– दुर्गा देवकोटा

लम्की, २८ जेठ । दुई दशकअघि भारतलगायतका देशमा चामल निर्यात गर्ने कैलालीका ठूला चामल उद्योग खण्डहर बनेका छन् । अन्नभण्डारको रूपमा चिनिने टीकापुर क्षेत्रमा उत्पादन भएको धानबाट चामल बनाउने दर्जन बढी ठूला चामल उद्योग सशस्त्र द्वन्द्वमा बन्द भएपछि अहिले खण्डहरमा परिणत भएका हुन् ।
टीकापुर र नारायणपुरका चामल उद्योगबाट उत्पादित चामल भारतको तिकुनियाँमा भण्डारण गरिन्थ्यो । तिकुनियाँबाट भैरहवा नाका हुँदै चामल नेपाल भित्रिन्थ्यो र खपत हुन नसकेको चामल व्यवसायीले भारतमा बिक्री गर्थे । चामल उत्पादनका लागि ख्याति कमाएको टीकापुर क्षेत्रमा तत्कालीन अवस्थामा जिल्लाका प्रायः किसानले धान बिक्रीका लागि रोज्थे । जिल्लाभरको धान खरीद गर्न पाएपछि चामल उद्योग निकै राम्रो अवस्थामा चलेका थिए ।
देशभर नाम चलेका यस क्षेत्रका सबै चामल उद्योग यतिबेला भने खण्डहरमा परिणत भएका छन् । सशस्त्र द्वन्द्व, कृषकले धान कम लगाउनु र धान खरीद गर्ने गल्ला विभिन्न ठाउँमा सञ्चालन हुनुलगायतले सबै चामल उद्योग बन्द हुन पुगेको व्यवसायी बताउँछन् । दर्जनभन्दा बढी ठूला चामल उद्योग भए पनि हाल एउटामात्रै उद्योग सञ्चालनमा छ । टीकापुर नगरपालिका–६ स्थित मौरनियाँ चामल उद्योगमात्रै सञ्चालनमा छ ।
झण्डै ३५ वर्षअघि स्थापना गरिएको मौरनियाँ चामल उद्योगका सञ्चालक नारायण गोयलले द्वन्द्व सुरु भएसँगै व्यवसायी विस्थापित भएको बताउनुभयो । देशमा द्वन्द्व सुरु भएसँगै व्यवसायी विस्थापित भए, फेरि उद्योग सञ्चालनको वातावरण बन्न सकेन । सञ्चालक गोयलले भन्नुभयो, “त्यसपछि उद्योगी फर्केनन् ।” उद्योगी गोयलका अनुसार व्यवसायीको अनुपस्थितिमा ठूलो लगानी भएका सबैजसो उद्योग खण्डहर बन्न पुगेका हुन् ।
टीकापुर नगरपालिका–६ नारायणपुरका मख्खन बाबु भनिने वीरबहादुर राईको दुर्गा राइस मिल, गोविन्द श्रेष्ठको ओखरपुर राइस मिल, शान्तिकुमार अग्रवालको शक्ति राइस मिल र टीकापुर अस्नेरीस्थित कर्णाली राइस मिल देशभरमै चिनिने ठूला चामल उद्योग हुन् । प्रतिघण्टा २० क्विन्टलसम्म चामल उत्पादनको क्षमता राख्ने यस्ता उद्योग खण्डहर बनेका हुन् ।
दुर्गा राइस मिल विसं २०४६ मै बन्द भइसकेको थियो । अन्य मिल सशस्त्र द्वन्द्वका समयमा बन्द भए । विसं २०५३ को आसपासमा शक्ति र ओखरपुर राइस मिल बन्द भए । त्यसै अवधिमा कर्णाली राइस मिल पनि बन्द हुन पुग्यो । उद्योग बन्द भएसँगै सबै व्यवसायी विस्थापित भए । उद्योगस्थलमा तत्कालीन माओवादीले कब्जा गरे । त्यहाँ रहेका मेसिन र औजार बिक्री गरियो ।
मिलका सबै सामान कवाडीको भाउमा बेचे, जमीन कब्जा गरेर खेतीपाती गरे । स्थानीय कमानबहादुर हमालले भन्नुभयो, “माओवादीले कब्जा नगरेको भए व्यवसायी फर्किने थिए होलान् ।” चामल उद्योग सञ्चालन हुँदा यहाँको व्यापार व्यवसाय निकै फस्टाएको थियो । टीकापुर नगरपालिका–७ को सत्तीबजार खाद्यान्नको मण्डीका रूपमा चिनिन्थ्यो ।
धान खरीद गर्न खाद्य संस्थानले सरकारी काँटा लगाउँथ्यो । धान बेच्ने र चामल किन्नेको चहलपहल हुन्थ्यो । अन्य सामान किनमेलका लागि धेरैले सत्तीबजार रोज्थे । चामल उद्योगलाई लक्षित गरेर सत्तीमा राष्ट्रिय वाणिज्य बैङ्क सञ्चालनमा आएको थियो । सयौँले रोजगारी पाउनुका साथै कृषकको धान सहज र राम्रो मूल्यमा बिक्री हुने गरेको स्थानीय लालबहादुर चौधरीले बताउनुभयो । सशस्त्र द्वन्द्व बढेसँगै यस क्षेत्रको भविष्य नै तहसनहस भयो । चौधरी भन्नुहुन्छ, “सशस्त्र द्वन्द्वमात्रै नभए यो अवस्था हुँदैन थियो । जसको प्रभाव अझै पनि हामी खेपिरहेका छौँ ।”
कतिपय स्थानीयवासी भने चामल उद्योग बन्द हुनुको कारण सशस्त्र द्वन्द्वमात्रै नभएको बताउँछन् । उनीहरू कर्णाली चिसापानीमा पुल बनेपछि नारायणपुर–सत्ती यातायात सुविधाबाट टाढा हुन पुगेको बताउँछन् । पुल बनेसँगै व्यापारिक केन्द्र पूर्वपश्चिम राजमार्गमा केन्द्रित भएपछि धान खरीद बिक्रीमा कमी आएसँगै चामल उद्योग बन्द हुन पुगेको नारायणपुरका पहल बस्नेतको भनाइ छ ।
धान खरीद गर्न नपाएपछि चामल उद्योगको अर्थ नै भएन । बस्नेतले भन्नुभयो, “धान नभएका कारण पनि चामल उद्योग बन्द भएका हुन् ।” टीकापुरको पहाडी जिल्लासँग सोझै यातायात सम्बन्ध नहुनु पनि यी चामल उद्योगका लागि दुर्भाग्य भएको स्थानीयवासी बताउँछन् । सबैभन्दा बढी खाद्यान्नको माग पहाडी जिल्लामा हुन्छ । ती जिल्लामा अन्यत्रबाट खाद्यान्न ढुवानी हुनथाल्यो । यहाँ उत्पादन भएको चामल पहाडी जिल्लासम्म ढुवानी गर्न महँगो हुन थालेपछि माग हुन छोडेको मौरानियाँ राइस मिलका सञ्चालक गोयल बताउनुहुन्छ ।
हामीसँग पहाड जोड्ने सिधा बाटो भएन । गोयल भन्नुहुन्छ, “कि त अत्तरिया हुँदै जानुप¥यो, नत्र कोहलपुर हँुदै ढुवानी गर्नुपर्छ ।” करोडौँ मूल्यका चामल उद्योग खण्डहर बनेपछि व्यवसायी आर्थिकरूपमा चुर्लुम्म डुबेका छन् । उनीहरूलाई वित्तीय संस्थाले लगानी गर्न छाडेका छन् । व्यवसायीले आफ्नै प्रयासले चामल उद्योग पुनःसञ्चालन गर्नसक्ने अवस्था पनि छैन ।