भर्खरै :

संस्कृतिको जामाभित्र आर्थिक स्वार्थ

गुठी विधेयकका केही सकारात्मक बुँदाप्रतिको समर्थनलाई केही मानिसहरू संस्कृतिविरोधीको आरोप लगाउने गल्ती गरिरहेका छन् । उनीहरू किसानलाई गुठी जग्गामा मोहियानी हक दिनुपर्ने विचारलाई ‘भूमाफिया पोस्ने विचार’ भन्दै छन् । गुठी जग्गामा मोहियानी हक दिने प्रावधान नेपालमा नयाँ होइन । २०६४ सालसम्म गुठी जग्गा मोहीको नाममा रैतानी गर्ने कानुनी व्यवस्था थियो । सर्वोच्च अदालतको आदेशमा त्यो व्यवस्था रोकिएको थियो ।
गुठी विधेयकका केही प्रावधानलाई संस्कृतिको कोणबाट मात्र हेर्नु अपूर्ण हुनेछ । कुनै पनि संस्कृतिको आधार भनेको आर्थिक सम्बन्ध नै हो । आर्थिक सम्बन्ध नै काठमाडौँ उपत्यकाको संस्कृतिको आधार हो । जब आर्थिक कोणबाट विश्लेषण गर्छौं भने नेवार समुदाय आफैमा वर्गमा विभाजित समुदाय हो । नेवार एकताको नाममा बाघ र बाख्रालाई एउटै खोरमा राख्नुको परिणाम गलत हुनेछ ।
मोही किसानले पुस्तौं पुस्तादेखि जोती आएको जमिनमाथि मोहीलाई मोहियानी हक नदिनु अन्याय र विभेद हो । संस्कृतिको नाममा मोही किसानका सन्तान दरसन्तानलाई अझै पनि कमैया नै बनाउनु के कुनै संस्कृति हो ? केही मानिसले मोहीलाई जग्गा दिँदा निजीकरण हुने र बेचबिखन गर्ने तर्क गरिरहेका छन् । यदि यही तर्क जग्गाधनीको कोणबाट हेर्दा जग्गाधनीको सम्पत्ति खोसिने भएकोले मोहीलाई मोहियानी अधिकार दिन नपर्ने तर्क के जायज हुनसक्छ ?
एकथरी मानिस सबै गुठीलाई सोलोडोलो एकै घानमा राखेर सर्वसाधारणलाई अलमल बनाउने प्रयास गरिरहेका छन् । गुठीहरू एकै प्रकारका छैनन् । गुठीको प्रकृतिअनुसार वर्गीकरण गरिनुपर्छ । राजा–महाराजाको निगाहामा अथाह जमिन र सम्पत्ति हडपेका गुठी र गुठीको नाममा आफ्नो दुनो सोझ्याइरहेका गुठीयारले फेरि पनि किसानलाई मोहियानी हक नदिन संस्कृति संरक्षणको नाममा गरिरहेको बहानाबाजीलाई गहिराइमा बुझ्न जरूरी छ ।
गुठी जग्गामा मोहियानी हक दिनुपर्ने प्रावधानको पक्षधर विचारविरूद्ध केही मानिस गुठी जग्गा र सम्पत्तिमाथि आफ्नो अधिकार खोसिने पिरले लागेका छन् । उनीहरूले आफ्नो आर्थिक सङ्घर्षलाई संस्कृति रक्षाको जामा लगाइदिएका छन् । अनि छोपिएको आर्थिक स्वार्थबारे अड्कल नगर्ने संस्कृतिप्रेमी मानिस पनि यसैमा लामबद्ध भइरहेका छन् ।
गुठी विधेयकबारे अहिले भइरहेको बहस संस्कृति र सम्पदासँग मात्र जोडिएको होइन, आधारभूतरूपमा यो आर्थिक सङ्घर्ष पनि हो । गुठी जग्गा संरक्षणको नाममा मोहियानी हकबाट मोही किसानलाई बञ्चित गराउने चालबाजी पनि भइरहेको छ । भूमिसँग जोडिएका जटिलतालाई गम्भीरतापूर्वक नबुझेका कतिपय युवाहरू आर्थिक सङ्घर्षले लगाएको संस्कृति संरक्षणको बाहिरी जामाबाट प्रभावित भएर दौडिरहेका छन् ।
संस्कृति निरपेक्ष विषय होइन । संस्कृति आर्थिक र राजनीतिक व्यवस्थासँग जोडिएको विषय हो । पुस्तौं पुस्ता गुठी जग्गामा पुर्खाले रगत पसिना बगाएर हुर्के बढेका युवाहरू पनि आज मोहियानी हक च्युत गर्ने अदृश्य मनसायले अघि सारिएको विचारलाई संस्कृति र एकताको नाममा टेवा दिइरहेका छन् ।
विधेयकका केही बुँदाप्रतिको सकारात्मक टिप्पणीलाई सरकारप्रतिको समर्थन वा सरकारले गरेका सबै गलत कामको अनुमोदनको रूपमा हेर्नु हचुवा बुझाइ हो । सरकारले गरेका हजार अपराधलाई कुनै एउटा विधेयकका केही बुँदाको सकारात्मक भावले छोप्न सकिंदैन ।
गुठी विधेयकप्रतिको समर्थन वा विरोध संस्कृति प्रेम र सम्पदा संरक्षणसम्म मात्र सीमित विषय होइन । यो वर्गीय र आर्थिक विषय पनि हो । यसलाई यसरी विश्लेषण गर्दा हामी न्यायपूर्ण निष्कर्षमा पुग्न सक्नेछौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *