अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
–सुरज सिंह
जेठ–असारको महिना छ, किसानहरूलाई धानको बीऊ राख्ने र धान रोप्नका लागि खेत तयार गर्ने चटारो छ । भन्नलाई माना रोपेर मुरी फलाउने भनी सहजरूपमा भनिए पनि काम कति पनि सजिलो छैन । जेठ–असारमा खेत खनिरहेका वा हलो जोतिरहेका किसानसित खेतमा एक घण्टा उभिँदामात्र पनि काम कतिको गा¥हो छ भनी बोध गर्न सकिन्छ । यत्तिनै बेला किसानलाई अर्को समस्या छ, बजारमा खेतीका लागि आवश्यक रासायनिक मल उपलब्ध छैन । भएका थोरै परिमाण मल पनि पसल र सहकारी संस्थाका मानिसहरूले आफू र आफन्तका लागि लुकाइसकेका र लुकाइरहेका छन् । रासायनिक मल पाउनका लागि जिल्ला–जिल्लामा किसानहरूले आन्दोलन गर्न परिरहेको छ । किसानको आवाजको सुनुवाइ भइरहेको छैन । ‘दुईवर्षभित्र देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउँछौं’ भनी घोषणा गरेको सरकार र सरकारका कृषिमन्त्री चक्रपानी खनाल मन्त्रालयमा निदाइरहेका छन् वा विदेशको सयरमा मस्त छन् अत्तोपत्तो छैन । बजेट छुट्याइसकेको रासायनिक मल समयमै स्वदेशमा भित्याई किसानहरूलाई वितरण गर्नमा पनि सरकारलाई केले रोकेको छ ?
देशमा कृषि क्षेत्रको विकास, आधुनिकीकरण, यान्त्रीकरण र उत्पादन वृद्धिसम्बन्धी नीति तथा कार्यक्रम थुप्रै बनेका छन् । तर तीमध्ये अधिकांश कागज वा दस्तावेजमा सीमित छन् । सरकारका कृषिसम्बन्धी अधिकांश कार्यक्रम नीतिविपरीत गएको र बजेट सकाउने उद्देश्यले लागू भएको आरोपबाट मुक्त छैनन् । कतै सुख्खाले जमिन बाँझो छ, नहर निर्माणको योजना छैन, आकासकै भरमा छ खेतीपाती । कतै नहरकै कारण जमिन डुबानमा छ कुनै दिगो समाधान छैन । के यस्तो तालले दुई वर्षभित्र खाद्यान्नमा आत्मनिर्भरता सम्भव हुन्छ र ?
Leave a Reply