भर्खरै :

नसर्ने रोगको चिन्ता

सरकारी निकायले हालै सार्वजनिक गरेको एक तथ्याड्ढअनुसार कुल मृत्युमध्ये ६६ प्रतिशत मृत्युको कारण नसर्ने रोग हुने गरेको छ । विशेषतः मुटु रोग, क्यान्सर, श्वासप्रश्वाससम्बन्धी नसर्ने रोगका बिरामी धेरै भएको र त्यही नै मृत्युको कारण बनेको जनस्वास्थ्यसम्बन्धी निकायले जनाएको छ । धेरै नसर्ने रोगको मूल कारण मानिसको दिनचर्या नै हो । अस्वस्थकर खानपिन, व्यायामको कमी र अनियमित जीवनचर्या नै नसर्ने रोगका मूल कारण हुन् । ग्रामीण जीवनमा सचेतनाको कमीले यस्तो रोग लाग्ने गरेको छ भने सहरी क्षेत्रमा जीवनचर्याले मानिसलाई यो रोगले सताउने गरेको छ ।
प्रदूषण र खाद्य पदार्थमा मिसावटले पनि मानिसमा नसर्ने रोग लाग्ने गर्दछ । विशेषतः तरकारी, फलफूललगायतका खाद्य पदार्थमा विषादि प्रयोग गर्दा मानिसमा अनेकन रोग बढ्न थालेको छ । तर, जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने त्यस्ता विषादि नियन्त्रण गर्न सरकारले ध्यान दिइरहेको छैन । न त श्वासप्रश्वाससम्बन्धी रोगको प्रमुख कारक बनेको प्रदूषण नियन्त्रणमा नै सरकारले ध्यान दिन सकेको छ ।
जनताको स्वास्थ्य कुनै पनि राज्यको पहिलो प्राथमिकताको विषय हो । अस्वस्थ जनताले देश विकास गर्नसक्दैनन् । त्यसकारण सरकारले जनताको स्वास्थ्यलाई नाफा नोक्सानसँग जोड्नु अनैतिकता हो । कुनै वस्तुमाथि नाफा आउने भएपछि जनताको स्वास्थ्यमा प्रतिकूल असर गरे पनि राज्य मौन बस्नु वा त्यसलाई प्रोत्साहन गर्नु जनविरोधी सरकारको चरित्र हो ।
राज्यले नसर्ने रोगको समस्या कम गर्न एकै सहरमा धेरै जनसङ्ख्या राख्ने योजना हटाउनुपर्छ । साना साना आकारका बस्तीको विकास गर्न सके रोग नियन्त्रण गर्न सहज हुनेछ । साना सहरलाई प्रदूषणमुक्त गर्न कम मिहिनेत लाग्नेछ । मानिसलाई शारीरिक व्यायाम गर्न खुला क्षेत्रको पनि साना सहरमा बन्दोबस्त गर्न सकिन्छ ।
जीवनचर्या परिवर्तनको लागि राज्यका निकायले प्रचारात्मकदेखि प्रवद्र्धनात्मक गतिविधि गर्नुपर्छ । विद्यालयदेखि विश्वविद्यालयसम्म खेललाई अनिवार्य बनाउन सकिन्छ । युवाहरूलाई अनिवार्यरूपमा शारीरिक व्यायामको तालिम गर्दा नयाँ पुस्तालाई अझ स्वस्थ बनाउन सकिन्छ । कुलतमा फसेका धेरै नयाँ पुस्ताबाट स्वस्थ भविष्यको आशा गर्न सकिन्न । लागूपदार्थ र मादक पदार्थको लतमा फसेका युवालाई सुधारात्मक कदम राज्यको दायित्व हो । युवालाई कुलतमा फसाउने सञ्जालमाथि कडा कानुनी कारबाही गर्ने र मादक र लागूपदार्थको मूल ढोकामा नै नियन्त्रण गर्न जरुरी छ ।
ज्येष्ठ नागरिकलाई पनि नियमित व्यायाम र निरोगी बनाउन विभिन्न माध्यममा राज्य स्वयम्को अग्रसरता आवश्यक छ । ज्येष्ठ नागरिकको उचित व्यवस्थापनको लागि आदर निकेतन र युवाहरूको लागि राज्य स्वयम्ले व्यायाम केन्द्रहरूको स्थापना गर्न जरुरी छ ।
विदेशमा रोजगारीमा गएका धेरै युवाहरू आज नसर्ने दीर्घरोग लिएर फर्किरहेका छन् । यसको समाधानको लागि राज्यको अग्रसरता अपेक्षित छ ।
नसर्ने रोगका विशेषज्ञ चिकित्सकहरूको सेवा विस्तार गर्नुपर्छ । विशेषज्ञ सेवा सहरी क्षेत्रमा मात्र सीमित नराखी ग्रामीण क्षेत्रमा पनि विस्तार गर्न सके नेपाली जनता नसर्ने रोगबाट जोगाउन सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *