भर्खरै :

अमेरिकी साम्राज्यवादले चीनमाथि हमला गर्नसक्छ

भक्तपुर, ३२ जेठ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले चीनविरूद्ध व्यापार युद्ध जित्न नसकेमा संरा अमेरिकी साम्राज्यवादले चीनमाथि हमला गर्न र युद्ध चर्काउन सक्ने बताउनुभएको छ ।
नेपाल इन्जिनियर समाजद्वारा शनिबार आयोजित चीनविरूद्ध अमेरिकी व्यापार युद्धको वास्तविकता र भेनेजुयलामा अमेरिकी साम्राज्यवादी हस्तक्षेप विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले उक्त सम्भावना व्यक्त गर्नुभएको हो ।
“संरा अमेरिकाले दक्षिण चीन सागरमा विवाद चर्काइरहेको छ, चीनका छिमेकीहरूलाई चीनसित भिडाउन उक्साइरहेको छ र स्वतन्त्र आवागमनको नाममा निहुँ खोजिरहेको छ । यो सबै चीनलाई घेर्ने, आर्थिक रूपमा नोक्सान पु¥याउने र अन्ततः हमला गर्ने साम्राज्यवादी नीतिअनुसारै भइरहेका छन् ।” अध्यक्ष बिजुक्छेँले भन्नुभयो ।
उहाँले कम्युसियसको शिक्षालाई अगाडि बढाइरहेको चीनले संरा अमेरिकाले जस्तै आक्रामक नीति नलिने, युद्धलाई सकेसम्म पन्छाइरहने र मिलेर अघि बढ्ने नीति अगाडि बढाउने देखिन्छ भन्नुभयो ।
उहाँले संरा अमेरिका–चीन व्यापार युद्ध छिट्टै र सहजै टुङ्गो लाग्न नसक्ने पनि औँल्याउनुभयो ।
साम्राज्यवादीहरूले सिधै युद्ध गरेर हराउन नसक्ने शत्रु देशलाई त्यस देशभित्र आफ्ना दलालहरू तयार गरी आन्तरिक युद्धबाट हराउने नीति लिने बताउँदै अध्यक्ष बिजुक्छेँले पहिले सोभियत सङ्घलाई त्यसरी नै खतम गरेको र त्यही नीति चीनविरूद्ध पनि प्रयोग गर्न खोज्नसक्ने उहाँले आशङ्का व्यक्त गर्नुभयो ।
विश्वको सबभन्दा ठूलो अर्थतन्त्र र नाफा कमाउने देश संरा अमेरिका पेरिस जलवायु सम्झौता, युनेस्को आदिबाट फिर्ता हुनु र त्यसमा दिनुपर्ने आर्थिक योगदान नदिनु तथा नाटो सदस्य देशहरूसँग रक्षा बजेटको दुई प्रतिशत रकम माग्नुले संरा अमेरिकी अर्थतन्त्र ¥हासको दिशामा गइरहेको निष्कर्षलाई पुष्टि गर्ने बताउँदै उहाँले विनासुरक्षण जारी गरिएको अमेरिकी डलरको मूल्य तीव्र दरमा घट्ने अवस्था आउन सक्ने अनुमान गर्नुभयो ।
पुँजीवादी पश्चिमा देशहरूले विभिन्न विकासशील र अल्प विकसित देशमा पस्न लागू गरेको खुला बजार अर्थतन्त्रको नीति अहिले आफ्नै लागि घाँटीको पासो बनेको र संरा अमेरिकाले अहिले व्यापार संरक्षणवाद लागू गरिरहेको उहाँले स्पष्ट पार्नुभयो ।
नेपालमा असल सरकार आएमा र नेपाल आर्थिक विकासतिर लम्केमा भारतसित व्यापार युद्ध हुनसक्ने र आजको जस्तो आत्मसमर्पणको अवस्था नरहने बताउँदै उहाँले भारतले आफू व्यापार संरक्षणवादमा लागिरहेको तर नेपाललाई नवउदारवादी नीति लागू गर्न उक्साउने र दबाब दिने गरिरहेको अध्यक्ष बिजुक्छेंले प्रस्ट पार्नुभयो ।
नेपालको कृषि उत्पादन भारतमा छिर्न नदिन अनेक निहुँ खोज्नु, बङ्गलादेश र पाकिस्तानसित व्यापार गर्न व्यापार नाका नदिनु तथा हरेक क्षेत्रमा भारतीय एकाधिकार पुँजीको नियन्त्रण खोज्नु भारतको नेपालविरूद्ध एक प्रकारको व्यापार युद्ध नै भएको उहाँले बताउनुभयो ।
उहाँले भेनेजुयलाको जटिल राजनीतिक स्थिति विश्वव्यापी राजनीतिक सङ्घर्षको प्रतिबिम्ब भएको बताउँदै रूसी सैनिक सल्लाहकारहरू भेनेजुयला पुगिसकेकाले र भेनेजुयाली सेनाभित्र विभाजन ल्याउन नसकेकाले तत्काल सैनिक हमला नगर्ने तर नाकाबन्दी लगाएर दुःख दिइरहनेछ भन्नुभयो ।
कार्यक्रममा पत्रकार समाजका सदस्य प्रकाश थुसाले भेनेजुयलाको राजनीतिक र आर्थिक सङ्कट अमेरिकी साम्राज्यवादको षड्यन्त्रकै उपज भएको चर्चा गर्नुभयो ।
भेनेजुयलामाथि संरा सङ्घको बडापत्र र अन्तर्राष्ट्रिय कानुनविपरीत अमानवीय आर्थिक प्रतिबन्ध र नाकाबन्दी लगाएर भेनेजुयाली जनतालाई औषधोपचार र पौष्टिक खाद्यान्नको अभावमा मार्ने अपराध अमेरिकी शासकहरूले गरिरहेका छन् भन्नुभयो ।
सभापतिको आसनबाट नेपाल इन्जिनियर समाजका केन्द्रीय अध्यक्ष रवीन्द्र फोजूले ट्रेड वार
(व्यापार युद्ध) प्रविधि युद्ध उन्मुख भएको औँल्याउँदै चीनको हुवावे फोन र फात्जी इन्टरनेट भर्सनविरूद्ध संरा अमेरिकी कारबाही व्यापार युद्धकै एक रूप भएको बताउनुभयो ।
कार्यक्रममा इन्जिनियर समाजका सदस्यहरू गणेशमान ध्वँजूले व्यापार युद्धको घटनाक्रमबारे र गजेन्द्रभक्त सुवालले व्यापार युद्धको विगत (पृष्ठभूमि) बारे प्रस्तुतीकरण राख्दै संरा अमेरिकाले आफ्नो व्यापारिक र राजनीतिक प्रभुत्व जोगाउन व्यापार युद्ध थालेको प्रस्ट पार्नुभयो ।
इन्जिनियर समाजका सदस्यहरू नरेश खत्री, उमेश सुकुमनि, अमित रजक, सरोज फैजू र वसन्त पञ्चले अन्तरक्रियामा भाग लिँदै अमेरिका–चीन व्यापार युद्धले चीनलाई भन्दा बढी संरा अमेरिकी अर्थतन्त्रलाई खुम्च्याउने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *