भर्खरै :

नेपालमा पहिलो पटक केन्दामा खेल प्रतियोगिता आयोजना

भक्तपुर, ६ असार । नेपाल केन्दामा नेटवर्कको आयोजनामा भक्तपुरमा नेपालमै पहिलोपटक केन्दामा खेल प्रतियोगिता असार ८ गते हुँदै छ ।
जापानी खेलको रूपमा परिचित केन्दामा खेल र प्रतियोगिताबारे जानकारी दिन नेटवर्कले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेटवर्कका संयोजक एवं पारागन एकेडेमीका प्रिन्सिपल पुण्यराम कवांले केन्दामा खेलले पढाइमा विद्यार्थीको ध्यान एकत्रित गर्न सहयोग पु¥याउने जापानी अनुभवको आधारमा नेपालमा पनि खेल सिकाउने र त्यसलाई प्रोत्साहित गर्न पहिलोपटक प्रतियोगिता आयोजना गर्न लागेको बताउनुभयो ।
प्रतियोगिता असार ८ गते बिहान ८ बजेदेखि कमलविनायक गणेश मन्दिर परिसरमा हुने र प्रतियोगितामा हाल नेटवर्कमा आबद्ध भक्तपुरका ४ वटा स्कूल पारागन एकेडेमी, हिमालयन ग्लोरी सेकेण्डरी स्कूल, चम्पक विद्यापीठ र डेमोस इङ्गलिश स्कूलका ८४ जना विद्यार्थीहरूले भाग लिने बताइएको छ । सोही कार्यक्रममा केन्दामा खेलका विश्व च्याम्पियन कुबोटाले खेल प्रशिक्षण तथा प्रदर्शनी गर्ने बताइएको छ ।
केन्दामा बल र हथौडा आकारको कप प्रयोग गरी खेलिने जापानी खेल हो । यो खेल आँखा र हातबीचको तालमेल मिलाउँदै खेलिन्छ । यस खेलको खेलविधिले शारीरिक सन्तुलन मिलाउन र मानसिक ध्यान एकीकृत गर्न सहयोग पुग्ने अनुभव छ ।
पत्रकार सम्मेलनमा जापानको क्वान्सेइ गाकुइन विश्वविद्यालयका सहप्राध्यापक डा. नारुहो इजाकीले जापानमा गरिएका सोध अनुसन्धानले केन्दामा खेलले विद्यार्थीहरूको पढाइमा ध्यान केन्द्रित हुने र स्मरण शक्ति बढ्ने परिणाम देखाएको बताउँदै नेपालमा पनि सो खेल सिकाउने, खेलाउने र सोही अनुसन्धान अघि बढाउने बताउनुभयो ।
केन्दामा खेलका विश्व च्याम्पियन कुबोटाले खेल खेल्ने विधिबारे जानकारी दिंदै हात, आँखा र शरीरको व्यायाम हुने बताउनुभयो । कुबोटासहित क्वान्सेइ गाकुइन विश्वविद्यालयका विद्यार्थीहरू खेल प्रशिक्षणका लागि हाल नेपालमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *