भर्खरै :

ख्वप कलेजमा ‘आर्थिक विकासमा व्यवस्थापनको भूमिका’ विषयक राष्ट्रिय सम्मेलन सुरू

भक्तपुर, ३१ जेठ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले शुक्रबार ख्वप कलेजको आयोजना र विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा आर्थिक विकासमा व्यवस्थापनको भूमिका विषयक दुईदिने राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुभयो ।
कार्यक्रममा अध्यक्ष बिजुक्छेँले जग्गा–जमिनहरू सामन्तवादी समाजको महत्वपूर्ण आम्दानीको स्रोत हुने बताउँदै गुठी जग्गामा मोहियानी हक पाउने बन्दोबस्त हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
जग्गाबाट उठेको कर जनताकै लागि खर्च हुनुपर्नेमा जोड दिँदै अध्यक्ष बिजुक्छेँले गुठी जग्गा स्थानीय तहलाई जिम्मेवारी दिनुपर्ने बताउनुभयो ।
आर्थिक समृद्धिको नाराले मात्र देश विकास नहुने बताउँदै उहाँले साँचो अर्थमा देशलाई समृद्ध बनाउन आर्थिक गतिविधिहरूमा जोड दिनुपर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रमका सभापति एवम् ख्वप कलेज व्यवस्थापन समितिका अध्यक्ष तथा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले आर्थिक व्यवस्था राजनैतिक व्यवस्थाद्वारा निर्देशित हुने चर्चा गर्दै आर्थिक र भौतिक स्रोत–साधनहरु सामाजिकीकरण गर्दै लानु नै समाजवादतिर जाने बाटो हो भन्नुभयो ।
नेपाल सरकारले आर्थिक ऐन संशोधन गरी कालोसूचीमा परेकालाई बोलपत्रमा भाग लिन नपाउने, काम सकिएको ५ वर्षसम्म ठेकेदारले नै मर्मत गर्नुपर्ने, मुद्दा खेपिरहेका ठेकेदारले टेन्डरमा भाग लिन नपाउनेलगायतका व्यवस्थालाई एक महिना नबित्दै खारेज गरी सरकार ठेकेदारहरूसामु झुकेको प्रमुख प्रजापतिले बताउनुभयो ।
भक्तपुर नपाका उपप्रमुख एवम् कलेज सञ्चालक समितिका उपाध्यक्ष रजनी जोशीले भक्तपुर नगरपालिकाले सिङ्गो समाजलाई बुद्धिजीवीकरण गर्न विभिन्न कलेजहरू स्थापना गरेको बताउँदै भक्तपुरको कला–संस्कृति संरक्षण र सम्पदा पुनःनिर्माणमा तीव्ररूपमा अगाडि बढिरहेको जानकारी गराउनुभयो ।
भक्तपुरका प्रजिअ नारायणप्रसाद भट्टले भक्तपुर नपाले गुणस्तरीय र संस्कारयुक्त दक्ष जनशक्ति उत्पादन गरिरहेको चर्चा गर्दै आचरणयुक्त र कर्मशील दक्ष जनशक्तिले मुलुकलाई विकासको बाटोमा लैजाने बताउनुभयो ।
महानगरीय प्रहरी उपरीक्षक सविन प्रधानले विकासको आधारभूत आवश्यकताभित्र शान्ति र सुरक्षा पर्ने बताउँदै सूचना प्रविधि र उचित पुँजीको विकासले देशको आर्थिक विकासमा मद्दत पुग्ने बताउनुभयो । राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने कार्यपत्रहरु देशलाई समृद्धितर्फ लैजाने अनुसन्धानमूलक हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा ख्वप कलेजका प्राचार्य रुपक जोशी, ख्वप माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठ , ख्वप कलेजका उपप्राचार्य राजेशकुमार श्रेष्ठले पनि आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा ३६ वटा कार्यपत्र प्रस्तुत हुनेछ । शनिबारसम्म कार्यक्रम चालू हुने आयोजक समितिले जनाएको छ । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् प्रतिनिधिसभा सदस्य प्रेम सुवालको आतिथ्यमा शनिबार सम्मेलनको समापन समारोह हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *