भर्खरै :

किसान विराङ्गना जोन अफ आर्क (Joan of Arc ६ मार्च १४१२–४ मे १४३१)

प्रभाकर
धेरैले जोन अफ आर्कलाई जीन दि’ आर्क (Joan of Arc) लेख्छन् । ती वीर किसान केटीको नाम फान्सेली इतिहासमा सुनौलो अक्षरले लेखिएको छ । फ्रान्स र बेलायतबीच धेरै वर्षअघि देखि चलिआएको लडाइँमा आफ्नो देशलाई जिताउन तिनले महत्वपूर्ण भूमिका खेलेकी थिइन् । फ्रान्समाथि कब्जा गरेर बसेका बेलायती सिपाहीँहरू तिनको नामैले तर्सन्थे । ती असाधारण किसान केटीको वीर गाथाले धेरै देशका लेखक कविहरूलाई प्रेरणा दिएको छ, त्यसले देशको हितको लागि धेरैलाई मरिमेट्न तयार गराएको छ । भारतकी प्रधानमन्त्री इन्दिरा गान्धीलाई बेलायती उपनिवेशवादीहरूको विरोधमा लड्न तिनैको जीवनीबाट प्रेरणा प्राप्त भएको थियो । हाम्रो देशको डुब्दो स्थिति र जनतामाथि हुँदै गरेको अन्याय अत्याचारको विरुद्ध लड्न यो छोटो जीवनीले पनि केही मात्रामा भए प्रेरित गर्नेछ भन्ने विश्वास छ ।
जोन अफ आर्कको जन्म सन् १४१२ को मार्च ६ तारिखका दिन म्युज (Meuse) उपत्यकाको डोमरेमी (Domeremy) गाउँमा भएको थियो । तिनी सानैदेखि सादा जीवन मनपराउँथिन् । उनी घरमा आफ्नी आमालाई सघाउँथिन् । तिनी गम्भीर प्रकृतिकी केटी थिइन् । तिनी जन्मन्दाखेरि पनि फ्रान्स र बेलायतबीच लडाइँ भइरहेकै थियो । दुई देश बीचको लडाइँ ७५ वर्षदेखि चलिरहेको थियो । आफ्नो देश फान्स हारेको जोनलाई मन परेन । आफ्नो भूमिबाट तिनी बेलायती सैनिकहरूलाई भगाउन चाहन्थिन् । फ्रान्सेली राजा भने लडाइँमा शिथिल थिए । जनताका छोराछोरीलाई लडाइँमा पठाएर आफू भने मोजमज्जा गरिरहेका थिए । देशको इज्जतसँग राजाको मतलबै थिएन । त्यतिखेरका फ्रान्सेली राजाको नाम चाल्र्स सातौं थियो ।
बेलायत र फ्रान्सबीचको त्यो लडाइँ ७५ वर्षअघि देखि वा सन् १३३७ देखि चल्दै आइरहेको थियो । सामन्तवाद नै त्यो झगडाको मुख्य कारण थियो । दुई देशका चुसाहा, सामन्तहरूबीचको त्यो लडाइँमा जनताका छोराछोरीलाई ‘बलिको बोका’ बनाइदै थियो । त्यतिखेर फ्रान्सको दक्षिण–पश्चिम क्षेत्रमा ‘गिन्नी’ (Guienne) भन्ने ठाउँ थियो । बेलायतका राजा हेनरी द्वितीयको पालादेखि नै गिन्नीको शासन बेलायती राजाले चलाउँदै आएका थिए । त्यसको बदलामा बेलायतले फ्रान्सका राजालाई बर्सेनि सौगात दिन्थ्यो । फ्रान्समा फिलिप छैठौं (Phillip VI) राजा भएपछि उसले बेलायतबाट गिन्नी फिर्ता लिन खोज्ने गिन्नीलाई जोडेर फ्रान्सको क्षेत्रफल बढाउने र ‘ठूला राज्यका ठूला राजा’ बन्ने उनको धोको थियो । तर, गिन्नीलाई सुम्पन बेलायत राजी थिएन । बेलायतमा त्यतिखेर एडवार्ड तृतीय (Edward III) ले राज्य गरेका थिए । गिन्नीलाई छोड्नुको सट्टा उल्टो, एडवार्डले फ्रान्सेली राजगद्दी आफूलाई सुम्पिन माग गरे । उनी आफूलाई फ्रान्सको पनि राजा भन्थे । उनको आमा फ्रान्सका मृतक राजाकी बहिनी भएको हुँदा राजाको मुत्युपछि आफ्नी आमाको हक भएको हुँदा आफै फ्रान्सको पनि राजा हुन भन्ने कुरामा उनी जोड दिन्थे । फलस्वरूप त्यतिखेर फ्रान्समा शासन गर्ने राजा फिलिप छैठौलाई राजागद्दीबाट हट्ने र आफूलाई राजा मान्ने सन्देश पठाइयो । फ्रान्सले जवाफ पठायो, “फ्रान्सको कानुनमा स्त्री जाति राजगद्दीको हकदार हुने व्यवस्था नभएको हुँदा एडवार्डको आमाको ‘हक’ अनुचित हो ।” एडवार्डले यो जवाफ पाएपछि दुवै देशको सम्बन्ध झन् खराब भयो । दुवै देश युद्ध गर्न तयार भए । तर, लडाइँ गर्ने बहानामात्र चाहिएको थियो । यसरी दुई देशबीचको एक मुठी चुसाहाहरूको स्वार्थ रक्षा गर्न दुवै देशका जनतालाई तयार राखियो । ती सामन्तहरूको स्वार्थको लागि एक देशका गरिब सैनिकले अर्को देशका गरीब सैनिक र किसानहरूलाई काट्नुपर्ने भयो । त्यतिखेर यी सबै कुरा व्यापक जनताले बुझेका थिएनन् ।
लडाइँको तयारी पूरा भएपछि दुवै देशले बहाना खोज्न थाले । सन् १३३७ मा थालिएको त्यो लडाइँको लागि आर्थिक कारणलाई बहाना बनाइयो ।
त्यतिखेर बेलायतमा भेँडा पाल्ने गोठालाहरू धेरै थिए । भेँडाबाट प्राप्त हुने ऊनलाई तिनीहरू फ्लान्डर्स (Flanders) लहरमा लगेर बेच्थे र त्यसकै आम्दानीबाट भेँडा गोठालाहरू आफ्नो गुजारा चलाउँथे । फ्लान्डस सहर जुलाहाहरूको बस्ती थियो । बेलायतीहरूबाट किनिएका ऊनबाट ती जुलाहाहरू विभिन्न किसिमका लुगा बुन्थे र बजारमा बेच्थे । तिनीहरूको आम्दानीको मुख्य स्रोत त्यही थियो । फ्रान्सले यसैलाई लडाइँको लागि बहाना बनाउन खोज्यो । फ्लान्डर्स आइराखेका सबै बेलायती ऊन व्यापारीहरूलाई फ्रान्सेली सिपाहींहरूले समाते, अनि फ्लान्डर्सवासीहरूको अधिकार पनि खोसिए । यसबाट रिसाएर फ्लान्डर्सका जनताले फ्रान्सको विरोध गरे र बेलायतसित मिल्न गए । यहींबाटै दुई देशबीच लडाई सुरु भयो । इतिहासमा त्यस लडाइँलाई ‘सय वर्ष लडाइँ’ (The Hundred Year’s War) भनिन्छ । सन् १३३७ मा सुरु भएको त्यो लडाइँ बीच बीचमा १/२ वर्ष रोकिएर ११६ वर्षसम्म चलेको थियो । सन् १४५३ मा सकिएको त्यो युद्ध भइरहँदा बेलायतमा ५ जना र फ्रान्समा ५ जना राजा फेरिए । बेलायतमा राजा एडवार्ड तृतीयदेखि हेनरी पाँचौँ (Henry V) को राज्यकालसम्म र फ्रान्समा फिलिप छैठौंदेखि चाल्स सातौं (Charles VII) को राज्यकालसम्म लडाइँ भएको थियो ।
सैनिक शक्तिको हिसाबले फ्रान्स कमजोर थियो । बेलायतसँग सिपाहीँ र हात–हतियार फ्रान्सको भन्दा बढी थियो । यसकारण फ्रान्सका धेरै ठाउँहरू शत्रुको अधीनमा पुग्यो । फ्रान्स वरिपरिका मुलुकहरूले पनि बेलायतकै साथ दिएका थिए । स्वयं चाल्र्स सातौंकी आमाले पनि बेलायतप्रति आफ्नो समर्थन जनाइन् । यसले गर्दा बेलायत झन् उत्साहित भयो । हुँदाहुँदा रेम्स (Reins) भन्ने ठाउँलाई फ्रान्सले गुमाउनु प¥यो । हजारौँ वर्षअघि देखि फ्रान्सेली राजाहरूको राज्याभिषेक रेम्समा हुँदै आइरहेको थियो । यही कारणले फ्रान्सेली बालक राजा चाल्सेँ सातौँको राज्याभिषेकसम्म हुन सकेन । फ्रान्सेली राजाको त्यत्रो ठूलो अपमान इतिहासमा पहिले कहिल्यै भएको थिएन ।
फ्रान्सको अधिकांश क्षेत्र जितिसकेपछि बेलायती सैनिकहरू अब राजा बसेको ठाउँतिर बढे । जोन अफ आर्कको गाउँ (म्यूज) उपत्यका पनि शत्रुको हातमा परिसकेको थियो । शत्रु सेनाले फ्रान्सको त्यत्रो ठूलो भू–भाग कब्जा गरिसक्दा पनि देशको समस्याप्रति वास्तै नभएका ठिटो राजादेखि जोन खिन्न थिइन् । राजाजस्तो व्यक्तिले देशको लागि चाहिएको बखत चुप लागेर बस्न नहुने भन्ने तिनी भन्थिइन् । शत्रुको प्रतिरोधसम्म नगर्ने ठिटो राजा कति नालायक भन्ने कुरो बुझ्न गा¥हो थिएन । शत्रुसित लड्न जान र फ्रान्सलाई विदेशी आधिपत्यबाट मुक्त गर्न तिनी आफै तयार भइन् । बाबुको विरोधभन्दा देशको स्वार्थ तिनको लागि ठूलो थियो । यसकारण आमाबाबुको विरोधले तिनको सङ्कल्पलाई रोक्न सकेन । तिनको दृढ सङ्कल्पलाई देखेर बूढा धर्म गुरुहरूले तिनलाई चाल्र्स कहाँ गई उस (राजा) लाई युद्ध गर्न तयार गराउन भने । यस आदेश मुताविक घोडामा चढेर तिनी राजदरबारतिर लागिन् । त्यतिखेर जोनले केटाको लुगा लाइरहेकी थिइन् ।
राजाले दरबारमा जोन अफ आर्कको परीक्षा गर्न चाहेयो । योजनाअनुसार एक भारदारलाई नक्कली राजा बनाएर जोनसित भेटाइयो । तर, तिनले नक्कली राजासित भेट गरेर अमूल्य समयलाई खेर फालिनन् र सरासर बैठकमा गएर राजासित भेट गरिन् । राजा र उसका भातरदाहरूलाई एउटी मामूली किसान केटीको भनाइमा विश्वास लागेन र तिनलाई महिनौं सम्म परीक्षा गरियो । त्यस मामली केटीको दृढ सङ्कल्प र आत्म विश्वासलाई देखेर तिनलाई साथ दिने फ्रान्सेली देशभक्तहरूको सङ्ख्या बढ्दै गयो । यसरी तिनले आफ्नो सानो सैनिक टोलीको गठन गर्न सकिन् । सेनामा तिनको भूमिका सेनापतिको जस्तो थिएन । तिनी युद्धरत सैनिकहरूलाई उत्साहित गर्थिन् र भैँडा चराउने एउटी मामुली किसान केटीको अदम्य साहस र उच्च मनोबलले तिनीहरूलाई नयाँ नयाँ विजय हासिल गर्न हौसला प्रदान गथ्र्यो । अशिक्षित एवं मामुली किसान केटीले फ्रान्स र बेलायतजस्ता वैभवशाली युरोपीय मुलुकहरूको इतिहासलाई नौलो मोड दिन सकिन् । यस्तो उदाहरण इतिहासमा दोस्रो छैन ।
स–साना लडाइँहरूमा बेलायती सेनालाई हराउन जोनको सेनालाई ठूलो कठिनाइ भएन । त्यसअघि दुई सय बेलायती सैनिकहरूले हजारौं फ्रान्सेली सैनिकलाई तर्साउँथे । तर, अब बेलायतीहरू जोन अफ आर्कजस्तो मामुली केटीदेखि तर्सिने भए ।
थुप्रै लडाइँहरूलाई जितिसकेपछि जोनको सेना ओर्लियन्स भन्ने सहरतिर लाग्यो । ओर्लियन्स फ्रान्सको महत्वपूर्ण सहर थियो । बेलायती कब्जाबाट मुक्त गराउन हिंडेको त्यो सैनिक दल सहरको किल्ला बाहिर पुग्दा आफै वादविवादमा फँस्यो । सेनापतिहरू र जोन अफ आर्कबीच कसरी आक्रमण गर्ने भन्ने विषयमा कुरो मिलेन । सेनापतिहरू बेलायती सेनामाथि अचानक आक्रमण गर्ने कुरा गर्थे । तर, जोन ओर्लियन्सको बलियो किल्लाभित्र बसेका बेलायती सैनिकहरूलाई फ्रान्सको सानो सैनिक दलले आक्रमण गर्न नहुने कुरोमा तिनी अडिग रहिन् । बरु शत्रुमाथि अचानक आक्रमण गर्दै भाग्दै गर्ने र त्यसरी शत्रुलाई मोर्चाबाट पछाडि धकेल्ने भनाइ तिनको थियो । धेरै शत्रु फौजलाई थोरै सैनिकले अचानक आक्रमण गर्दै गर्ने यस्तो योजनालाई नै आजकल गुरिल्ला युद्ध भन्ने गरिन्छ । जोन अफ आर्क गुरिल्ला युद्धकै पक्षमा थिइन् । अन्तमाः तिनकै योजनाअनुसार काम गर्न सबै राजी भए । योजनानुसार शत्रु सेनामाथि तिनकै नेतृत्वमा अचानक आक्रमण भयो । बेलायती सेनाले आफूमाथि यस किसिमको आक्रमण होला भनी सोचेकै थिएन । आक्रमण हँुदा शत्रु सेना तयार हुनुभन्दा अगाडि नै जोनका सैनिकहरू भागिसक्थे । त्यतिञ्जेल बेलायतीहरूको ठूलो धनजनको नोक्सानी भइसकेको हुन्थ्यो । आखिर निराश भएर शत्रु सेनालाई पछि हट्न करै लाग्यो । यसरी एक हप्ताको लडाइँपछि ओर्लियन्स सहर फेरि फ्रान्सको अधीनमा आयो ।
ओलियन्समा हारेपछि बेलायती सैनिकहरूको साहस हरायो । जार्गु र ब्युजेन्सी सहरहरू पनि फ्रान्सको अधीनमा आए । सर जोन फास्टोल्फ जस्ता सेनापतिले जोनको सेना छेउ आत्मसमर्पण गर्नुप¥यो । ती विराङ्गना केटीलाई फ्रान्सेली राजाले लियोन सहरमा धुमधामसित स्वागत गरे । यिनी नहँुदो हो त फ्रान्सको क्यापेसियन (Capetion) राजवंशको सर्वनास भइसकेको हुन्थ्यो ।
राइम्स सहर मुक्त भएपछि जोनले राजालाई त्यहाँ लगिन् र चाल्र्स सातौँको राज्याभिषेक गरिदिइन् । यसरी फ्रान्सका राजाले आफ्नो गद्दी र राजधानी दुवै फिर्ता पाए । तर, पनि जोन अफ आर्क चुप लागिबसिनन् । फ्रान्सको सबै क्षेत्रबाट शत्रु अझै भागिसकेको थिएन । बाँकी क्षेत्रलाई पनि मुक्त गराउन तिनी सेना लिएर लडाइँ गर्न हिंडिन् । अक्सरे र ट्रायले पनि मुक्त गराउन तिनी सेना लिएर लडाइँ गर्न हिंडिन् । अक्सरे र ट्रायले पनि आत्मसमर्पण गरे । अरु पनि थुप्रै सहरहरूलाई जोनको सेनाले कब्जा गरे । यसरी आक्रमण गर्दै जाँदा तिनी पेरिसको बाहिरसम्म पुगिन् । पेरिस फ्रान्सको राजधानी हो । पेरिसमाथि आक्रमण गर्न आवश्यक फौज पठाउन तिनले राजा चाल्र्ससँग माग गरिन् । तर, आक्रमण सफल होला भन्ने कुरोमा राजा सशङ्कित थिए । शङ्कालु राजा चाल्र्सको कुरोमा लागेका भए फ्रान्स कहिल्यै मुक्त हुनसक्तैनथ्यो । राजा आफै पनि केही गर्नसक्तैनथे र गर्नेहरूलाई पनि चाहिंदो मद्दत दिन तयार थिएन । आवश्यक फौज र हातहतियार पाएमा पेरिसलाई पनि मुक्त गर्नसक्ने आँट जोनको थियो । तर, राजाले चाहिंदो सहयोग नदिएकाले पेरिसको लडाइँमा तिनको सेना हा¥यो । जोन स्वयम् नराम्रोसित घाइते भए । तैपनि तिनको साहस र आँट टुटेन र बेलायतीहरूलाई धपाईछाड्छु भन्ने तिनको विश्वास थियो । यतिकैमा बेलायती फौज र वरिपरिका राज्यहरूको संयुक्त फौजले कम्पिया (Compiegne) सहरमाथि आक्रमण गर्न लागेका छन् भन्ने खबर तिनलाई प्राप्त भयो । त्यस सहरलाई मद्दत गर्ने राजाको सहयोग नभए पनि जोन र तिनको सेना त्यसतर्फ हिंड् ।
पेरिसको हारपछि फ्रान्सेली जनताले राजाको निष्क्रियतालाई झन् आलोचना गरे । जोनको सेनालाई मद्दत नगर्नाले जनताको चर्को विरोधको सामना गर्नु प¥यो यो देखि राजाले जनताको आँखामा छारो हाल्ने चाल चल्यो । जोन र तिनको परिवारलाई खूब इज्जत दिने र जोन जन्मेको गाउँलाई सबै किसिमको करबाट मुक्त गर्ने घोषणा गरियो । सधैं मोजमज्जामा डुबिरहने तर ‘प्रजावत्सलता’ को गफ हाँक्ने राजाको विरोधमा यता जनता सङ्घर्ष गरिरहेका थिए भने उता ती किसान विराङ्गना देश र जनताको लागि लड्दै थिइन् । तर, राजाको नपुँसकता, भारदारहरूको देशविरोधी क्रियाकलापको कारणले त्यो लडाइँमा पनि जोनको हार भयो । तिनी शत्रुको पक्राउमा परिन् तिनलाई बोक्सी र धर्मविरोधी कार्य गरेको आरोप लगाई मुद्दा चलाइयो । मुख्य न्यायाधीश तिनको शत्रु काउचों (Couchon) थियो । लडाइँमा जोनको हातबाट धेरैपटक पराजित भएको हुँदा न्यायाधीश तिनलाई कठोर सजाय दिन चाहन्थे । परमेश्वरको अपहेलना गरेको, केटाको जस्तो भेष गरेको, तिनको दृष्टिराक्षसीको जस्तो भएको जस्ता थुप्रै वाहियात विषयहरूलाई बहाना बनाई तिनमाथि मुद्दा चलाइयो । यो मुद्दा अवैधानिक छ भन्ने एकजना न्यायाधीशलाई अदालतबाट बाहिर निकालियो । सारमा त्यो मुद्दा न्यायकै अपमान थियो र मानवीयताको विरुद्ध घोर अपराध थियो ।
तिनलाई पक्रिएदेखि फाँसीको सजाय सुनाउँदासम्मको एक वर्षको अवधिमा जोनलाई बचाउन फ्रान्सका राजा चाल्र्सले कति पनि प्रयास गरेनन् । आफूलाई राजगद्दी र राजधानी फिर्ता दिलाउने महान् फान्सेली सुपुत्रीको ज्यान जान लाग्दा पनि राजालाई वास्ता थिएन । उसलाई मोजमज्जा गर्ने, नयाँ नयाँ पोशाक फेर्नमा सोँख थियो । जनताका छोराछोरी मरेर सामन्तहरूको के जान्थ्यो र ? भन्न त राजा शोक र भोकले पीडित जनताको उद्धार गर्छु भन्थे । तर, युद्धको कारणले शोक र भोकको समुद्रमा डुबेका फ्रान्सेली जनताको हितको लागि उनले केही गरेनन् ।
बेलायती सामन्त चुुसाहाहरूको अदालतले आखिर त्यस महान् फ्रान्सेली देशभक्तलाई फाँसी दिने फैसला सुनायो । यसरी बेलायती अत्याचारीहरूले न्यायकै घाँटीमा फाँसीको डोरी लट्काउन चाहे । यसभन्दा अघि तिनीहरूले जोनलाई पश्चाताप गराउन प्रयास गरेका थिए । धेरै सम्झाइ–बुझाइ गरिसकेपछि पश्चाताप पत्रमा हस्ताक्षर गर्न तिनी तयार भइन् । अशिक्षित भएको हुँदा पश्चाताप पत्रमा के कस्तो व्यहोरा उल्लेख गरिएको थियो भन्ने विषयमा तिनलाई थाहा नभएको इतिहासकारहरूको मत छ । पत्रमा हस्ताक्षर गरिसकेपछि जोनलाई फाँसीको सट्टा आजीवन काराबासको सजाय सुनाइयो । तर, पनि तिनको मनोबल र देशभक्ति भावनालाई दबाउन नसकेपछि अपमानित बेलायती सामन्तहरूले तिनलाई फाँसी नै दिने निर्णय गरे । तिनले आफूमाथि उचित न्याय नभएको गुनासो गर्दै आफूलाई पोपसमक्ष मुद्दा चलाइनु पर्छ भनी माग गरिन् । तर, बेलायती सामन्तहरू त्यसको लागि तयार थिएनन् । आखिरमा सन् १४३१ को मे ३० तारिखका दिन फाँसी दिने निधो भयो ।
फाँसीको दिन जोन अफ आर्कलाई रुयान (Rouen) सहरको चौबाटोमा ल्याइयो । मर्नुअघि तिनले ‘क्रस’
(परमेश्वरको चिह्नस्वरूप इसाईहरूले घाँटीमा बाँध्ने माला) को माग गरिन् । तर, तिनलाई काठको दुई टुक्रा जोडी बनेको क्रस दिइयो र मर्नुअघि तिनी ‘हे परमेश्वर ¤’ भनी चिच्याइन् । त्यसपछि तिनलाई जिउँदै जलाइयो । यसरी फ्रान्सकी एक विराङ्गनाको जीवन समाप्त भयो । त्यतिखेर जोनको उमेर १९ वर्षमात्र थियो । आगो निभिसकेपछि खोज्दा तिनको मुटु नडढेको पाइयो । महान फ्रान्सेली देशभक्त जोन अफ आर्कको हृदय र अस्तुलाई पछि सिन (Seine) नदीमा बगाइयो ।
दुर्भाग्यवश तिनको मृत्युको २५ वर्षपश्चात्मात्र जोनमाथि लागेको अभियोगलाई खारेज गरियो, काउचों गरेको फैसलालाई बदर गरियो । तर, समय निकै ढिलो भइसकेको थियो । त्यस्तै, झण्डै ५०० वर्षपश्चात् १९१९ मा रोममा पोपले जोनको नामलाई भेटिकनका वरिष्ठ पादरीहरूको तहमा राखे । तिनलाई फ्रान्समा राजतन्त्र खतम भइसकेपछि राष्ट्रिय विभूतिको दर्जा दिइएको छ । वीरताको हिसाबले जोन अफ आर्कको नाउँ संसारमा बेजोड छ । तिनलाई फौँसी दिइएको आज ५४४ वर्ष भइसकेको छ र तिनको नामलाई आज पनि विश्वभरि आदरपूर्वक पुकारिन्छ र भविष्यमा पनि पुकारिंदै जानेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *