युद्ध र वार्ताजस्तै नाकाबन्दी पनि सफल हुनेछैन
- बैशाख ५, २०८३
विष्णुगोपाल
हाम्रो इच्छा व्यवहारिक शिक्षा ः व्यवहारिक शिक्षा जीवनोपयोगी शिक्षा भन्ने अवधारणाका साथ ०७३ असार ९ गते स्थापित सेवा निवृत्त शिक्षक समाजले ‘शैक्षिक अनुभव’ स्मारिका प्रकाशित गरिरहेको छ । वर्षको २ अड्ढ प्रकाशन भइरहेको यो अड्ढ पाँचौँ हो । यो समाजले सेवा निवृत्त शिक्षकहरूलाई परिचालन गर्न, क्रियाशील बनाउन, आ–आफ्ना अनुभवहरू साटासाट गरेर बौद्धिक क्षितिजलाई फराकिलो पार्न अन्तरक्रिया, स्वास्थ्य शिविर, सम्मान कार्यक्रम, गोष्ठी तथा छलफल कार्यक्रम गरिरहेको छ । सेवा निवृत्त शिक्षकहरूमा रहेका ज्ञान, सीप र अनुभवलाई उपयोग गरी देश र जनताको हितमा क्रियाशील बनाउने उद्देश्यका साथ शैक्षिक अनुभव प्रकाशित गरिएको देखिन्छ ।
यो अड्ढमा निवृत्त शिक्षकहरूको अनुभव, शैक्षिक जीवन, शिक्षाको सङ्क्षिप्त इतिहास, भक्तपुर नगरको परिचय, निवृत्त शिक्षकको परिचय, प्रधानाध्यापकको दायित्व, स्थानीय पाठ्यक्रमको आवश्यकता, विज्ञान र प्रविधिको युगमा पनि बाँकी रहेको अन्धविश्वास र महिला हिंसा तथा कार्ल माक्र्सको जीवनी समेटिएको छ । उत्पादनमुखी शिक्षामा जोड दिँदै विद्यालय शिक्षा प्रणालीमा प्रादेशिक तथा सङ्घीय सरकारको हस्तक्षेप हुन नहुने र द्वैध शिक्षा अन्त गर्नुपर्ने मान्यता समाजले अघि सारेको छ । आफ्नो योग्यता, क्षमता र अनुभव देश र जनताप्रति समर्पित हुनुपर्ने समाज र राष्ट्रप्रतिको दायित्व पूरा भएपछि जीवनको सार पाउने र अनिमात्रै आनन्दको अनुभूति हुने निवृत्त शिक्षकहरूको देशभक्तिपूर्ण भावना मननीय छ । युवाहरूको विदेश पलायनलाई निरुत्साहित गरी युवाहरूलाई दक्ष र सक्षम बनाएर स्वदेशमै रोजगारको व्यवस्था गर्नुपर्ने समाजको सोच या दृष्टिकोण अनुकरणीय छ ।
निवृत्त शिक्षकहरूको शैक्षिक अनुभवबाहेक हरिबहादुर श्रेष्ठद्वारा लिखित जमिनदार र सामन्त वर्गलाई फालेर गरिब जनताको मुक्ति दिलाउने एक सङ्घर्षशील भौतिकवादी नेता माक्र्सको जीवनी यस अड्ढको अर्को पठनीय लेख हो । सर्वहारा वर्गको मुक्तिको निम्ति बाटो देखाउन नै माक्र्स र एङ्गेल्सले सन् १८४८ मा कम्युनिष्ट घोषणापत्र लेखे । सर्वहारा वर्गले मात्र क्रान्ति पूरा गर्नसक्छ भन्ने मान्यता राख्ने माक्र्सले मजदुर वर्गमा क्रान्ति, राज्यसत्ता टिकाउन राजनीतिक र सैनिक ज्ञानको कमीले सङ्घर्ष अधुरो, अपुरो हुन्छ भन्ने सन्देश बाँडेका थिए ।
स्थानीय पाठ्यक्रमको आवश्यकताबारे लेखिएको नीरज लवजूको ‘स्थानीय पाठ्यक्रम निर्माणबारे केही कुरा’ शीर्षकको लेख समय सान्दर्भिक छ । स्थानीय पाठ्यक्रमको पहिलो थालनी गरेर देशभरकै निम्ति बाटो देखाउने काम गरेको सन्दर्भ उल्लेख गरिएको सो लेखमा पाठ्यक्रम निर्माण शिक्षाशास्त्र सङ्कायअन्तर्गतको विषय भएको हुँदा स्थानीय तह र विश्वविद्यालयको समन्वयमा पाठ्यक्रम बनाइए समीचीन हुने लेखकको तर्क छ ।
राज्यका विभिन्न अङ्ग र निकायहरूमा महिला प्रतिनिधित्व बढे पनि महिला हिंसा र अन्धविश्वास नघटेकोमा चिन्ता व्यक्त गर्दै लेखिएको अनुराधा थापामगरको ‘महिला हिंसा र अन्धविश्वासका दोषी सरकारहरू’ लेखमा देशमा घटिरहेकै सजीव चित्रण छ । अन्धविश्वासविरुद्ध जनचेतना जगाएर सुसूचित गर्नुपर्ने स्थानीय तह नै महिला हिंसा घटना दबाउनेतर्फ लागिरहेको कदमप्रति असहमति जनाउने लेखक थापामगर समाजका अगुवा, राजनीतिक परिवर्तनका बाहक मानिने जनप्रतिनिधिदेखि सांसदसम्म छाउगोठमा जीवन बिताएको देख्दा अचम्मित छिन् । अन्धविश्वास हटाउन सबै अघि सर्नुपर्ने र हुने खाने वर्गको महिलाको प्रतिनिधित्वले शोषित महिलाको सेवा नगर्ने उनको अभिमत हो ।
कला र संस्कृतिका अध्येता एवम् लेखक ओम धौभडेलको ‘मौलिक पर्व सिथि नखा’ अर्को समय सान्दर्भिक र पठनीय लेख हो । इनार, कुवा, ढुङ्गेधारा, जलद्रोणी, कुण्ड, पोखरी, तलाउजस्ता पानीका स्रोतहरू सफा गर्नेसित सम्बन्धित पर्व सिथि नखाको मूल्य र मान्यता अद्यापि छ । त्यस मौलिक पर्वलाई जीवन्त राख्नुपर्छ भन्ने लेखको उद्देश्य रहेको छ ।
शिक्षण सेवामा धेरै अनुभव बटुलेका या धेरै ठाउँमा शिक्षण सेवा गरेका निवृत्त शिक्षक उद्धव सुजखूको शैक्षिक अनुभवसम्बन्धी लेखले स्मारिकाको वजन बढाएको छ । अन्याय र झूटको खेतीदेखि नसहने उनी एक इमानदार शिक्षक हुन् । शारीरिक दुःख कष्ट भोग्नुपरे पनि देश दर्शन र व्यवहारिक ज्ञान हासिल भएकोमा उनी सन्तुष्ट छन् ।
स्मारिकामा निवृत्त शिक्षक विष्णुभक्त राजचलले ख्वप नगर (भक्तपुर सहर) को चिनारी लेखेका छन् । यो चिनारी नयाँ पुस्ताको लागि पनि उपयुक्त देखिन्छ । भनपाले तयार गरेको पाठ्यक्रम र पाठ्यपुस्तकको लागि सहयोगी सन्दर्भ हुनेछ ।
निवृत्त शिक्षक अमोकरत्न शाक्यको ‘आमाबुबाप्रति छोराछोरीको दायित्व’ विषयक लेख समाजमा घटिरहेको घटनामा आधारित छ । आमाबुबालाई हेरविचार, पालनपोषण र आवश्यक घरखर्च दिएर सहानुभूति दिनुको सट्टा उल्टै आमाबुबाको सम्पति खोजेर पीडा दिने काम समाजको सजीव चित्र कसरी होइन भन्ने ? अव्यवहारिक र असान्दर्भिक चलनको कारण नागरिकले दुःख पाइरहेको हुँदा त्यसबारे चिन्तनमनन गर्नुपर्ने उनको तर्क विचारणीय छ ।
शिक्षक महेन्द्रगोपाल कर्मचार्यद्वारा लिखित ‘प्रधानाध्यापकको दायित्व चुनौती र रणनीतिहरू’ मा जीवनमा अनेक चुनौती र समस्या आए पनि बुद्धि र विवेक प्रयोग गरी समाधानको उपाय खोज्नुपर्ने विचार व्यक्त गरिएको छ । हाकिम प्रवृत्ति छोडेर इमानदारीपूर्वक पदीय दायित्व निर्वाह गर्नुपर्ने र अध्यापनको कार्यशैली जहिल्यै परम्परागतभन्दा समय अनुकूल प्राप्त स्रोत र साधनको सदुपयोग गर्नुपर्ने सल्लाह न्यायोचित नै हो । प्रधानाध्यापक शैक्षणिक, प्रशासनिक र व्यवस्थापकीय कार्यमा समर्पित भए विद्यालय सञ्चालन गर्न खासै कठिनाइ नहुने उनको अनुभव छ ।
जनताका आधारभूत आवश्यकता शिक्षा, स्वास्थ्य, खानेपानी र सुरक्षाको अनुभूति हुनुपर्ने र देश विकासमा सबै दलका नेता र स्थानीय तहदेखि केन्द्रसम्म जुरमुरिएर लाग्नुपर्ने स्वर पनि स्मारिकामा उठाइएको छ ।
स्मारिकामा लामो शिक्षणको कोसेली नै अभिभावक, शिक्षक र विद्यार्थीका सामिप्यता एवं स्नेह ठान्ने निवृत्त शिक्षक हरिहर पोखरेलको अनुभव ‘आफूलाई नियाल्दा’ लेखमा चर्चा गरिएको छ । शिक्षक एकता र सङ्घर्षकै परिणाम औषधि उपचार, पेन्सन, सञ्चयकोष पाएको स्मरण सो लेखमा छ । प्रभावकारी शिक्षकले विद्यार्थी, अभिभावक र शिक्षकको विश्वास जित्न सहयोग पुग्ने उनको विचार हो ।
ट्राफिक सेवामा २९ वर्ष बिताउने सीताराम हाछेँथुको अनुभव चाखलाग्दो देखिन्छ । अल्लारे जीवन बिताउने हाछेँथु एक सफल ट्राफिक बनेर समाजमा ख्याती कमाएका छन् । २०४५ मा भूकम्पले क्षति पु¥याएको क्षतिग्रस्त भक्तपुरको निरीक्षण गर्न राजा वीरेन्द्र भक्तपुरमा आउँदा भएको भीड नियन्त्रण एउटा सिटीको भरमा भएको देखेर प्रभावित हाछेँथुले लामो समय ट्राफिक सेवामै बिताए । सवारी आवागमन सजिलो भएपछि संसारै जितेको जस्तो अनुभूति गर्ने हाछेँथु पदको दायित्व पूरा गर्न पछि परेनन् । खटाएको ठाउँमा इमानदारीपूर्वक काम गर्ने, पदीय दायित्व पूरा गर्ने उनको विशेषता रहेछ । राजधानीकै सडक र गल्ली आफ्नो कर्मथलोझैं बनाउने हाछेँथुले एउटा सिटी फुकेपछि हुइँकिरहेको गाडी पनि रोक्छ । यसले आफ्नो जिम्मेवारी पनि पूरा भएको र अरुलाई अनुशासनमा पनि राख्न सजिलो भएको उनी बताउँछन् । ट्राफिक सचेतना कक्ष सञ्चालन गरेर थप जीवन बिताउने उनी आजभोलि घरमै बस्दा वनवास बसिरहेको जस्तो अनुभूति गर्छन् ।
शिक्षकले पाउने भनेकै सम्मान र नमस्ते हो भन्ने अनुभूति निवृत्त शिक्षक मीनकेतनराज शर्माको लेख पढेपछि थाहा हुन्छ । महिनाको २०÷२५ रुपैयाँ सेवा लिएर अध्यापन गरेका शर्माको यथार्थ कुरा नयाँ पुस्ताको लागि एकादेशको कथाजस्तो लाग्नसक्छ ।
सेवा निवृत्त शिक्षक सजीव श्रेष्ठको बुँदा टिपोटझैं सङ्क्षिप्तमात्र रह्यो । नाति कवांको ‘लसकुस’ कवितामा देश र जनताको सेवा गर्नेहरूको निम्ति स्वागत गरिएको छ भने रोशनकुमार राजभण्डारीको गजलमा शिक्षाले बाटो खोल्न काम गरेको सन्देश बाँडेको छ ।
प्रत्येक वर्षको दुईपल्ट प्रकाशित भइरहेको ‘शैक्षिक अनुभव’ कृतिमा स्मारिका शब्द राख्नु जरुरी देखिँदैन । यो कुनै अवसर या जन्मोत्सवमा प्रकाशित कृति पनि होइन । शिक्षकहरूको अनुभवमा सेवा अनुभव, तालिम र प्राप्त पदको वर्णन गरेर गर्व गर्दा अनुभव अपुरोजस्तो पो हुने हो कि ? विद्यार्थीको लागि मार्ग निर्देश हुने खालका र नयाँ शिक्षकका लागि ऊर्जा प्रदान गर्ने अनुभवहरू समेटिएको भए अझ जाती हुनेछ । धेरै विद्यालयमा अध्यापन गराएको, अनेक समितिमा बसेर काम गरेको सङ्ख्याको विवरणभन्दा त्यस्तो ठाउँमा काम गर्दाको अनुभूति पढ्न पाए त्यो कुनै पाठकको लागि ऊर्जा बन्छ र थप सिक्ने अवसर मिल्छ । शैक्षिक अनुभवमा शिक्षाविदहरूको लेख र अन्तर्वार्तालाई स्थान दिए अझ उपयुक्त हुन्छ कि !
पुस्तकमा लेखिएका केही शब्दहरू असान्दर्भिक देखिएका छन् । वाक्य लामा–लामा र मिश्र वाक्यमा भए बुझ्न सजिलो हुनेछ । हतारमा पुस्तक प्रकाशन गर्न नहुनेरहेछ । कागज स्तरीय छ । पुस्तकको मूल्य रु. १५० महँगो होइन । निवृत्त शिक्षक समाजले शैक्षिक अनुभव नियमित प्रकाशन गरिरहनु स्वागतयोग्य छ । निरन्तरताको कामना गर्छु । स्मारिका प्रकाशक सेवा निवृत्त शिक्षक समाजलाई साधुवाद !
Leave a Reply