धादिङ, ३१ जेठ(रासस) : नीलकण्ठ नगरपालिका–११ सिम्ले ज्यामरुङमा पास्नीको भोज खाएकामध्ये ३० जना भन्दाबढी बिरामी परेका छन् ।

स्थानीय रेशम आलेका छोराको पास्नीमा भोज खाएपछि ३० जनाभन्दा बढी बिरामी परेका र १९ जनाको अवस्था जटिल भएकाले उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गरिएको अस्पतालका सूचना अधिकारी कृष्णलाल उप्रेतीले बताउनुभयो ।

भोज खाएपछि अचानक बिहीबार रातिदेखि बिरामी पर्न थालेपछि र १९ जनाको अवस्था जटिल हुँदा अस्पताल लगिएको बताइएको छ । बिरामीमा दिसा पातलो हुने, बान्ता हुने, रिगटा लाग्ने, ज्वरो आउने र रक्तचाप कम हुने लक्षण देखिएको छ । बिरामी भएकामध्ये भारमाले र सुकौरा गाउँका मात्र २० रहेका उपचारमा संलग्न सुजन घलेले बताउनुभयो ।