मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी–६
- चैत्र ३०, २०८२
तुल्सी कठायत
प्रिय साथी चन्द्रा,
मीठो सम्झना !
नीलो आकाशमा बादलका सेता थुम्का लागिरहेको थियो । घाम झल्याकझुलुक देखिने हराउने गरिरहेको थियो । मन निराश थियो । त्यतिबेला मोबाइलमा घण्टी बज्यो । हेरेँ, तिम्रो फोन रैछ ! चन्द्रा, तिमीले सञ्चोबिसञ्चो सोध्यौ । यहाँको वातावरणको बारेमा सोध्यौ । धेरै पछि कुराकानी हुँदा तिमी अलि बढी बोल्न चाहेकी थियौ मसँग । तर यहाँ मोबाइलको टावर अलि राम्ररी टिप्दैन । त्यसैले मोबाइलमा आवाज अलि प्रस्ट सुनिएन । मैले औपचारिक जवाफ दिएर बातचित छोट्याएँ जस्तो तिमीलाई लागेको होला । त्यसैले आज तिमीलाई म बस्ने गाउँ ठाउँको वातावरण र यहाँका केही मानिसहरूको महिलालार्ई हेर्ने दृष्टिकोणबारे यो पत्र लेख्दै छु ।
साथी, मेरो कार्यक्षेत्र घरभन्दा अलि टाढा छ । केही दिनदेखि म यहाँ बस्न थालेकी छु । म बस्ने घरमा एकजना काकीमात्र हुनुहुन्छ । मधुर स्वर, हँसिलो मुहार, मिलेका दाँत र चिटिक्क परेको जिउडाल भएकी काकीको व्यवहार एकदम नम्र छ । असल मानिसका गुण छन् काकीमा । मलार्ई आफ्नै छोरीजस्तो व्यवहार गर्नुहुन्छ । काकीको व्यवहारप्रति म एकदम कृतज्ञ छु । यहाँ आउँदा लाग्यो म पहिले नै यहाँ किन बसिन होला ? घरको वातावरण निकै राम्रो छ । काकीले “केही अप्ठेरो नमान्नु नानी, आफ्नै घर ठान्नु, तिमीलाई केही गाह्रो हँुदैन” भनेर मलाई सजिलो बनाइदिनुभयो । यो सुन्दा म असाध्यै खुसी भएकी थिएँ । पहिलो दिन बेलुकी आठ बजेतिर काकीले मलाई खाना खान बोलाउनुभयो ! हामीले सँगै खाना खायौँ ! खाना खाने कोठामै हामी एकछिन गफियौ ! उहाँले आफ्नो सबै कहानी सुनाउनुभयो । उहाँको भनाइको सार यस्तो थियो – “तीन भाइ छोरा सुर्खेतमा पढ्छन् । श्रीमान्ले इन्डियामा मजदुरी नगरे घर खर्च र छोराको पढाइ खर्च पुग्दैन । अधिकांश समय श्रीमान् इन्डियामा बिताउनुहुन्छ । भर्खरै सानो सानो पसल राखेकी छु ।” त्यसपछि हामी आआफ्ना कोठातिर लाग्यौँ । केही समय म आफ्नो पढाइमा लागेँ । पढ्दा पढ्दै कतिखेर निदाएछु पत्तै पाइनँ । त्यो पहिलो दिन राम्रै बित्यो ।
अर्को दिन म स्कूलबाट आएँ । बेलुकीको खाना खाँदै थिएँ, भाइको फोन आयो । “दिदी बसाइ कस्तो छ ?” उसले सोध्यो । “ठीक छ,” छोटो उत्तर दिएँ । अघिल्लो साँझ वातावरण सुनसान थियो । तर दोस्रो साँझ बाहिरको आवाजले निकै डिस्टर्ब गर्यो । एक हुल मानिसहरू जम्मा भएका थिए । तिनीहरू रक्सीमा झुम्दै थिए । रक्सीको मातमा धेरै अपशब्द बोलेको मेरो कानमा पटक–पटक ठोक्कियो । पढ्न खोजेँ । तर पढाइमा आफ्नो ध्यान मोड्न सकिन ! “हत्तेरी यस्तो ठाउँमा किन बसेछु, नबस्नुपर्ने रै’छ” भन्ने लाग्यो । “आज निकै हल्ला गरिराछन् । नानी, डिस्टर्ब भयो होला है,” कोठामा पस्दै काकीले भन्नु भो । मैले सोधेँ, “सधैँ यस्तै हो काकी ?” “कहिलेकाहीँ यस्तै गर्छन् दानवहरू !” काकीले सही शब्द चुन्नुभएको थियो । ती मानिसहरू बोलेको सुन्दा मलाई पनि उनीहरू मानिसबीच बस्ने दानव नै हुन् भन्ने लागेको थियो । चन्द्रा, हाम्रो देशमा युवाहरूलाई अनिवार्य रोजगारको व्यवस्था भइदिएको भए यी युवाले यसरी अनावश्यकरूपमा समय खेर फाल्दैनथे कि ? काम नपाएर तड्पिएका युवाहरू रक्सीको मातमा हुन्छन् । उनीहरू अनावश्यक कुरा गर्दै हिँड्छन् । मेरो विचारमा काम नपाएर भौतारिएको युवा जमातको हविगत यस्तै हुन्छ ।
रात छिप्पिँदै थियो । म आफ्नो रूममा पढ्दै थिएँ । बाहिर होहल्ला उस्तै थियो । एकछिन काकी मेरो रुममा आउनुभएको थियो । उहाँले मोबाइलमा भिडियो हेर्नुभयो । म भने किताब हेरिरहेकी थिएँ । साढे दस बजेतिर काकी आफ्नो कोठामा जानुभयो ।
अलिपछि बाहिर जानलाई मैले ढोका के खोलेकी थिएँ, नजिकैको पसलमा बसेका २०÷२१ वर्षका ४÷६ जना तन्नेरीको बीचबाट एउटाले बोल्यो, “केटा हो, बाहिर आइ आइ कोलडी (मैया), जाउ मोज गर !” यी शब्द सुन्नेबित्तिकै म झस्किएँ र रिसले आगो भएँ । उनीहरूले मलाई देखेर नै यस्तो भनेका थिए । तर पनि केही नबोली हतारहतार शौचालय गएँ । फर्किँदै गर्दा फेरि त्यहीँ शब्द सुनियो । मलाई गएर उनीहरूलाई झाप्पड हान्न मन थियो तर डर पनि लाग्यो । उनीहरू ४÷६ जना थिए । मूर्खको अगाडि दैव डराउँछ भन्छन् । केही नबोली भित्र गएँ र ढोका लगाएँ । काकी आफ्नो कोठामा सुतिसक्नुभएको थियो । यहाँ बसेको दुई दिन भएको छैन यस्तो नराम्रो कुरा सुन्नुपर्यो भन्ने मनमा लागिरह्यो ! केटीको अनुहार पनि देख्न नहुने ? केटी देख्यो कि अपशब्द बोल्नुपर्ने ? जिस्काइहाल्नुपर्ने ? कस्तो अचम्म ? यस्ता असभ्य मानिस बसेको ठाउँमा कसरी बस्ने म ? दिमागमा यस्तै प्रश्न खेलिरह्यो । पढ्ने लेख्ने उमेरमा यिनीहरूको यो कस्तो नियत ! यिनीहरूको भविष्य कस्तो होला ? पछि यिनीहरू समाजका जिम्मेवार नागरिक होलान् ? यस्तो असभ्य जमात कसरी सभ्य बन्ला ? सम्झिँदा पनि अनौठो लाग्छ । केटी भनेरै यिनीहरूले मलाई यस्तो भन्न भ्याए । तर मलाई यस्तो भन्नेहरू अरुसँग पनि राम्रो व्यवहार गर्दैनन् होला ।
चन्द्रा, यी यावत् कुराको दोषी हामी बाँचिरहेको पुँजीवादी व्यवस्था हो । छाडापन, अनुशासनहीनता र असभ्यता पुँजीवादका विशेषता हुन् । धनी र गरिबबीच खाडल गहिरिँदै जाँदा यी विशेषता बढ्दै जान्छन् । युवाहरू काममा व्यस्त हुन पाउँदैनन्, रोजगारविहीन हुन्छन् ? पढ्ने लेख्ने उमेरका युवालाई व्यवस्थाले नै रक्सीको मातमा बेहोस बनाउँछ । सुन्दर सपना र यथार्थलार्ई तिलाञ्जली दिएर युवाहरू फोस्रो कुरामा रमाउन पुग्छन् । यस्तै गिरेको अवस्थामा पुगेको जँड्याहाले छोरीलाई छोरी भन्दैन, बहिनीलाई बहिनी भन्दैन र आमालाई आमा भन्दैन ! अनि नारीको अस्मिता कहाँनेर कहिले लुटिन्छ थाहा हँुदैन । त्यसैले हामीजस्ता नारीहरूले यस्ता लफङ्गा केटाबाट जोगिएर हिँड्नु परेको छ । उनीहरू केटी भनेकै जिस्काउने ‘चीज’ हो भन्दै हिँड्छन् । हाम्रो मौनताबाट झन् शक्तिशाली बन्छन् ।
चन्द्रा, साँच्चै भन्ने हो भने शोषणमा आधारित समाजमा हामीलार्ई जहाँ गयो त्यही समस्या आउँछ । तिमीले पनि यस्तो समस्या भोगेकी हौली । समय र परिस्थितिअनुसार हामी केही बेर चुप लाग्नुपर्ने हुनसक्छ । तर यस्तो अमानवीय समाजलाई जरैबाट उखेल्न हामी सचेत र सङ्गठित हुनैपर्छ । हामीले बिस्तारै सङ्घर्ष गर्दै जानुपर्छ । हामी आफ्नो आत्मरक्षाको लागि पनि शारीरिक र मानसिक रुपमा बलियो हुनैपर्छ । दुःख त लाग्छ । तर कमजोर बनेर सुख छैन । चुनौतीको सामना गर्न हामीले हाम्रा दिदीबहिनीलाई बलियो बनाउन आवश्यक छ । म बसेको ठाउँमा चेलीबेटीहरूको सङ्गठन बनेको हुन्थ्यो भने ती छाडा केटाहरूलाई कसरी तह लगाउनुपर्छ मैले जानेकी थिएँ । तर अहिलेलाई त यस्तो कल्पना हाम्रो उद्देश्यमात्र हो ।
साथी, सुख दुःख बाँड्दा हामी अझै बलियो बन्छौँ । तिमीले पनि आफ्नो समस्याबारे मलाई चिठी लेख्नेछौ भन्ने आशासहित अहिलेलाई बिदा हुन्छु ।
तिमीलार्ई माया गर्ने साथी,
उमा
Leave a Reply