भर्खरै :

अन्तर्राष्ट्रवादी क्रान्तिकारी चे ग्वेभारा

अन्तराष्ट्रयवादी क्रान्तिकारी चे ग्वेभारालाई आज पनि विश्वले साम्राज्यवादविरोधी योद्धाको रूपमा सम्झिरहेको छ । संरा अमेरिकी साम्राज्यवादको योजनाअनुसार चे ग्वेभाराको हत्या भएको ५२ वर्ष भइसक्यो । तर, अझै पनि चेको हत्याप्रति संसारमा फैलिएको राप कति पनि सेलाएको छैन । बरु जब जब साम्राज्यवादी अत्याचार र हस्तक्षेप बढ्दै जान्छ, संसारका न्यायप्रेमी जनता चेको हत्याको बदलाभावमा घाइते बाघ जत्तिकै सशक्तरूपमा लड्छन्, लड्नेछन् ।
चे अर्जेन्टिनाका रोमाञ्चप्रेमी युवा थिए । यात्रा गर्न मन पराउने एक जना दमका रोगी चिकित्सक थिए–चे । उत्तर अमेरिकाको आकर्षणले अल्बर्टो ग्रानाडासँग मोटरसाइकलमा चे दक्षिण अमेरिका छिचोल्दै उत्तर दिशातिर लम्के । त्यो यात्रामा उनले देखेको दक्षिण अमेरिकाको भित्री वास्तविकताले अर्नेस्टो ग्वेभारा डे ला सेर्नामा चेको गर्भाधान भयो । युनाइटेड फ्रुट कम्पनीलगायतका संरा अमेरिकी साम्राज्यवादी कम्पनीले ल्याटिन अमेरिकाको रगत पसिनामा गरिरहेको खेलबाडले अर्नेस्टोलाई जीवनको बाटो पहिल्याउन मद्दत ग¥यो । उत्तर अमेरिकाको आकर्षण त्यो यात्रापछि विकर्षणको टुङ्गोमा पुग्यो र उनी क्रान्तिकारी बने ।
मेक्सिकोमा उनको भेट क्युवाली क्रान्तिकारी फिडेल र राउल क्यास्ट्रोसँग भयो । साम्राज्यवादी आडमा हुर्केको तानाशाही बास्टिटा सरकारविरुद्ध सशस्त्र विद्रोहको तयारी गरिरहेका क्युवाली क्रान्तिकारीसँगको भेटले चे ग्वेभाराभित्र उम्लिरहेको क्रान्तिकारी भावना आलोकित भयो । उनी एकजना चिकित्सकको रुपमा क्रान्तिको मैदानमा होमिन तयार भए । कुनै पनि विशेषता बोकेको व्यक्तिले आफ्नो पेशालाई सामाजिक जिम्मेवारीसँग जोड्नुपर्ने निष्कर्षका साथ चे आफ्नो चिकित्सकीय सीप र ज्ञानलाई सामाजिक परिवर्तनको लागि उपयोग गर्ने निष्कर्षका साथ सो अभियानमा होमिए ।
क्युवाली क्रान्ति सफल भयो । बाटिस्टा क्युवा छोडेर भागे । क्युवामा क्रान्तिकारी सरकार बन्यो । त्यो क्रान्तिकारी सरकारमा चे मन्त्री बने । राष्ट्रिय बैङ्कको प्रमुख बने । तर, क्युवामा उखेलिएको साम्राज्यवादी उत्पीडन ल्याटिन अमेरिका र अफ्रिकाका विभिन्न माटोमा अझै मौलाइरहेको देखेका चे क्युवामा सीमित हुन चाहेनन् । उनी क्रान्तिको बीज छर्न अफ्रिका र ल्याटिन अमेरिकाका विभिन्न देशमा दौडे । प्रतिकूल परिस्थितिबीच साम्राज्यवादलाई टक्कर दिनसक्ने ‘भियतनामहरू’ निर्माण गर्ने अभियानमा उनी लागे ।
बोलिभियामा उनको षड्यन्त्रपूर्वक हत्या भयो । तर, उनको हत्यापछि पनि साम्राज्यवादले सुख पाएन । संरा अमेरिकालगायत संसारभर चे हत्याको प्रतिरोधमा लाखौँ लाख मानिस सडकमा उत्रे । साम्राज्यवादको असहिष्णु चरित्र उदाङ्ग बन्यो । साम्राज्यवादको बदनाम भयो । चे संसारका क्रान्तिकारीहरूको लागि रोलमोडेल बने । चे ग्वेभाराको त्यही क्रान्तिकारी भावनाको विरासत आज पनि हामी क्युवा, बोलिभिया, भेनेजुयला, निकारागुआ, मेक्सिको, ब्राजिललगायतका ल्याटिन अमेरिकी देशमा महसुस गर्नसक्छौँ । आज पनि एसिया, अफ्रिका, युरोप र उत्तर अमेरिकामा चेको क्रान्तिकारी भावना कुनै न कुनै रूपमा जीवित रहेको देख्न सक्छौँ ।
चिकित्सक भएपछि राजनीति वा क्रान्तिमा लाग्नु हुन्न अथवा क्रान्तिकारीहरू चिकित्सक बन्न सक्दैनन् भन्ने गलत विचार नेपाली समाजमा अझै पनि व्याप्त छ । त्यो खोटो विचारको खण्डन हो–चे ग्वेभाराको जीवन । क्रान्तिकारीहरूले आफ्नो देशमा आमूल परिवर्तनको सपनामात्र देख्दैनन्, बरु संसारभरका उत्पीडित जनताको मुक्तिको लागि काम गर्छन् भन्ने अन्तर्राष्ट्रवादी भावनाका उदाहरण हुन्–चे ग्वेभारा । जीवनका हजार प्रतिकूलताबीच क्रान्तिको लागि लगातार बलिदानी भावनाका साथ लागिरहने योद्धाका उदाहरण हुन्–चे ग्वेभारा ।
क्रान्तिकारी चे ग्वेभाराप्रति जन्म दिनको अवसरमा हार्दिक श्रद्धासुमन !

Leave a Reply

Your email address will not be published. Required fields are marked *