको श्वेतपत्र र अमेरिकाले उछालेको व्यापार युद्ध

चीनको राज्य परिषद् सूचना कार्यालयले आइतबार ‘चीन–संरा अमेरिका आर्थिक तथा व्यापारिक परामर्शमा चीनको विचार’ शीर्षकको श्वेतपत्र जारी गरेको छ । श्वेतपत्रमा संरा अमेरिकासँग भएको व्यापार वार्ताबारे विस्तृत चित्रण गरिएको छ । वार्तामा संरा अमेरिकाले कसरी सहमतिको प्रयासमाथि चिसो पानी खन्याएको थियो र आफ्नो प्रतिबद्धताबाट उसले कसरी हात झिकेको थियो भन्नेबारे श्वेतपत्रमा विस्तृत चर्चा गरिएको छ । तथ्य–तथ्याङ्कमा आधारित भएर श्वेतपत्रले वार्ताको क्रममा भएको धेरै असफलताको निम्ति संरा अमेरिका पूर्णरूपमा जिम्मेवार भएको लेखिएको छ । चीनका प्रमुख अडान र आफ्नो देशको मूल हितको रक्षा गर्ने चिनियाँ अडानलाई संरा अमेरिकाले न्यूनाङ्कन गरेको श्वेतपत्रमा भनिएको छ ।
आफू स्वयंले थालनी गरेको व्यापार विवादबारे चीनविरुद्ध वासिङ्टनले गलत प्रचारबाजी गरेको छ । अन्तर्राष्ट्रिय वृत्तमा आफ्नो प्रभावको फाइदा उठाउँदै संरा अमेरिकाले गलत सूचना फैलाएर सर्वसाधारणलाई भ्रममा राख्न खोजेको छ । संरा अमेरिकाले चीनमाथि आरोप लगाउन झूटको सहारा लिने गरेको छ । आधिकारिक तथ्याङ्क समेटिएको श्वेतपत्रले सत्य उजागर गरेको छ र तथ्यको सही बुझाउन खोजिएको छ ।
चीन–संरा अमेरिकाबीचको सम्बन्धको वर्तमान अवस्थाबारे संरा अमेरिकाले पूर्ण जिम्मेवारी बहन गर्नेमा कुनै सन्देह छैन । बितेका केही वर्षमा वासिङ्टनले आफ्नो ‘अमेरिका प्रथम’ नीति कार्यान्वयन गर्न के गर्छ भन्ने कुरा संसारसमक्ष देखाइसकेको छ । वासिङ्टनले आफ्ना ठूला व्यापार साझेदारमाथि प्रहार गरेको छ, निराधार आरोप लगाएर एउटा निजी व्यापारिक संस्थामाथि निर्मम हमला गरेको छ, अन्तर्राष्ट्रिय मूल्य, मान्यता र नियम उपेक्षा गरेको छ, आफ्ना छिमेक र साझेदारविरुद्ध निर्णय गरेको छ । निकै कष्टपूर्वक संरा अमेरिकाले बनाएको नैतिक आधारसमेत संरा अमेरिकाले गुमाइसकेको छ र आज ऊ जहाँतहीँ समस्या उछालिरहेको छ ।
संरा अमेरिकामा आजजस्तो परिवर्तन भइरहेको छ, त्यो अत्यन्त दुःखदायी र चिन्ताजनक छ । वर्षौं वर्ष एउटा महाशक्तिको रूपमा संसार अमेरिकाले एउटा विश्व दृष्टिकोण विकास गरेको थियो । तथापि स्वार्थी प्रवृत्ति र साँघुरो सोचाइका कारण अमेरिकी समाज खस्कँदो छ । अमेरिकी समाजको त्यस्तै स्वभावका कारण सबै तर्क र विवेक गौण बनाइएको छ । त्यस्तो जड विचारका कारण संरा अमेरिका सम्पूर्ण संसारकै लागि विध्वंसक शक्ति बन्न सक्छ । त्यसकारण संरा अमेरिकाको उत्तेजनालाई कम गर्ने र सौम्य बनाउन अत्यन्त जरुरी भइसकेको छ ।
चीनले सार्वजनिक गरेको श्वेतपत्रमा संरा अमेरिकाले उछालेको व्यापार द्वन्द्वले ऊ आफैंको हितमा आघात परेको छ । धम्काएर, तर्साएर, दबाबमा पारेर र झुक्याएर वासिङ्टनले केही अल्पकालिक फाइदा उठाएको हुनसक्छ । तर, समग्रमा हुने नोक्सानको हिसाब गर्दा त्यस्ता अल्पकालीन उपलब्धि अर्थहीन छ ।
चीनले रक्षा गरिरहेको चीनको हित र विकासको अधिकारमात्र पक्कै होइन । चीनले विश्वव्यापी औद्योगिक चक्रका साथै अन्तर्राष्ट्रिय नैतिकता, सिद्धान्त र व्यवस्थाको रक्षा गर्न खोजिरहेको छ । संसारमा अमेरिका अन्तर्राष्ट्रिय नैतिकता, सिद्धान्त र व्यवस्थाको संस्थापकबाट निषेधकमा रुपान्तरण हुँदै छ । सबभन्दा शक्तिशाली देश हुनुको नाताले उसले यस्तो गैरजिम्मेवार कार्यलाई सही र वैध ठह¥याउन सक्दैन । संसारमा अमेरिकाको व्यापार दादागिरीविरुद्ध चीनको प्रतिकार विश्वव्यापीरूपमै ऐतिहासिक महत्वको छ । चीनले बनाएको प्रतिरक्षात्मक किल्लाले धेरै अरू देशलाई पनि रक्षा गर्नसक्छ ।
अहिलेको प्रतिस्पर्धा भनेको बन्द व्यवस्था र खुलापनबीच, एकपक्षवाद र बहुपक्षवादबीच, स्वतन्त्र व्यापार र संरक्षणवादबीच, ठगी र मेलमिलापबीच तथा साँघुरो चिन्तन र बृहत् दृष्टिकोणबीचको ठूलो प्रतिस्पर्धा हो । मानव जातिको इतिहासमा यो अभूतपूर्व खेल बन्दुकबिना पनि ज्यादै गम्भीर महत्वको छ । यसले चीन र संरा अमेरिकाबीचको सम्बन्धलाई नयाँ आकारमा ढालेको छ । दुवैले एकअर्कालाई चिन्ने अवसर प्रदान गरेको छ । यो द्वन्द्वले अन्तर्राष्ट्रिय व्यवस्थालाई पनि नयाँ आकार प्रदान गरेको छ । यसले कुनै न कुनै रूपमा मानव जातिको इतिहासमा प्रत्यक्ष प्रभाव पारेको छ ।
यो खेलको मूल्याङ्कन गर्न कुनै विशेष विवेक वा जटिल अनुसन्धानको आवश्यकता छैन । आवश्यक छ त मात्र साहस र मेलमिलापको । चीन र संरा अमेरिकाबीच व्यापारिक विवाद सुरु भए यता केही देशले वासिङ्टनकै लयमा लय मिलाइरहेका छन् । यो अवस्थाले पनि वास्तविकता के हो, आफैं बोल्दै छ । केही देशहरूले आफ्नै स्वार्थ, ठूलो पल्किने स्वभाव र भयका कारण मौन बसेका छन् । तर, मौनताको अर्थ सहमति कहिल्यै हुनसक्दैन । धेरै देशहरूले यतिबेला चर्कोरूपमा संरा अमेरिकाको आलोचना गरिरहेका छन् ।
प्रभुत्ववादी शक्तिले अन्तर्राष्ट्रिय समुदायमा सबैले देखेकै कुरालाई पनि अस्वीकार गर्न खोजिरहेको छ । तर, तथ्य स्वयंले बोल्छ र तथ्यलाई कहिल्यै पनि कसैले बदल्न सक्दैन । हामी वासिङ्टनका निर्णयकर्ताहरूलाई चीनले जारी गरेको श्वेतपत्र गम्भीरतापूर्वक अध्ययन गर्न र त्यसमा निहीत अर्थ र मनसाय बुझ्न आग्रह गर्न चाहन्छौँ ।
स्रोतः ग्लोबल टाइम्स
अनुवाद ः सुशिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *