भर्खरै :

पार्टी, नेता र कार्यहरू ?

क्रिश्चिना
अँ, हो, “बाँचुञ्जेल नेता” भन्ने शीर्षकको रामकृष्ण अधिकारीको रिपोर्टिङ्ग २०७६ जेठ ३२ गतेको अन्नपूर्ण पोष्टमा छापियो । रामकृष्ण अधिकारी कुन पृष्ठभूमिका हुन् भन्ने सबै पाठकहरूलाई थाहा नहुनु स्वाभाविक हो ।
संसारका पार्टी र नेताहरूको विवेचना गर्न समय लाग्छ, अहिले हामी दक्षिण एसियाकै देशहरूको बारे एकक्षण छलफल गरौँ । भारतको स्वतन्त्रताको निम्ति तिलकको पुस्ताले जीवनभर आफूलाई समर्पित गरे, त्यसपछि गान्धीजीहरूको पुस्ताले आफूलाई समर्पित गरे, नेहरूको समयमा उनी पार्टी र सरकारको पदमै बसेर बिते, त्यसपछिका नेताहरू र इन्दिरा गान्धी, त्यस परिवारमा नाति–नातिनासमेत राजनीतिमा सक्रिय छन् ।
टाढा नजाऔँ, पाकिस्तानमा भुट्टो परिवार र प्रधानमन्त्री हुनेहरूको परिवारका नाम त्यस्तै छन् । श्रीलङ्गामा वन्दरानायक परिवारबाट पनि तीन पुस्ता पार्टी र सरकारमा रहे । बङ्गलादेशको स्थापनापछि पनि पारिवारिक राजनीति चल्यो, शासक र प्रतिपक्ष दलमा । अमेरिकी साम्राज्यवादले दख्खल नगरेको भए सुकार्नो र सुकार्नो पुत्रीहरूको पनि पुस्ता चल्ने थियो इन्डोनेसियामा ।
नेपालमा पनि कृष्णप्रसाद कोइराला, मातृकाप्रसाद कोइराला, बी.पी. कोइराला गिरिजाप्रसाद कोइराला, सरोज कोइराला, तारिणी कोइरालासमेत अन्तिम कालसम्म राजनीतिमा सक्रिय रहे । आज पनि कोइराला परिवारका सदस्यहरू राजनीतिमा छन् । कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह र नेपाली काङ्ग्रेसका पुराना महामन्त्रीहरू पनि नेपाली काङ्ग्रेससँग असहमति जाहेर गरेर पनि फरक फरक राजनीतिमा जीवनभर लागे । टङ्गप्रसाद आचार्य, रामहरि शर्मा, डिल्लीरमण रेग्मी र अन्य दलका नेताहरू पनि नथाकेसम्म वा शरीरले दिएसम्म कुनै न कुनै रूपले राजनीतिमा सक्रिय रहे । जीउँदै कोही मरेनन् ।
माथि उल्लेख भएका त्यसबेलाका नेताहरूले आ–आफ्नो देशको फरक–फरक परिस्थितिमा देशको स्वतन्त्रताको निम्ति लडे भने नेपालमा राणा शासनको विरोधमा राजनैतिक दलहरू स्थापना गरे । दक्षिण एसियामा सबैजसो नेताहरू आर्थिक र सामाजिकरूपले माथिल्ला वर्गकै छन् । शिक्षित र सचेत नभई राजनैतिक उद्देश्य र पार्टीको स्थापना र सङ्घर्ष अगाडि बढाउन नसक्नेबारे सबै अवगत नै छन् । तर, ती नेताहरू र दल आ–आफ्नो उद्देश्य प्राप्तिपछि महत्व गुमाउँदै जानु पनि त्यत्तिकै सान्दर्भिक देखिन्छ ।
टङ्गप्रसाद आचार्य (प्रजा परिषद्) र डिल्लीरमण रेग्मी (नेपाल राष्ट्रिय काङ्ग्रेस) राणा शासनको अन्त र पुँजीवादी प्रजातन्त्रको स्थापनापछि विस्तारै निष्कृय भए । नेपाली काङ्ग्रेसले आफ्नो पार्टीको उद्देश्य प्रजातान्त्रिक समाजवाद राखेको हुँदा आजसम्म जसोतसो चलेकै छ । तर, व्यवहारमा सदन र सडकमा समाजवादको नारा छोडेर पुरै निम्न पुँजीवादी र विदेशी एकाधिकार पुँजीको कारण आज ने. कां. को सान्दर्भिकता हराउँदै गएको छ ।
तर, विषयवस्तु कस्तो, कति वर्ष कसले नेतृत्व ग¥यो भन्दा पनि क–कसले गरेका काम के कति फरक छ र समाजवाद र साम्यवादको कुरा गर्दै पुँजीवादी सरकारमा जाने दल र त्यसका नेताहरूको राजनैतिक चिन्तन र व्यवहारको बारेमा केलाउनु उपयुक्त हुन्थ्यो ।
सत्य के हो भने एक समयमा एउटा उद्देश्य लिएर आफ्नो श्रमले स्थापना गरेको सामाजिक र राजनैतिक दल त्यसै छोडेर लथालिङ्ग पार्दा आफ्नै समर्थकहरूबाट पलायनवादीको आरोप लाग्ने त्यतिकै सान्दर्भिक हुन्छ । हरेक दलमा बाहिरी तत्वको प्रवेश र सिद्धान्तहीन आन्तरिक प्रतिस्पर्धा र फरक महत्वाकाङ्क्षालाई समेत तह लगाउन कुनै पनि जिम्मेवार नेताले बीचमा दल र सहयोद्धाहरूलाई छोड्न सक्दैनन् । तर, सरकारमै स्थान पाउनमात्रै पार्टी कायम राख्ने नेताहरूको उद्देश्यबारे विवेचना गर्नु फरक विषय हुन्छ र यो नै महत्वपूर्ण देखिन्छ । बरु नेपालमा पटक–पटक प्रधानमन्त्री र मन्त्री हुनेहरूले आ–आफ्ना मानिसलाई महत्वपूर्ण पदमा राख्नेबाहेक के के राम्रा नीति लागू गरेर देश र जनताको सेवा गरे भन्नेबारे खोतल्नु समय सान्दर्भिक हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *