भर्खरै :

महोत्सवका लागि ३१ कविता छनोट

काठमाडौँ, ६ असार (रासस) ः नेपाल प्रज्ञा–प्रतिष्ठानको ६२औँ वार्षिकोत्सवको उपलक्ष्यमा यही असार ९ गते हुन लागेको राष्ट्रिय कविता महोत्सवका लागि ३१ वटा कविता छनोट भएका छन् ।
प्रतिष्ठानमा प्राप्त ३४० कवितामध्ये उनीहरुको सङ्केतका आधारमा प्रतिष्ठानमा पठाएपछि छनोट गरिएको प्रतिष्ठानका काव्य विभागका प्रमुख प्रा डा हेमनाथ पौडेलले बताउनुभयो । “समसामयिक विषय र जल्दोबल्दो समस्याका कवितालाई प्रमुख प्राथमिकता दिइएको छ”, उहाँले भन्नुभयो ।
पहिले कविले पठाएको कविताका आधारमा पुरस्कृत गरिने भए पनि कविले आफैंले लेखेको हो हैन थाहा नहुने भएकाले योवर्ष कवि स्वयम्ले वाचन गर्नुपर्ने उहाँले बताउनुभयो ।
महोत्सवका लागि अश्विन समीपको ‘समावेशी माला’, उषा आचार्यको ‘नयाँ युग डाकिरहेछु’, कल्पना काफ्लेको ‘चाहन्नँ आमा हुन’, छविलाल आचार्यको ‘माटोको उद्घोष’, तीर्थराज जोशीको ‘यही नेपाल खोज्दै छु’, त्रिभुवनचन्द्र वाग्लेको ‘डल्लेकी आमा अब त असार लाग्यो’, तीर्थराज भट्टको ‘प्रश्नै प्रश्न’, रञ्जु दाहालको ‘आमाको अनुहार’ र प्रकाश सिलवालको ‘गृहकार्य’ लगायतका कविता छनोट भएका छन् ।
गोष्ठीमा एक जनालाई प्रथम, एकजना द्वितीय र तीन जनलाई तृतीय गरी पाँच जनालाई उनीहरुले पाएको पहिलेको पूर्णाङ्क र वाचनपछि पाएको पूर्णाङ्कका आधारमा छनोट गरिनेछ । गोष्ठीका दिन मूल्याङ्कन समितिको छनोटका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय शीतल निवासमा पुरस्कृत गर्नुहुने आयोजकले जनाएको छ ।
महोत्सवमा प्रथम हुनेलाई रु तीस हजार, द्वितीय हुनेलाई रु २५ हजार र तृतीय हुनेलाई रु बीस हजार दिइनेछ । उनीहरुलाई दशैंँ अगावै पुरस्कार दिइनेछ ।
त्यस्तै वार्षिकोत्सवका लागि हुने प्रस्तुत यो वर्षको कार्यपत्रको विषय समकालीन नेपाली कवितामा समावेशी स्वर भन्ने शीर्षक दिइएको छ । सो विषयमा डा विन्दु शर्माले कार्यपत्र प्रस्तुत गर्नुहुनेछ भने कार्यपत्रमा प्राध्यापक हेमचन्द्र नेपाल, साहित्यकार सुरेश किरण र साहित्यकार ज्योति जङ्गलले टिप्पणी गर्नुहुनेछ । यही असार ८ गते प्रतिष्ठानको वार्षिकोत्सवमा कार्यपत्र प्रस्तुत गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *