भर्खरै :

धानको बीउ उत्पादन गरिने

लम्की, २० जेठ । रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइ टीकापुरले यस वर्ष १५० हेक्टर क्षेत्रफलमा धानको बीउ उत्पादनका लागि अनुदान सहयोग दिने भएको छ ।
कैलालीमा सञ्चालित राष्ट्रिय गौरवको सो आयोजनाले यस वर्ष विभिन्न कृषि सहकारी र बीउ उत्पादक कम्पनीलाई धानको बीउ उत्पादनका लागि ५० प्रतिशत अनुदानसहित सहयोग गर्न थालेको हो । आयोजनामार्फत यस वर्ष बीजवृद्धि कृषि सहकारी संस्था मुनुवालाई ३५ हेक्टर, उज्यालो बहुउद्देश्यीय सहकारी सत्तीलाई ३० हेक्टर, धनसिंहपुर कृषि सहकारी संस्थालाई २० हेक्टर, नमुना बहुउद्देश्यीय सहकारीलाई १५ हेक्टर र किसान बीजवृद्धि सहकारीलाई १५ हेक्टरमा धानखेतीका लागि सहयोग गर्ने भएको हो ।
त्यस्तै, टप एग्रिकल्चर साइन्स एण्ड रिसर्च प्रालिलाई १५ हेक्टर, आधुनिक कृषि बहुमुखी सहकारी संस्थालाई १० हेक्टर, पशुपति लघु उद्यमी सहकारी संस्थालाई १० हेक्टरमा धानको बीउ उत्पादनका लागि सहयोग गर्ने कृषि कार्यक्रम कार्यान्वयन एकाइ टीकापुर प्रमुख भरतप्रसाद कँडेलले जानकारी दिनुभयो ।
आयोजनाको सहयोगमा ती कृषि सहकारी तथा कम्पनीले राधा ४, सावा मन्सुली, बान्ह गङ्गा, हर्दिनाथ, राम धान, सावित्री धान लगाउँदै छन् । यस क्षेत्रलाई बीउ उत्पादन क्षेत्रको रूपमा विकास गर्न तथा कृषि उत्पादकत्व बढाइ आर्थिक समृद्धिमा सहयोग पु¥याउनका लागि धान खेती विस्तार गरिने प्रमुख कँडेलले बताउनुभयो ।
खेती विस्तार गर्नुअघि कृषि सहकारी तथा कम्पनी सञ्चालकलाई तालिमसमेत दिइएको छ । कृषितर्फका बाली विकास अधिकृत सिद्धराज उपाध्यायले पछिल्लो समय यस क्षेत्रका कृषि सहकारीले बीज वृद्धिलाई महत्व दिन थालेको बताउनुभयो । “बीज वृद्धिमा धेरै सहकारीको लगाव देखिएको छ । त्यसैले हामीले उनीहरूको मागअनुसार सहयोग गरेका छौँ ।” अधिकृत उपाध्यायले बीउ गुणस्तरीय नभएमा कृषि उत्पादन बढी लिन कठिन रहेकाले यस क्षेत्रका किसानलाई आवश्यक बीउ यहीँ उत्पादनमा सघाउन बीउ उत्पादनमा लगानी बढाउने भएका हौँ ।”
गत वर्ष कृषितर्फले सय हेक्टर जमीनमा धानको बीज वृद्धिका लागि सहयोग गरेको थियो । “यस वर्ष ५० हेक्टर जमीन बढाएका हौँ । त्यस्तै आयोजनाले १९१ हेक्टरमा गहुँको बीउ उत्पादनका लागि कृषि सहकारीलाई सहयोग गरेको छ”, बाली विकास अधिकृत उपाध्यायले भन्नुभयो, “कृषि एकाइले बीउ उत्पादनका लागि ५० प्रतिशत बीउमा अनुदान, ७५ प्रतिशत उत्पादन सामग्री जस्तैः मलखाद्, बिषादी आदिमा अनुदान दिने गरेको छ ।”
आयोजनाले सहकारी तथा कम्पनीलाई आवश्यक प्राविधिक ज्ञान दिने गरेको छ । आयोजनाको कृषितर्फले किसानलाई व्यावसायिक बनाउने काम पनि गरेको छ । आयोजनाले पूर्वाधारतर्फ बीउ भण्डारण गृह निर्माणमा सघाउनाका साथै यस वर्ष दुई सहकारीलाई बीउ भण्डारण गृह निर्माण गरिदिएको छ ।
आयोजनाले किसानलाई मागका आधारमा मौसमी तथा बेमौसमी तरकारी खेती, केरा खेती, च्याउ खेती, गाजर खेती, घाँस खेतीजस्ता कार्यमा अनुदान र सहयोग दिने गरेको छ । आयोजना सञ्चालनपछि यस क्षेत्रका किसान व्यावसायिक बन्न थालेका छन् । कृषक रामकृष्ण चौधरी भन्नुहुन्छ, “गाउँका धेरै महिलाले आफूले उत्पादन गरेको तरकारी हाटबजारमा लगेर बेच्ने बानीको विकास भएको छ ।” चौधरी यस वर्ष च्याउ खेतीबाट धेरै महिला समूहले एक याममा रु. ५० हजारदेखि रु. १ लाखसम्म बचत गरेको बताउनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *