जारशाही संसद्मा बोल्शेभिक सांसद–४
- कार्तिक २२, २०८२
सामाजिक सञ्जालमा चर्चामा रहेका केही तस्वीरले राजा बन्न चाहने चिन्तनको अझै अन्त्य नभएको सङ्केत गरेको छ । विभिन्न कार्यक्रममा सहभागी स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, प्रदेशका मन्त्रीहरू पनि पिर्का र टेबलमाथि चढेर सलामी लिइरहेको तस्वीरले गणतन्त्रलाई व्यङ्ग्य गरेको छ । हिजोका राजालाई गरिने व्यवहार वा सम्मान आजका जनप्रतिनिधिले पनि खोजिरहेको भान गरिँदै छ । जनतामा अझै पनि नागरिक हुनुको स्वाभिमान उठिनसकेको देखिएको छ । कतिले यस्ता तस्वीरलाई ‘गाउँ–गाउँमा सिंहदरबार’ नारा प्रयोग गरी झटारो हानेका छन् । मुख्यमन्त्री निर्वाचित भएको केही समयपछि कर्णाली प्रदेशका मुख्यमन्त्रीले रातो कपडामा हिँडेको तस्वीर सार्वजनिक हुँदा पनि देशमा राजनीतिकरूपमा गणतन्त्र स्थापना भए पनि मानसिकतामा अझै राजतन्त्र जब्बर भएको अनुभूति गरिएको थियो ।
देशको सङ्घीय सरकारदेखि अधिकांश स्थानीय तहमा नेकपाकै नेतृत्व छ । त्यसकारण सङ्घीय सरकारको नेतृत्वले जे गर्छ, प्रदेश र स्थानीय तहका सरकारले पनि त्यसैको नक्कल गरिरहेका छन् । प्रधानमन्त्रीले सेनाको सलामी लिन हुन्छ भने मुख्यमन्त्रीले किन नहुने ! अनि मुख्यमन्त्रीले लिन हुने कुरा नगर प्रमुखले किन नहुने ! वडाध्यक्ष पनि वडा सरकारको मुख्य व्यक्ति नै हुन्, उनले किन लिंदा के बिग्रने हो र ! यस्तै रोगले आज देशको गणतन्त्र सङ्क्रमित छ । राष्ट्रपति राजाजस्तो हुन मिल्छ भने मुख्यमन्त्री अञ्चलाधीशजस्तो बन्न किन नमिल्ने ?
कुनै पनि देशको राजनीतिक व्यवस्था परिवर्तन हुँदैमा सबै अवयवमा स्वाभाविक र प्राकृतिकरूपमा परिवर्तन भइहाल्दैन । त्यसको निम्ति देशको नेतृत्वबाट रुपान्तरणको लागि पहल गर्न जरुरी हुन्छ । नत्र इटालीका राजनीतिक चिन्तक मेकियावलीले भनेजस्तै जनतन्त्र भीडतन्त्र बन्दै जाने छ । आज देशमा वास्तवमै भीडतन्त्रको छनक देखिँदैछ । गणतन्त्रको शिलान्यासले सामन्ती व्यवस्थालाई राख बनाउन सकेन । भिन्न आवरणमा उस्तै व्यवस्था चल्दै गरेको जनता अनुभूति गर्दै छन् ।
पिर्का र टेबलमाथि चढेर सलामी लिने भोकले हाम्रा शासक वर्गभित्र अझै सल्बलाइरहेको सामन्ती चिन्तनका सर्पलाई प्रकाशित गरेको छ । यस्ता गतिविधिले तत्कालै कुनै ठूलो प्रभाव त देखाउँदैन । तर, कालान्तरमा यसले पार्ने असर भने गहिरो हुनसक्छ ।
अधिकांश राज्यका तहमाथि आफ्नो प्रभाव जमाएको नेकपाको नेतृत्वमा देखिएको वैचारिक स्खलन नै यसको मूल जड हो । राजतन्त्र र सामन्तवादविरुद्धको लडाइँलाई राजनीति आयामसम्म सीमित राखिनुले आगामी दिनमा यस्ता विभिन्न घटना भइरहने छन् । यसको निम्ति नेकपाले आफ्नो राजनीतिक र सैद्धान्तिक दिशा प्रस्ट पार्न जरुरी छ, त्यही दिशालाई व्यवहारमा उतार्ने जिम्मेवारीप्रति नेतृत्व प्रतिबद्ध हुन जरुरी छ । नेतृत्वमा अझै पनि बाँकी सामन्तवादको जरा नउखेलेसम्म तल्लो निकायबाट यो मन्छाउन सकिन्न । सत्तासीन दलले यस्ता बदनामीका पगरी फेरि फेरि लगाउनबाट जोगिने हो भने सबभन्दा पहिले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय र पार्टी कार्यालयमा जीवित रहेको सामन्तवादको भूतलाई मन्छाउने हिम्मत गर्नुपर्छ ।
Leave a Reply