भर्खरै :

युद्ध निम्त्याउने कदमको विरोध आवश्यक

– गौरव प्रधान
संसारका मुलुकहरू साम्राज्यवादी र विस्तारवादी देशबाट आक्रान्त छन् । साम्राज्यवादी देशहरू अरु देशलाई जुधाएर आफ्नो देशमा उत्पादन भएको नयाँ र पुराना हतियार बेचेर धनी बन्न चाहन्छन् भने विस्तारवादी देशहरू आफ्नो प्रभुत्व जमाउँछन् । ठूलो र बलियोको मातमा चढेर ट्रम्प प्रशासनले लाजै नमानी निर्वाचित राष्ट्रपति माडुरोलाई सत्ताच्युत गराउने षड्यन्त्र रच्नु र विपक्षी दललाई उचाल्नु प्रजातन्त्रविरोधी कुरा हो । निर्वाचित राष्ट्रपतिको विरोधमा उभिनु र स्वघोषित राष्ट्रपतिको समर्थनमा अमेरिकी प्रशासन अघि बढ्नु संयुक्त राष्ट्र सङ्घको मूल्य र मान्यताको ठाडो उल्लङ्घन हो । अमेरिकी प्रशासनले ठाडै प्रजातान्त्रिक मूल्य र मान्यताको उल्लङ्घन गरे पनि संयुक्त राष्ट्र सङ्घ मौन रहेबाट सो सङ्घ पनि अमेरिकी प्रशासनको कठपुतली बनेको थाहा हुन्छ । यसको विरोध सर्वत्र हुनुपर्छ ।
स्वाधीन देशका राष्ट्रप्रमुखहरू राख्ने र हटाउने कुनै पनि शक्तिशाली देशको एक नायकको भूमिका न्यायोचित हुनैसक्दैन । अमेरिकी राष्ट्रपति ट्रम्पले भेनेजुयलामा जनताबाट निर्वाचित राष्ट्रपतिलाई सत्ताच्युत गरे या स्वघोषित व्यक्तिलाई राष्ट्रपति बनाए, बनाउन टेवा पु¥याए त्यो संसारकै निम्ति नजिर बन्नेछ र प्रजातन्त्रको निम्ति खतरा हुनेछ । अमेरिकी प्रशासनको बदख्वाइँपूर्ण उक्त प्रयासलाई बढावा दिने, समर्थन गर्ने अन्य अमेरिकी पिछलग्गू देशहरूको सहयोग र समर्थनले नै अमेरिकी प्रशासन अन्य देशहरूमा आक्रमण गर्न, दबाउन, हस्तक्षेप गर्न साँढेजस्तै पसिरहेको छ । स्वाधीन देशका जनताबीच जुधाउने, उल्काउने र जनधनको क्षति पु¥याएर अशान्ति मच्चाउने अमेरिका के आतङ्कारी होइन ? संसारका स्वाधीन मुलुकमा आतङ्क मच्चाउने, आक्रान्त बनाउने साम्राज्यवादी देशको विरोध गर्नु सबै देशभक्तको दायित्य हो । नेमकिपाले उक्त कदमको सुरुदेखि विरोध गर्दै आएको हो । यो हरेक कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय दायित्व पनि हो ।
नेमकिपा विदेश सम्बन्ध विभागद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा पार्टी अध्यक्ष रोहितले साम्राज्यवादी अमेरिका विश्वमा एकपछि अर्काे बदनाम हुँदै गइरहेको प्रस्ट पारे । एकातिर अमेरिका अभिमानी र थिचोमिचोको कारण बदनाम भइरहेको छ भने अर्काेतिर त्यो देशको अर्थतन्त्र नै ¥हासोन्मुख भइरहेको छ । हातहतियार जोड्ने र बिक्री गरेर संसारका मुलुकमा उत्पात् मच्चाउने अमेरिकाले अनेक कपट गरेर संसारलाई भिडाउने काम गरिरहेको यथार्थ हो । शक्तिशाली ठान्ने देश अमेरिका शक्तिकै कारण पतन भइरहेको आभास संसारका जनताले गर्दैछन् । विदेशी हस्तक्षेप र आक्रमणको विरोध हरेक प्रजातान्त्रिक र कम्युनिष्ट पार्टीको मात्र होइन सञ्चार या सञ्चारमाध्यमको पनि हो । विश्वमै सङ्घर्ष निम्त्याएर शान्ति बिथोल्ने कुनै पनि शक्तिशाली देशको विरोध गर्नैपर्छ । विश्वमा नयाँ युद्ध निम्त्याउने कुनै देशको कदमको विरोध गर्नैपर्छ । साम्राज्यवादी आक्रमण र दबाबसामु झुक्दै गएका संसारमा कहिले पनि शान्ति छाउने छैन । यसमा हामी सचेत हुनैपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *