भर्खरै :

ट्रम्प र आबेका बीचमा इरानबारे कुराकानी

वासिङ्टन, ३२ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानका प्रधानमन्त्री आबे शिन्जोका बीचमा इरानका बारेमा कुराकानी भएको छ ।
शुक्रबार भएको टेलिफोन कुराकानीका क्रममा दुई पक्षीय व्यापार तथा आपसी हितका बारेमा पनि कुराकानी भएको अधिकारीले जनाएका छन् ।
प्रधानमन्त्री आबे हालै इरान भ्रमण गरेर फर्किएकाले राष्ट्रपति ट्रम्पले आबेसँग कुराकानी गर्नु भएको थियो । उहाँहरूले ओसाकामा हुनलागेको जी–२० को शिखर सम्मेलनका बारेमा पनि कुराकानी गर्नु भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको छ । जी–२० को शिखर सम्मेलन यही जुनको अन्त्यतिर हुने तय भएको छ ।
ह्वाइट हाउसद्वारा जारी वक्तव्यमा भनिएको छ, “राष्ट्रपति ट्रम्पले इरानसँगको संवादका लागि पहल गरिदिनु भएकोमा आबेलाई धन्यवाद दिनुभएको छ ।”
जापानी प्रधानमन्त्री आबेले यही हप्ताको सुरुमा इरानको भ्रमण गर्नुभएको थियो । यसअघि सन् १९७८ मा तत्कालीन जापानी प्रधानमन्त्री ताकेओ फुकुदा इरान जानुभएको थियो ।
यो पछिल्लो दुर्लभ भ्रमण वासिङ्टन र तेहरानबीचको नराम्रो सम्बन्ध सुधार्ने उद्देश्यले भएको थियो । आबेले भ्रमणका क्रममा इरानका सर्वोच्च नेता आयतोल्लाह खामेनीसँग पनि भेटवार्ता गर्नुभएको थियो ।
बिहीबार भएको उहाँहरूको भेटका क्रममा खामेनीले ट्रम्पको सन्देशको कुनै अर्थ नभएको बताउनुभएको इरानको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।
भेटका बारेमा ट्रम्पले बिहीबार नै ट्वीट गर्दै लेख्नुभएको छ, “जापानी प्रधानमन्त्री आबेले इरानमा आयतोल्लाह अली खामेनीलाई भेटेको स्वागतयोग्य कुरा छ, चाँडै नै यसले एउटा सम्झौताको रुप लिने छ भन्ने मैले व्यक्तिगतरूपमा विश्वास लिएको छु ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *