भर्खरै :

 बङ्गुरपालनबाट आर्थिकरुपमा सक्षम

नारायणी रजौरे
दाङ, २९ जेठ (रासस) : दाङको तुलसीपुर उपमहानगरपालिका–७ ग्वारखोला निवासी ६८ वर्षीय सत्यबहादुर पुन अहिले व्यावसायिक रुपमा बङ्गुरपालनमा गरेर आर्थिकरुपमा सक्षम हुनु भएको छ । आफूलाई एक सफल बङ्गुरपालक उद्यमीको रुपमा चिनाउन सफल हुनुभएको छ ।
विगत एक दशकदेखि सो पेशा अङ्गालेका उहाँले अहिले वार्षिकरुपमा सबै खर्च कटाएर रु १० लाखदेखि १२ लाखसम्म बचत गर्न सफल भएको बताउनुहुन्छ । एक सफल व्यवसायीका रुपमा चिनिनुभएका पुन आजभोलि बङ्गुरका पाठापाठीलाई स्याहार गर्ने, दानापानी खुवाउने काममा व्यस्त हुनुहुन्छ । उहाँलाई उहाँकी श्रीमती र दुई छोराले पनि सहयोग गर्दै आएका छन् ।
पन्ध्र वर्ष पहिले रुकुमको लुगुममा खेतीपाती गरेर मात्र घर परिवार पाल्न र छोराछोरीलाई पढाइलेखाइ गर्न नसक्ने भएपछि आफू कामको खोजीमा तुलसीपुरमा आएको उहाँ बताउनुहुन्छ । ‘‘अहिले आफू एक सफल बङ्गुरपालक हुन पाउँदा निकै खुशी छु’’, उहाँ भन्नुहुन्छ ‘‘शुरुमा कामको खोजीमा दाङ आए । तुलसीपुरको नयाँ बसपार्कको मासु पसलमा बसेर पाँच वर्ष काम गरेँ ।’’
काम गरेर कमाइ गरेको केही रुपैयाँ घरमा पठाए केही बचत गरेपछि त्यहीँबाट चार वटा बङ्गुर खरीद गर्नुभएको थियो । उहाँले भन्नुभयो, ‘‘स्थानीयको जग्गा भाडामा लिएर बङ्गुरपालनको शुरुआत गरेको हँु । अहिले छोराछोरीलाई पठाउन, घरखर्च चलाउन सजिलो भएको छ ।’’ वार्षिकरुपमा रु १०÷१२ लाख बचत हुने गरेको पुनले बताउनुभयो ।
‘‘तुलसीपुरको मासु पसलमा बसेर काम गर्दै जाँदा मासुबाट निकै फाइदा हुने देखेें, यहाँका साथी गरेको बङ्गुरपालन पनि हेरे, त्यसैको प्रेरणाले आफूले सो व्यवसायको शुरु गरेको हुँ’’ पुनले भन्नुभयो । शुरुमा चार वटा बङ्गुरका पाठापाठीबाट शुरु गरेको पुनको फाराममा अहिले ३३ वटा माउ र १८ वटा बङ्गुरका पाठापाठी रहेका छन् । हालै १३ वटा माउले बच्चा जन्माइसकेको छ भने बाँकी २० वटा बच्चा जन्माउने अवस्थामा रहेका छन् ।
ग्वार खोलादेखि पूर्वतर्फको खुला ठाउँमा उहाँले खोर बनाएर व्यवस्थित रुपमा बङ्गुर फार्म सञ्चालन गर्नुभएको छ । पुनले शुरु गर्नुभएको बङ्गुर फार्म अहिले सबैको लागि नमूना बनेको छ । बङ्गुरपालन गर्नको लागि सोच बनाएका जो कोही पनि त्यहाँ हेर्न पुग्छन् । देख्छन् र घर आएपछि बङ्गुर पालन गर्ने गर्दछन् ।
पुनले पहिलो वर्षमा त बङ्गुरपालनबाट त्यति राम्रो आम्दानी लिन नसके पनि दोस्रो वर्षबाट राम्रो आम्दानी लिन सकेको बताउनुभयो । उहाँले अहिले एउटा ठूलो बङगुरलाई रु २० हजारदेखि २५ हजारसम्ममा र सानो बङ्गुरलाई रु चार हजारदेखि पाँच हजारसम्ममा बिक्री गर्ने गर्नुहुन्छ ।
उहाँका एक जना छोराले तुलसीपुरमा बङ्गुरको मासु बिक्री पसल पनि खोल्नुभएको छ । आफूले उत्पादन गरेका बङ्गुर छोराले काटेर बिक्री गर्ने हुँदा बङ्गुर अझै बढी पाल्ने योजना छ पुन बताउनुहुन्छ । अहिले बजारमा बङ्गुरको मासु प्रतिकेजी रु २८० देखि रु ३०० सम्म बिक्री हुने गरेको उहाँका छोरा किशोर पुन बताउनुहुन्छ ।
उन्नत जातको विकासी बङ्गुरको मासु रातो र बोसो कम हुने भएकाले यसको मासु जति खाए पनि केही असर नगर्ने बरु स्वास्थ्यलाई फाइदा पुग्ने भएको हुँदा ड्युरोक जातका बङ्गुरको पाठापाठी मात्र होइन मासुको मागसमेत बढेको उहाँको भनाइ छ ।
मागअनुसार पाठापाठीको पु¥याउन नसेकेकाले अगामी दिनमा ७५ वटा माउ पाल्ने तयारीमा उहाँ हुनुहुन्छ । व्यवसाय विस्तारका लागि अहिलेसम्म सरकारी निकायबाट आफूले कुनै सहयोग नपाएको उहाँको गुनासो छ ।
उहाँको फार्ममा उत्पादन भएका बङ्गुरका पाठापाठी दाङको विभिन्न ठाउँसहित प्यूठान, सल्यानमा पनि लैजाने गरेका छन् । पुनको बङ्गुर फार्ममा बङ्गुरको बच्चा किन्नका लागि आउनुभएकी तुलसीपुर उपमहानगरपालिका–६ शारदा नेपालीले यहाँ उन्नत जातका बङ्गुरका पाठा पाइने हुँदा आफू किन्न आएको बताउनुभयो ।
‘‘घरमा गाई बस्तु केही छैनन् सधैँ खानेकुरा फाल्ने हुन्छ त्यसैले बङ्गुरको पाठी किन्न आएकी हुँ’’, उहाँले भन्नुभयो । उहाँले पाठा किन्दा निकै फाइदा हुने बताउनुभयो ।
मासुभन्दा बच्चा बेच्दा बढी फाइदा हुन्छ दाना कम लाग्ने र थारै खोर भए पनि पुग्ने भएकाले आफूले धेरै पाठापाठी उत्पादन तथा बिक्री बितरण गर्ने गरेको पुनको भनाइ छ । कम लगानीमा छोटो समयमा मन्नग्य आम्दानी गर्न सकिने भएकाले अहिले बाह्मण, क्षेत्री पनि बङ्गुर पाल्नकै लागि ठाउँठाउँबाट पाठापाठी किन्न आउने पुन बताउनुहुन्छ । उहाँको फार्ममा ३५ वटा खोर रहेका छन् ।
बङ्गुर फार्ममा दुई जनालाई रोजगारीसमेत दिनुभएको छ । पढे लेखेका पैसा कमाउनकै लागि जागिर खानैपर्छ भन्ने मान्यतालाई गलत हुने भनाइ राख्ने पुनले साच्चीकै पढेको कुरा व्यवहारमा लागू गर्ने हो भने व्यवसाय गर्नुपर्ने बताउनुहुन्छ । शुरुका दिनमा आफूले बङ्गुर पालनमा लाग्दा परिवार र साथीभाइहरुबाट निकै आलोचना खेप्नुपरेको अनुभवसमेत उहाँले सुनाउनुभयो ।
बङ्गुरलाई लुतो, खोरेते, स्वान, फिवर, जुका र भ्यागुते रोगबाट बचाउन
जुकाको भ्याक्सिन दुई÷दुई महीना र अन्य रोगबाट बचाउन छ/छ महीनामा सुई दिनुपर्ने उहाँ बताउनुहुन्छ । उहाँका अनुसार बङ्गुरको हेरचाह राम्रो भए ४० दिनको पाठापाठी १५ किलोसम्म हुन सक्छन् भने एक वर्षमा दुई पटक बच्चा जन्माउने हुँदा छिट्टै आम्दानी लिन सकिन्छ ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *