युद्ध र वार्ताजस्तै नाकाबन्दी पनि सफल हुनेछैन
- बैशाख ५, २०८३
आर्नोल्ड अगस्ट (Arnold August)
संरा अमेरिकाले इतिहासबाट पाठ सिकेको छैन ।
“ओहो, म त सैनिक हस्तक्षेपको विपक्षमा छु ।” । पुँजीवादी देशका ‘शान्तिवादी’ राजनीतिज्ञहरूले भेनेजुयलाबारे आफ्नो नाजायज टिप्पणी गर्नुपूर्व अगाडि जोड्ने वाक्य हो यो । यस्ता भनाइले उनीहरूको भित्री मनसाय सतहमा ल्याइदिन्छ, उदारवादी विवेकको पर्दाले ढाकिएका उनीहरूका महत्वाकाङ्क्षा पूरा गर्ने प्रयासहरू उदाङ्गो पारिदिन्छ तर ती झन् झन् भ्रमात्मक बनाइँदैछन् । आफूलाई ‘प्रगतिशील’ दाबी गर्ने प्राज्ञहरू पत्रकारहरू र राजनीतिक व्यक्तित्वहरू यसमा अगाडि आउँछन् ।
तर, यहाँ मैले उल्लेख गरेको ‘शान्तिवाद’ र ‘शान्तिवादीहरूको भेनेजुयलाको गतिरोधको शान्तिपूर्ण समाधान खोज्न नर्वेले चालिरहेको कदमको कुनै सम्बन्ध छैन । राष्ट्रपति निकोलस माडुरोको सरकार निश्चय नै वार्ता र सम्झौताको पछिल्लो प्रयासमा पूर्णतया तथा मनैदेखि सक्रिय छ । सङ्कटको सुरुवातदेखि नै भेनेजुयाली सरकारले वार्तामार्फत समस्या समाधानको लागि आग्रह गर्दै आएको हो ।
उदाहरणका लागि मे १ का दिन अमेरिकी विदेशमन्त्री माइक पम्पेओ, जो यस ‘शान्तिवादी’ भनाइका निर्माणकर्तामध्ये एक हुन्, राष्ट्रपति ट्रम्प र राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनसँगै बोले –सैन्य कारबाही सम्भव छ, यदि आवश्यक भएमा, संरा अमेरिकाले सबैथोक गर्न सक्छ… हामी हिंसा नहोस् भन्नाका लागि सम्भव सबथोक गरिरहेका छौँ… हामी शान्तिपूर्ण सत्ता परिवर्तनलाई प्राथमिकता दिन्छौं ।”
संरा अमेरिकाले पूरा तयारी गरिसकेको सैनिक कारबाहीको विकल्प व्यवहारमा लागू नगर्नुको एउटैमात्र कारण छ । त्यो कारण अन्य देशमाथि सैनिक आक्रमण गर्दा देशभित्रैबाट र विश्वव्यापीरूपमा विरोध आउने भएरमात्र होइन बरु त्यसले अति महत्वाकाङ्क्षी भएर भेनेजुयलामा नागरिक र सैनिकबीचको एकता विभाजन गर्न खोजेकोमा दयनीयरूपमा असफल भएकोले हो । जुन सैन्य कारबाही थाल्नुअघि हुनैपर्ने पूर्व अवस्था हो ।
जहाँसम्म वासिङ्टनको चासोको कुरा हो, उसले आर्थिक युद्धको उपायलाई सधैं तयार अवस्थामा मात्र राखेको छैन, निर्दयतापूर्वक लागू पनि गरेको छ । भेनेजुयलाका राष्ट्रपति ह्युगो चाभेजको असामयिक निधनपछि २०१३ मा भएको निर्वाचनबाट निकोलस माडुरो राष्ट्रपति निर्वाचित भएपछिदेखिका हरेक हिंसात्मक गतिविधि र आन्दोलनलाई संरा अमेरिकाले पूर्ण समर्थन गरिरहेको छ । त्यसैको परिणामस्वरुप २०१४ मा तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओवामाले भेनेजुयलालाई ‘अमेरिकी राष्ट्रिय सुरक्षाको लागि चुनौती’ भन्दै भेनेजुयलासम्बन्धी विशेष ऐन नै ल्याएका थिए । त्यही ऐनले भेनेजुयलाविरुद्ध थप व्यक्तिगत प्रतिबन्धहरू लगाउन ढोका खोलेको थियो । ट्रम्पले व्यक्तिमाथिको आर्थिक र अन्य प्रतिबन्धलाई थप विस्तार गरी भेनेजुयलाविरुद्ध पूर्णस्तरको आर्थिक युद्ध चलाए । अमेरिकी वामपन्थी आन्दोलनका एक ख्यातिप्राप्त अन्तर्राष्ट्रिय लेखक एवम् विचारक विजय प्रसादले लेखेका छन्, “ओवामाले भाला रोप्यो, ट्रम्पले भेनेजुयलाको मुटुमाथि नै प्रहार ग¥यो ।”
ट्रम्पको नेतृत्वमा भेनेजुयलाविरुद्धको आर्थिक युद्धले विशेषतया त्यसको पेट्रोलियम उद्योगमाथि प्रहार भएको छ ।
अप्रिल २०१९ मा ख्यातिप्राप्त अमेरिकी अर्थशास्त्रीहरू मार्क वेइस्ब्रोट र जेफ्री स्याक्सले गरेको अध्ययनको परिणामअनुसार, यी र यस्ता आर्थिक प्रतिबन्धहरूले जनताको खाद्य उपभोग घटेको छ, रोगहरू बढेका छन् तथा वृद्धवृद्धा र शिशुहरूको मृत्युदर बढेको छ । आर्थिक युद्धका कारण उत्पन्न आर्थिक दुरवस्था, मन्दी र अति मुद्रास्फितिको कारण दसौं लाख भेनेजुयाली र विदेशीहरू देश छोडेर भागेका छन् । संरा अमेरिका र भेनेजुयलाका राजनीतिक विपक्षीहरूले त्यहाँको आर्थिक सङ्कटलाई निकै बढाए, अर्थतन्त्रलाई पुनः स्थापित गर्न झण्डै झण्डै असम्भव तुल्याइदिए र मृत्युदर बढाउनमा थप योगदान गरे ।”
ती अर्थशास्त्रीहरू दाबी गर्छन्, “भेनेजुयाली अर्थतन्त्रमाथिको यी सबै असरहरूले असमानुपातिक रुपमा सबभन्दा गरिब र जोखिमको स्थितिमा रहेका भेनेजुयाली जनतालाई हानी पु¥याएको छ ।… हामीले पायौँ कि प्रतिबन्धहरूले खराब असर पारेको छ र खराबीहरू बढ्दैछ । मानव जीवन र मानवीय स्वास्थ्यमाथि गम्भीर हानी पुगिरहेको छ । प्रतिबन्धहरूकै कारण सन् २०१७–२०१८ भित्र उपयुक्त उपचार नपाएर ४० हजार जना बढीको मृत्यु भएको अनुमान छ र यी प्रतिबन्धहरू जेनेभा र हेग अन्तर्राष्ट्रिय महासन्धिअनुसार नागरिक जनतामाथिको सामूहिक दण्डभित्र पर्छन्, जुन महासन्धिहरूमा संरा अमेरिका पनि हस्ताक्षरकर्ता राष्ट्र हो ।”
भेनेजुयलाविरुद्धको आर्थिक युद्धका क्रममा संरा अमेरिकी ह्याकरहरूले भेनेजुयलाका कयौँ महत्वपूर्ण वेभसाइटहरू ह्याक गर्नुका साथै मार्च २०१९ मा मात्र तीनपटक भेनेजुयलाको राष्ट्रिय प्रशारणलाइनमाथि हमला भएको भेनेजुयाली सरकारको दाबी छ । त्यस्तै जनवरी २३, फेब्रुअरी २३ र अप्रिल ३० मा गरी तीनपटक सत्ता विप्लवको दुष्प्रयास भयो । ती तिनैपटकको सत्ता विप्लवको प्रयासका क्रममा विपक्षीहरूले सडकमा बोलिभारियाली क्रान्तिको रक्षाका निम्ति उठेका चाभेजवादीहरूको सामना गर्नुप¥यो । हामी कल्पना गर्न सक्छौँ हप्तौँ हप्ताको जनपरिचालनको पहिले नै क्षति पुगिसकेको अर्थतन्त्रमा झन् बढी असर पु¥याएको हुनुपर्छ र गरिब जनतालाई ‘सामान्य’ जीवनयापन गर्न पनि अझ बढी कठिन भएको हुनुपर्छ ।
त्यसमाथि संरा अमेरिकी नेतृत्वमा माडुरो र चाभेजवादविरुद्धको सञ्चार युद्ध समसामयिक इतिहासमा कुनै क्रान्तिकारी नेता र सिद्धान्तविरुद्ध गरिएको सबभन्दा निर्दयी आक्रमणमध्ये एक हो । उनीहरूले राष्ट्रपति माडुरो र चाभेजवादीहरूके बदनाम गर्न कुनै कसर बाँकी छोडेका छैनन् ।
मे १६ का दिन एक महिना लामो भौतिक घेराबन्दीपछि ट्रम्प प्रशासनले प्रहरीलाई वासिङ्टन डिसीस्थित भेनेजुयाली राजदूतावासमा बलजफ्ती पस्न आदेश दियो । भेनेजुयाली सरकारको आह्वानमा राजदूतावासको सुरक्षाको निम्ति राजदूतावासभित्र बसिरहेकामध्ये ४ जना अभियानकर्मीहरू पक्राउ गरिए । यी सबै घटना भइरहँदा कथित ‘शान्तिवादीहरू’ चुपचाप नै रहे । जबकि त्यही सहरमा तिनीहरूमध्ये धेरैजसो बस्ने र काम गर्ने गर्छन् ।
त्यसो भए ‘शान्तिवादीहरू’ का सम्भावित सैनिक हस्तक्षेपविरुद्ध दिएको अभिव्यक्तिको अर्थ नै के बाँकी रह्यो ? ‘शान्तिवादीहरू’ एकातिर ‘शान्तिपूर्ण रुपान्तरण’ (सत्ता परिवर्तनको माग गर्छन् तर अर्काेतिर भेनेजुयलाविरुद्धको बहुआयामिक युद्धको बारेमा चुइँक्कसम्म बोल्दैनन् । यी ‘शान्तिवादीहरू’ मात्र वासिङ्टनको धूर्ततापूर्ण ‘शान्तिपूर्ण सत्ता परिवर्तन’ को योजनालाई राम्रो जलप लगाइरहेका छन् अरु केही होइन ।
उनीहरू संरा अमेरिकाको सैनिक हस्तक्षेपसहितको भेनेजुयला नीति, असफल सत्ता विप्लव र आर्थिक युद्धलाई न्यायोचितसिद्ध गर्ने शब्दजालमात्र रचिरहेका छन् । यो नीति भेनेजुयलामा ठूलो सामाजिक विभाजनलाई बढावा दिन र अमेरिकी सेनालाई पाइला नटेकाइकनै भेनेजुयलामा आफ्नो कठपुतली सरकार गठन गर्न चालिएको चाल मात्र हो । के यो पनि नयाँ युद्धकला नै हो ? हो भने यसखाले युद्धकला र युद्ध पनि खास नयाँ होइन । विगतमा कयौँ ल्याटिन अमेरिकी देशहरूमा प्रयोग भएकै नीतिको भेनेजुयला संस्करणमात्र हो ।
के १९६० को दशकमा क्युवाविरुद्ध हमला गर्न र आर्थिक नाकाबन्दी थोप्न यही नीति लागू गरेको होइन र ? त्यतिबेला पनि आर्थिक असन्तुष्टि र कठिनाइ भएपछि जनतामा क्रान्तिको उत्साह सेलाउने र बाध्य भएर पनि ‘प्रजातन्त्र’ तर्फ फर्कनुपर्ने स्थिति आउने अमेरिकी राज्य विभागले भनेको थियो । आर्थिक युद्धका कारण उत्पन्न हुने कठिन अवस्थामा जनताले सरकारविरुद्ध विद्रोह गर्छ भन्ने पूर्वधारणा नै आर्थिक युद्धको आधार थियो । त्यही कुरा सन् १९७० मा चिलीमा प्रजातान्त्रिक तवरले निर्वाचित साल्भाडोर एलेण्डेको सरकारलाई १९७३ मा हत्याकाण्ड गरी अपदस्थ गर्नुपूर्व पनि दोहो¥याइएको थियो । भेनेजुयलामा सत्ता परिवर्तनको नयाँ नयाँ कुरा ‘नयाँ शिशीमा पुरानै रक्सी’ को पुनरावृत्तिमात्र हो । संरा अमेरिकाले इतिहासबाट पाठ सिकेको छैन ।
(आर्नाेल्ड अगस्ट क्यानाडेली पत्रकार, प्राध्यापक र लेखक हुन् । उनका Democracy in Cuba and the 1997-98 Elections, Cuba and its Neighbours, Democracy in motion and Cuba–US Relation: Obama and Beyond पुस्तक प्रकाशित छन् । उनी ल्याटिन अमेरिका, क्युवा, युरोप, उत्तर अमेरिका, मध्यपूर्वलगायतका टेलिभिजन, रेडियो र वेभसाइटहरूसित सहकार्य गर्छन् ।)
( Venezuela’s Bolivarian Revolution and Warmongering ‘Pacifists’ )
अनुवादः प्रकाश
Leave a Reply