क्युवाले डाक्टर पठायो, वाशिङटनले एउटा डिस्ट्रोयर !
- बैशाख ४, २०८३
–सम्विदा
पछिल्लो समय नेपालमा पश्चिमाहरूको खुला र गुप्त भ्रमण तथा चलखेल तीव्र भएको छ । उनीहरू नेपाललाई एउटा असंलग्न र पञ्चशीलको आधारमा विदेश नीति सञ्चालन गर्ने राष्ट्रबाट पश्चिमा वा साम्राज्यवादी खेमाको राष्ट्र बनाउने कोसिसमा छन् । तिनीहरूको सक्रियताको लक्ष्य चीनलाई घेरामा पार्ने र छिमेकीहरूसित चीनको सम्बन्ध बिटुलो पार्ने रहेको छ । त्यसबाहेक प्रजातान्त्रिक जनगणतन्त्र कोरिया र इरानजस्ता स्वाभिमानी एसियाली देशहरूविरुद्ध एसियाली देशहरूलाई उभ्याउनु पनि हो ।
केही समयअघि दक्षिण एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री एलिस जी वेल्सले काठमाडौँमा उत्री नेपालमा प्रजग कोरियालीहरूको आवागमन बढ्न थालेको भन्दै विमानस्थलको अध्यागमनमा सफ्टवेयर आधुनिकीकरण गर्नका लागि पाइसिस भन्ने अमेरिकी सफ्टवेयर सेट गर्न दबाब दिइन् । पाइसिस सफ्टवेयरको प्रयोग गर्नुको अर्थ अमेरिकी गुप्तचर संस्थाहरूलाई नेपालको अध्यागमनको सूक्ष्म निगरानी गर्नदिनु हो । नेपाल एक स्वतन्त्र, स्वाधीन र विश्वका दर्जनौं राष्ट्रसित कूटनीतिक सम्बन्ध भएको देश हो । त्यसैले यहाँ अमेरिकी र भारतीयहरूमात्र होइन, युरोपेली, ल्याटिन अमेरिकी, अफ्रिकी र विभिन्न एसियाली मित्रराष्ट्रका नागरिकहरू आउनु र जानु स्वाभाविक हो । अमेरिकीहरू आवतजावत गर्ने र अरु आउनै पाइँदैन भन्नु कतिको जायज माग हो ? अमेरिकी पाइसिस सफ्टवेयर होइन नेपाल आफैले निर्माण गरेको सफ्टवेयर राखेर अध्यागमन अपडेट गर्नुपर्छ, अध्यागमनमार्फत विदेशीहरूले गरेको चलखेल रोक्न काउन्टर इन्टेलिजेन्स संरचनाको विकास गर्न जरुरी छ । यसअघिकोे सरकारले अध्यागमनको सफ्टवेयर परिवर्तन गर्नेसम्बन्धी एक प्रकारको एमओयू पनि गरेको बताइएको छ । नेपाललाई अमेरिकी चलखेलको भूमि बन्न नदिन त्यो एमओयू बदर गर्नुपर्छ ।
अहिले अमेरिकी कूटनीतिक अधिकारीहरू पटकपटक र प्रत्येक महिना नेपाल आएर इन्डोप्यासिफिकमा प्रवेश गर्न दबाब दिइरहेको बताइन्छ । उनीहरूको नीति अनुसार जानुपर्यो र उत्तर कोरियालीहरूलाई निकाल्नुपर्यो भनेर नेपालका शासक दलका नेताहरूको घरघर पुगेर दबाब दिइरहेको बताइन्छ । त्यसैको प्रतिबिम्बस्वरुप नेपालका एक दुई टेलिभिजन च्यानल, पत्रपत्रिका र अनलाइन समाचार पोर्टलहरू उत्तर कोरियालीहरू नेपालमा विभिन्न गैरकानुनी क्रियाकलापमा संलग्न रहेको आधारहीन दाबी गर्दै कोरियालीहरूको गतिविधि र आवागमन नै बन्द गर्नुपर्ने माग गरिरहेका छन् । तिनीहरू आफ्ना लागि अमेरिकी र अरु पश्चिमा राष्ट्रले खन्याएको डलरको सोझो गर्दै प्रजग कोरियाविरुद्ध विषवमन गरिरहेका छन् । “नेपालप्रति अन्तर्राष्ट्रिय जगतमा सन्देह बढ्न नदिन सरकारले उत्तर कोरियाली गैरकानुनी गतिविधि रोक्न अग्रसरता देखाउनुपर्छ ।
उत्तर कोरियाली सरकारले नेपालका कम्युनिस्ट नेतालाई लगाएको गुन तिर्न संयुक्त राष्ट्रसङ्घलगायत लोकतान्त्रिक विश्वलाई चिढ्याउनु आत्मघाती मूर्खता हुनेछ ।” भन्दै सरकारलाई अमेरिकी साम्राज्यवादको पिछलग्गू बनाउँदै मित्रराष्ट्र प्रजग कोरिया र कोरियाली जनताविरुद्ध लगाउन खोजिरहेका छन् ।
Leave a Reply