भर्खरै :

सरकारको खाने र देखाउने दाँत

सञ्चारमाध्यममा लगातार वैदेशिक रोजगारीमा गएका नेपाली युवाहरूको दयनीय अवस्थाबारे खबर सम्पे्रषण भइरहेको छ । तर, सरकारले भने एकपछि अर्को देशसँग रोजगारी सम्झौता गरिरहेको छ । मङ्गलबार अफ्रिकी देश मौरिसससँग नेपाल सरकारले श्रम सम्झौता ग¥यो । सरकारले यसलाई ठूलै उपलब्धिको रूपमा चर्चा गरिरहेको छ । एकातिर सरकारले देशमा रोजगारी कार्यक्रमको नाममा अर्बौं अर्बको बजेट खर्च गरिरहेको छ भने अर्कोतिर नेपाली युवालाई विदेशमा रोजगारीको लागि पठाउन एकपछि अर्को सम्झौता गरिरहेको छ । रोजगारीको सन्दर्भमा सरकारको खाने दाँत र देखाउने दाँत अलगअलग भएको यसबाट पुष्टि हुन्छ ।
सरकार चलाइरहेको पार्टीले आफ्नो चुनावी घोषणापत्रमा नेपाली युवालाई स्वदेशमै रोजगारी दिने प्रतिबद्धता व्यक्त गरेको थियो । त्यही वचनबद्धताको आधारमा नेकपाले चुनावमा बहुमत हासिल गरेको हो । तर, आज घोषणापत्रमा उल्लेखित विषयको भने सरकारले धज्जी उडाइरहेको छ । श्रमिक पठाउने देशमा विविधीकरण गर्ने नाममा सरकार एकपछि अर्को देशसँग श्रमिक पठाउने सम्झौता गर्न उद्यत छ ।
विडम्बनाको विषय त, शासकले यसमा कति पनि लज्जाबोध गरेको छैन । बरु हिजोभन्दा आज विदेशिने युवाको सङ्ख्या बढी भएको भन्दै खुसी मनाइरहेका छन् । सस्तो लोकप्रियताको भोक सरकारका हरेक मन्त्रिमण्डल सदस्यको कमजोरी हो । श्रममन्त्री गोकर्ण विष्टले पनि सस्तो लोकप्रियताका केही गतिविधि गरी जनताको नजरमा ‘असल’ बन्ने प्रयास गरे पनि नेपाली युवालाई विदेशमा बेच्ने मानवतस्करको मुलीको रुपमा आफ्नो निधारमा लागेको कलङ्कको टीका भने उनले चाहेर पनि मेटाउन सक्दैनन् ।
कोरियामा जान कोरियाली भाषाको परीक्षाप्रति नेपाली युवाहरूको आकर्षण सरकारको ‘विकास र समृद्धि’ को नाराप्रति साङ्केतिक चुनौती हो । नेपाली युवाहरू वास्तवमा नेपाल सरकारको कुरामा विश्वास गर्दैनन् भन्ने कुराको प्रमाण हो–कोरियाली भाषा सिक्ने युवाहरूको लाम । रोजगारी कार्यक्रमको उद्घाटन गर्दै शासकहरू बेल्चा र खुर्पा चलाउँदै गर्दा युवाहरू भने कोरिया जाने सपना साकार बनाउन लामो लाममा धकेलाधकेल गरिरहेका थिए ।
रेमिट्यान्सले देशमा मुद्रास्फीति बढाउने हो, देशको वास्तविक विकास गर्ने होइन भन्ने सत्यको उचित उदाहरण त अब नेपाल स्वयम् बनिसकेको छ । नेपाली युवालाई विदेशमा श्रमिकको रूपमा पठाउन थालेको दसकौं दसक बितिसक्दा पनि देशको वास्तविक विकास किन हुन सकेन ? रेमिट्यान्सको नाममा आउने पैसाको निकै थोरै प्रतिशतमात्र नेपालको थैलीमा बसेको छ । बाँकी फर्केर विदेशतिरै ओइरिने गरेको छ । विदेशमा रातोदिन काम गरेर फर्केका नेपालीले खरिद गर्ने सामान नेपालमा कुनै पनि बन्दैन । ती सामानको खरिदमा नेपाललाई भन्दा विदेशलाई नै फाइदा पुग्छ । अरु रेमिट्यान्सले नेपालको उपभोगी स्वभावमा परिवर्तन गरेको छ । नेपालको परनिर्भरता बढेको छ ।
दैनिक १५ सयदेखि २ हजारसम्म विदेशमा जाने नेपाली युवाहरूको सङ्ख्या बढिरहेको बेला नेपाल भारतमा रेमिट्यान्स पठाउने प्रमुख देशमध्ये नेपाल भएको तथ्याङ्कले नेपाली शासकहरूको मनमा चिमोट्नुपर्ने हो । किन छिमेकी देशका जनता नेपालमा रोजगारीको लागि आउने तर नेपाली युवाहरू विदेशमा जानुपर्ने अवस्था बन्दै छ ? यो प्रश्नमा नेपालका शासक वर्गले चिन्तन गर्न ढिला भइसकेको छ । वैदेशिक रोजगारी नेपालको समृद्धि र विकासको जग हुनसक्दैन । नेपाली युवालाई नेपालभित्र रोजगारी सिर्जनाको परिस्थिति निर्माण गर्न जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *