भर्खरै :

विवादास्पद बन्दै क्रिकेट रङ्गशाला

राजकुमार श्रेष्ठ
भरतपुर, २९ जेठ । भरतपुर महानगरपालिका वडा नं. १५ स्थित कृषि र वन विश्वविद्यालयको जग्गामा बन्न गइरहेको अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको विषयमा विवाद उत्पन्न भएको छ । धुर्मुस सुन्तली फाउन्डेसन र स्थानीय बासिन्दाबीच बाटोको विषयलाई लिएर विवाद भएको हो ।
भरतपुर महानगरपालिका बिहान बेलुका छाकटार्न धौ धौ पर्ने नागरिकदेखि अर्बौं सम्पत्तिका मालिकको बसोबास रहेको ठाउँ हो । महानगरपालिकाको पहाडी भेगका चेपाङ बालबालिकाहरू विद्यालय जान र घर फर्किन ६ घण्टासम्म पैदल हिँड्नुपर्दछ । जनतालाई आकाशको पानी थापेर पिउनुपर्ने बाध्यता छ । जनताले सर्वसुलभरूपमा स्वास्थ्य सेवा पाउन सकिरहेका छैनन् । महानगरको ध्यान यतातिर जानुपर्ने हो । महानगर एनजीओ, आइएनजीओ र विभिन्न दाताहरूसँग हात थापेर विकास र समृद्धिको सपना बाँड्छ । तिनीहरू स्मार्ट सीटीको फलाको गर्छन् । अर्बौँको आयोजनामा बन्न गइरहेको रङ्गशालाले ती गरिब जनतालाई चरीलाई बेल पाक्यो हर्ष न विस्मात्झैं भएको छ । महानगरपालिकाले आफ्नो आवश्यकता, चाहना र क्षमतालाई बुझ्नुपर्ने हो तर महानगरमा यो देखिरहेको छैन ।
सहमतिअनुसार धुर्मुस सुन्तली फाउन्डेसन रङ्गशाला बनाउन लाग्दै छ । महानगरले जस पाउने हेतुले रङ्गशाला बनाउन दिनु नै सोझा जनतालाई अल्मल्याउन खोज्नु हो । आवश्यकता र सामथ्र्य छ भने महानगर आफैले रङ्गशाला बनाउनु उपयुक्त हुन्छ । राज्य नागरिकको अभिभावक हो । अभिभावकत्वको भूमिका राज्यले निभाउनुपर्छ । राज्यको हरेक काम, कर्तव्यमा सरकारले नागरिकको सहयोग जुटाउन सक्नुपर्दछ । त्यसमा नागरिक तम्तयार रहनुपर्दछ । तर रङ्गशाला निर्माणका सुरुआतमा देखिएको यो विवादले महानगरको निर्णय र भिजनमाथि प्रश्न उब्जिएको छ । महानगरको कमिकमजोरीको कारण सोझा जनताले सास्ती खेप्नुपरेको छ । शासक दलहरूप्रति स्थानीय जनता आक्रोसित छन् । यसकोे जिम्मेवारी महानगरले लिनुपर्दछ ।
आफ्ना नातागोता र कार्यकर्ताभन्दा बाहिर निस्केर काम गर्न नसक्नु नै भरतपुर महानगरपालिकाको मेयर रउपमेयरको प्रमुख समस्या हो । महानगरको मेयर र उपमेयरको आन्तरिक विवाद सतहमा आउनुले यही देखाउँछ । आन्तरिक राजस्व पूर्णरूपमा सङ्कलन गर्न नसक्नु, कार्यालयमा अनावश्यक कर्मचारीको भार र कार्यकर्ताको दबाबमा बजेट तर्जुमा हुनु आदि महानगरमा देखिएका आन्तरिक समस्या हुन् । गरिब, निमुखा जनताको समस्या कसले बुझिदिने ? बाटो, ढल निर्माण, फोहोर व्यवस्थापनमा छिटोछरितोसँग ध्यान नदिनु महानगरको कमजोरी छ । जनताको सेवक भएर मेयर रेणु दाहाल उभिनु आवश्यक छ । महानगरले नै अन्तर्राष्ट्रिय गौतम बुद्ध रङ्गशाला बनाउनु पर्दछ भन्ने नगरवासीको आवाज रहेको छ ।
देशकै एकमात्र कृषि तथा वन विश्वविद्यालयको जग्गामा रङ्गशाला बन्दा विश्वविद्यालयलाई असर पर्नसक्ने विश्वविद्यालयका प्राध्यापक तथा बौद्धिक क्षेत्रबाट गुनासो आइरहेको छ । विश्वविद्यालयलाई जग्गाको कमि हुनजाने र शैक्षिक वातावरणलाई समेत असर पुग्नसक्ने उहाँहरूको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *