भर्खरै :

देश विकासमा सङ्कीर्ण स्वार्थ बाधा

राजन अवाल
सत्तारुढ दलका नेता र मन्त्रीहरूले पाँच वर्षसम्म कुनै हालतमा मन्त्रिमण्डल हेरफेर नहुने विश्वास दिलाएका थिए । विशेषगरी एमालेबाट नेकपा बनेका ती नेता र मन्त्रीहरूको उक्त कुरा माओवादीबाट नेकपा बनेका नेता र मन्त्रीहरूलाई पचेनन्, सत्ताको भोका नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई झनै पच्ने कुरा थिएन । अध्यक्ष दाहालले त भारतीय शासकसामु आलोपालो प्रधानमन्त्री हुने दुई अध्यक्षबीच सहमति भएको फुके । यही अभिव्यक्ति उनले पछिल्ला दिनमा पनि दोहो¥याइरहेका छन् । दाहालको उक्त अभिव्यक्तिको स्वर सेलाउन नपाउँदै नेकपाका सांसदहरूले नै मन्त्रीको राजीनामा माग गर्न थाले । अध्यक्ष दाहालले पनि उक्त स्वरमा स्वर मिलाउँदै बजेट पारित भएपछि केही मन्त्रीहरू हेरफेर हुने बताए ।
आफ्नै दलका मन्त्रीको राजीनामा सांसदले माग गर्नुको अर्थ पार्टीबीच मतभेद हुनु हो । पार्टीभित्र भइरहेको पक्षपातको स्वर हो, मन्त्रीको राजीनामा माग बाजुराका निर्वाचित सांसद लालबहादुर थापाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको विरोधस्वरुप सभामुखमार्फत रातो किताब मन्त्रीलाई नै फिर्ता गरे । बजेट विनियोजनमा पूर्वाग्रह गरेको उनीहरूको दाबी हो । मन्त्रीहरूले आ–आफ्नो जिल्लामा बढी बजेट लगेर अरु सांसदहरूलाई थोरै दिएको उनीहरूको भनाइ गलत होइन । सांसद थापाले भने, “यो किताब (रातो) लिन सक्दिनँ, आफ्नो जिल्लामा योजना नभएको किताब बाजुराली जनतामाझ कसरी लैजानु ?” पिछडिएको जिल्ला र क्षेत्रलाई राज्यको मूलधारमा ल्याउने नीतिको सांसद थापाको गुनासो हो ।
भोजपुरका सांसद सुदन किराँतीको त्यस्तै गुनासो छ । आफ्नो जिल्लामा बजेट विनियोजन नभएको देख्दा मनफाटेको दुखेसो उनले पोखे । उनले बजेट नेतामुखी भएको बताए । उनले भने, “एक निर्वाचन क्षेत्रमा एक रणनीतिक सडक भनिएको थियो तर १७ वटा जति मन्त्रीको धनुषामा परेछन्, हाम्रोमा छैन ।” उनीहरूले मन्त्रीको स्तर, योग्यता र अवस्थामाथि शड्ढा गरे । संखुवासभाका सांसद राजेन्द्रप्रसाद गौतमको पनि त्यही स्वर थियो । यसरी सत्तारुढ दलका नेता र मन्त्रीहरू र उनीहरूको चाकडी गर्ने पिछलग्गू सांसदहरूको जिल्लामा मात्र अधिक योजना छनोट गर्ने सरकारले अरु दलका नेता र सांसदहरूको जिल्लामा योजना छनोट गर्न कञ्जुस्याइँ नगर्ला र ? यसरी पूर्वाग्रही राखेर योजना बाँड्ने सत्तारुढ दलका नेता र मुख्य मुख्य मन्त्रीहरू कसरी देशका जिम्मेवार नागरिक हुन्छन् ? उनीहरू देश र जनताप्रति समर्पित नभएकै कारण आ–आफ्नो जिल्लामात्र हेरे । आ–आफ्नो जिल्लाको विकास हेर्ने नेता, मन्त्री र सांसदहरूको स्वार्थ नितान्त सङ्कीर्ण रहेको थाहा हुन्छ ? देश विकास नहुनुको कारण पनि यस्तै नितान्त सङ्कीर्ण स्वार्थले गर्दा हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *