भर्खरै :

अविस्मरणीय मित्रता डा. गोविन्द भट्टसँगका केही पलहरू

वाङ होङ वई
हुन त गोविन्द भट्ट हाल हामीहरूका माझमा हुनुहुन्न, तर उहाँको शरीरको छायाँ प्रायःजसो हामीहरूका आँखा वरिपरि पर्दा बनेर झुल्किरहन्छ, उहाँसँगको मित्रता मेरो हृदयको कुनाकुनामा कहिल्यै बिर्सन नसकिने गरी बसिरहेको छ ।
पहिलो पल
सन् १९८५ को मार्च महिनामा म चिनियाँ सामाजिक विज्ञान अध्ययन संस्थानले पठाएको अध्ययन टोलीसँगै बाईस वर्षसम्म छुट्टिएर बस्नु परेको मित्र राष्ट्र नेपाल आएँ, हाम्रो उद्देश्य भनेको नेपालको भूमिसुधारको अवस्था र जनजातिका समस्याहरूमा केही बुझ्नु र स्थलगत अध्ययन गर्नुथियो । यो भनेको मेरा लागि सन् १९६३ जुन महिनामा नेपाल राष्ट्रिय संस्कृति र कला सम्मेलनमा आतिथ्यता ग्रहण गरेपछिको दोस्रोपटक नेपालमा आएको क्षण थियो । यो बीचमा बाइस वर्षको समय भइसकेको थियो । इतिहासको लामो यात्राबाट हेर्दा बाइस वर्षलाई त्यति लामो समय मान्न सकिँदैन, तर लाग्यो, यसअघिका पुराना मित्रहरूलाई भेट्नै मुश्किल भइसकेको थियो, मलाई पर्खेर बसिरहेका त धेरै नयाँ अनुहार र नयाँ मित्रहरू हुनुहुन्थ्यो ।
मार्च १० तारिखको दिउँसो नेपालका लागि चिनियाँ राजदूतावासका संस्कृति सल्लाहकार लिउ चङयान (ीष्ग श्जभलनथबल) को साथमा म गाडी चढेर काठमाडौँ सहरको विकसित ठाउँहरूलाई पार गरी काठमाडौँ सहरलाई घेरेको बाग्मती नदीलाई दक्षिणतिरबाट पार गरेर काठमाडौँ सहरको दक्षिण पश्चिम दिशामा अवस्थित प्रसिद्ध त्रिभुवन विश्वविद्यालयमा आइपुगेको थिएँ । हामीहरूले उक्त विश्वविद्यालयको एसियाली अध्ययन केन्द्रका प्रमुख के.बी. शाह ज्यूलाई भेट्यौँ । उहाँले हामीहरूलाई न्यानो स्वागत गर्नुभयो । हामीहरूलाई स्वागत गर्ने र औपचारिक अभिवादन गर्ने क्रममा उहाँले उक्त अध्ययन केन्द्रमा कार्यरत अत्यन्तै गहन बौद्धिकता भएका एक जना विद्धान् मित्रलाई मसँग भेट गराइदिनुभयो र उहाँलाई भावी दिनहरूमा मसँग सम्पर्क गर्ने जिम्मेवारी दिनुभयो, साथै अह्राउँदै भन्नुभयो, यदि उहाँ राजी हुनुभयो भने उहाँलाई विश्वविद्यालयमै बसोबास गराउनु र केही अप्ठ्यारो आइपरेमा मलाई भन्नु ।
मसँग सम्पर्क गर्न जिम्मेवारी तोकिएको अत्यन्तै गहन बौद्धिकता भएका विद्धान् अरु कोही नभई डा.गोविन्द भट्ट नै हुनुहुन्थ्यो । उहाँ त्यसबेलादेखि म नेपालमा तीन महिनासम्म अध्ययन गर्दा खेरीको असल शिक्षक र गुणी मित्र बन्नुभयो ।
दोस्रो पल
अध्ययन केन्द्रमा प्रमुखको कार्यालयबाट बिदा भइसकेपछि मैले सबैभन्दा पहिले समाधान गर्नुपर्ने समस्या भनेकै त्रिभुवन विश्वविद्यालयको पाहुना कक्षमा बस्ने कि सहरमा बस्ने भन्ने थियो । म नयाँ आएको मान्छे के गर्ने कसो गर्ने भन्ने थाहा नभएको र परिस्थितिबारे कति पनि जानकारी नभएको कारणले डा. भट्टलाई मार्गदर्शनको लागि गुहारेँ । उहाँले सटिक रूपमा मलाई विश्वविद्यालयभित्र नबस्न सल्लाह दिनुभयो । नबस्ने कारणमा पहिले भनेको त्यो ठाउँ सहरको छेउमा रहेको थियो, यातायातको सुविधा राम्रो थिएन, यो ठाउँमा बस्यो भने जानी नजानी कुनै हदसम्ममा आफूले आफैलाई ‘बन्धक’ बनाएर राखेजस्तै हुन्थ्यो, दोस्रो कारण भनेको यहाँका नाम चलेका धेरैजसो प्राध्यापकहरू सहरतिर नै बस्ने गर्दछन् र मैले भावी दिनहरूमा गर्नुपर्ने अध्ययनसम्बन्धीका क्रियाकलापहरू पनि धेरैजसो सहरतिरै गर्नुपर्ने हुन्छ र यो ठाउँमा ती कामहरूको सुरुवात गर्न मुश्किलै हुन्छ ।
डा. भट्टले अर्कोको ठाउँमा आफैलाई राख्दै सल्लाह दिएको देख्दा तत्कालै विषयबोध गरायो । मैले पनि क्षणभरमै उहाँको सल्लाहलाई शिरोपर गर्दै मैले मलाई राजदूतावासले दूतावासकै पुरानो ठाउँमा खोजिदिएको एउटा कोठामा बस्ने निधो गरेँ । तीन महिनाको अभ्यासले यस प्रकारको बन्दोबस्ती नै मेरो काममा एकदमै फाइदाजनक रहेको प्रमाणित गरिदियो, यो ठाउँको बसाई एकातिर सम्बन्धित निकायहरूसँग सम्पर्क गर्न सजिलो थियो भने अर्कोतिर विविध विधाका अध्येताहरूसँग भेटघाट गर्न पनि सुविधाजनक थियो, साथै आवश्यक परेको खण्डमा विश्वविद्यालयकै बसमा चढेर कीर्तिपुर जान वा एसियाली अध्ययन केन्द्रको पुस्तकालयमा गई पत्रपत्रिका र कागजातहरू पढ्न पनि सकिन्थ्यो ।
तेस्रो पल
काठमाडौँ सहरमा थुप्रै पुस्तकालयहरू थिए । एशियाली अध्ययन केन्द्रको पुस्तकालयबाहेक त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय, राष्ट्रिय पुस्तकालय, वीर पुस्तकालय र मदन पुस्तकालय आदि थिए । तर यतिले मात्रै मेरो आवश्यकतालाई भने पूर्ण रूपमा पूरा गर्न सक्दैनथे । पुस्तकमा लिखित कुराहरू खाँचो थियो । त्यसका लागि मैले अनिवार्य रूपमा हरेक पक्षका अध्येताहरूलाई भेट्नुपर्ने थियो र उहाँहरूबाट सिक्नुपर्ने थियो । यो पक्षमा डा.भट्टले मलाई ठूलो सहयोग गर्नुभयो । उहाँको सिफारिस वा मार्गनिर्देशनमा मैले अघि पछि गरी अनेकौँ नेपाली विद्धानहरू जस्तै डा. पी.सी. लोहनी, डा. गोविन्दराज अग्रवाल, डा.तिमिल्सना, प्रा.नवीन राई, प्रा. डोरबहादुर बिष्टलगायत (माफ गर्नुहोला मैले उहाँहरू सबैको नामलाई यहाँ एकएक गरी समेट्न सकिनँ) लाई भेटेको थिएँ र अत्यन्तै ठूलो शिक्षा हासिल गरेको थिएँ ।
विशेषगरी मेरो मन छोएको कुरा के भने म एकपटक कुराकानीको क्रममा डा. भट्टलाई मैले नेपाली जनता नामक पुस्तक पढेको र त्यसबाट मैले एकदमै शिक्षा प्राप्त गरेको छु भनेको थिएँ र यदि उक्त पुस्तकका लेखकलाई एकपल्ट भेट्न पाए एकदमै राम्रो हुने थियो भनेको थिएँ ।
सधैँजसो भन्ने गरिन्छ, “वक्ताको कुनै मनसाय थिएन, तर श्रोताको भने असल मन रहेछ ।” अकल्पनीय कुरो त के भने एक दिन डा. भट्टको साथमा एकजना विद्धान् अकस्मात म काम गर्ने एसियाली अध्ययन केन्द्रमा आइपुग्नुभयो, उहाँको मध्यम कदको उँचाइ थियो, कपाल खैरो सेतो फुलिसकेको थियो , तर उहाँको बाह्य प्रस्तुति भने एकदमै प्रभावशाली थियो र अनुहार हेर्दा हल्का चिनियाँ नागरिक जस्तो देखिनुहुन्थ्यो । यसरी आउनुभएको उहाँ नै प्राध्यापक डोरबहादुर विष्ट हुुनुहुँदो रहेछ । यसले मलाई सोचेभन्दा बढी खुशी बनायो ।
हुन त प्राध्यापक डोरबहादुर विष्टसँगको यो मेरो पहिलो चिनजानी र भेटघाट थियो, तर पनि हामी बीचको कुराकानी एकदमै सौहार्दपूर्ण रहेको थियो । जनजातिका समस्याहरूको बारेमा कुरा उठ्दा उहाँसँग भनेरै नसकिने जस्तो विषयहरू र घटनाहरू रहेको जस्तो लाग्यो जसले मलाई उहाँसँगको धेरै कुराहरू सिक्न पाएँ र उत्प्रेरणा समेत मिल्यो । यसले मलाई चिनियाँ पाठकहरूले अत्यन्तै मन पराएको ‘नेपाली जनता र संस्कृति’ नामक पुस्तकमा थप अध्ययन र लेखन कार्यका लागि आधार बनाइदियो । यस कार्यका लागि म प्राध्यापक विष्टसँग एकदमै आभारी रहेको छु र डा.भट्टसँग पनि अत्यन्तै कृतज्ञ रहेको छु ।
चौथो पल
काठमाडौँका पुस्तकालय तथा सम्बन्धित निकायहरूमा जाने तथा सामग्रीहरू सड्ढलन गर्ने र अध्येताहरूसँग भेटघाट गर्नेबाहेक मैले मित्र राष्ट्र नेपालको सामान्य ज्ञान अभिवृद्धि गर्नका लागि राजधानी बाहिरका ठाउँहरूमा हेर्नुपर्ने र घुम्नुपर्ने तथा सर्वसाधरण जनताहरूसँग नजिकिनुपर्ने साथै हरेक क्षेत्रका चालचलन र परम्पराहरूलाई बुझ्नुपर्ने आवश्यकता महसुस गरेँ ।
सुरुमा म एक्लैले नेपालका पश्चिमतिरका नजिकै रहेका सहरहरू, जस्तैः पोखरा, बुटवल, भैरहवा र लुम्बिनी लगायतका ठाउँहरू धुमेँ । त्यसपछि काठमाडौँ फर्केर नेपालको पूर्वतिर जाने तयारी गरेँ ।
एकदिन, म डा. भट्टको घरमा पाहुना बनेर गएको बेलामा मौका छोपी उहाँको रायसुझाव बुझ्नका लागि यो कुरा उहाँसमक्ष भनेको थिएँ । डा. भट्टले यो कुरालाई अत्यन्तै समर्थन गर्नुभयो र उहाँलाई पनि मैले अझ राम्रोसँग यो देशलाई बुझ्न र जान्न अझ धेरै ठाउँमा घुमोस् र हिँडोस् भन्ने चाहना रहेछ । उहाँले आफ्नो श्रीमती र प्यारा प्यारा दुईवटी छोरीहरू लुना र शिरीषसँग सानो स्वरमा केही कुरा गर्नुभयो, त्यसपछि मसँग भन्नुभयो, “हामीहरूले तपाईंको पूर्वी नेपाल घुम्ने योजनालाई समर्थन गर्दछौँ तर, त्यहाँका हरेक अवस्थाहरू सन्तोषजनक नभएकोले हामीहरू तपाईंलाई बाहिर कतै नबस्न सल्लाह दिन्छौँ र तपाईं धरानमा रहेका हाम्रो आफन्तको घरमा पाहुना बस्नुपर्छ । … …”
डा.भट्टका यी बोलीहरू यस्तो लाग्थ्यो मानौँ एक प्रकारको न्यानो तरङ्गहरू मेरो मुटुका कुनाकुनामा प्रवेश गरिरहेका छन् ।
नेपालमा मेरो तीनमहिने बसाइको समयमा डा.भट्टले चाहे त्यो शैक्षिक अध्ययनका क्षेत्रमा होस् वा दैनिक जीवन गुजार्ने समयमा होस्, मलाई दिएको सहयोग र सहायतामा एउटा असल गुरु र गुणी साथीको निश्छल मित्रता प्रकट भएको थियो । यो कुरोलाई मैले सधैँ मेरो मन मुटुको गहिरो कुनामा कहिल्यै बिर्सन नसकिने गरी कुँदेर राखिरहेको छु ।
पाँचौँ पल
म स्वदेश फर्केर आएको धेरै नबित्दै डा. भट्ट चिनियाँ केन्द्रीय रेडियोको निमन्त्रणामा रेडियोको अन्तर्राष्ट्रिय विभागमा नेपाली भाषा प्रसारणको सम्पादन कार्य गर्न आउनुभयो । हामी दुवैले बेइजिङमा काम गर्ने भएकोले हामीहरू बीचमा प्रायःजसो भेटघाट हुने क्रम बाक्लो हुँदै गयो र मित्रता पनि स्वभावतः दिनानुदिन तीव्रतर गतिमा गाढा हुँदै गयो ।
डा. भट्ट चिनियाँ रेडियोमा काम गर्ने कर्तव्यनिष्ठ र ध्यानपूर्वक जिम्मेवारी बहन गर्ने व्यक्ति हुनुहुन्थ्यो र बेइजिङमा उहाँ सबैको मुखमा झुण्डिनुभएको थियो । उहाँले नेपाल चीनका जनता बीचको आपसी बुझाई र मित्रतालाई बढाउनुभएको थियो र कहिल्यै नमेटिने योगदान दिनुभएको छ । उहाँको अद्वितीय प्रस्तुति भएको कारणले ठीक उहाँको कार्यकाल पूरा हुनुभन्दा पहिले उहाँलाई निमन्त्रणा दिएको विदेशी विशेषज्ञ विभागले उहाँलाई चिनियाँ राज्य परिषद्मा बोलाई प्रतिष्ठित ‘मित्रता पुरस्कार’ ले पुरस्कृत गरेको थियो । यसबाट उहाँको नाम सधैँभर चिनियाँ जनताहरूको मनमस्तिष्कमा छापिएर रहनेछ ।
डा.भट्ट अत्यन्तै विशाल र गहिरो ज्ञान भएका एकजना विद्धान हुनुहुन्थ्यो, चीनमा कार्यरत रहँदा उहाँले आफूलाई दिइएको नेपाली भाषाको सम्पादन कार्य जिम्मेवारी कर्तव्यनिष्ठ र इमानदार भएर पूरा गरेको मात्र नभई उहाँले अझै चिनियाँ सामाजिक विज्ञान अध्ययन प्रतिष्ठानमा समेत आंशिक अध्ययनकर्ताको रूपमा काम गर्नुभएको थियो, प्रायःजसो चिनियाँ अध्येताहरूसँग दर्शनशास्त्र, अन्तर्राष्ट्रिय मामिला र चीन–नेपाल सम्बन्धका विषयमा विचारहरू आदानप्रदान गर्नुहुन्थ्यो र अध्येताहरूको जगत्मा विशाल प्रतिष्ठा प्राप्त गर्नुभएको थियो ।
डा.गोविन्द भट्ट हुन त हामीलाई छोेडेर गई सक्नुभएको छ, तर उहाँ एकनाशले हामीहरूको मन मस्तिष्कमा बाँचिरहनुभएको छ, चीन–नेपाल दुई देशबीच जनस्तरमा रहेको बुझाई र मित्रतामा उहाँले दिएको योगदान अजर अमर रहिरहने छ ।
सन् २०१८ जनवरी ११ गते
(लेखक वाङ चीनका दक्षिण एसिया विज्ञ र चिनियाँ सामाजिक विज्ञान प्रतिष्ठानका पूर्वप्राध्यापक हुुनुहुन्छ ।)
भाषा अनुवादकः डा. प्रदीप केसी
(बुधबार सार्वजनिक ‘सम्झनामा गोविन्द भट्ट’ पुस्तकबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *