समयमै कम्पनी अध्यावधिक गरौँ, नत्र तिर्न पर्ला जरिवाना चर्को
- कार्तिक २५, २०८२
जोराल
दक्षिण अफ्रिकाको जातिवादी बोथा सरकारले स्वतन्त्रता र न्यायप्रेमी असङ्ख्य जनतालाई मारिसकेको छ र मार्दै छ, असङ्ख्य व्यक्तिलाई थुनेको छ र थुन्दै छ । एकपछि अर्को दमन गर्ने कानुन बनाउँदै छ र लागू गर्दै छ अनि सङ्कटकालीन स्थिति (Emergency) को कालो बादललाई घनिभूत पारेकै छ । फलस्वरुप तानाशाही बोथा सरकारले दक्षिण अफ्रिकी जनतासँग सङ्घर्ष र सशस्त्र सङ्घर्षको सामना गर्नु परिरहेको छ भने अन्तर्राष्ट्रिय मञ्चमा कुख्याती पाइरहेको छ । विश्वभरका जनताको सङ्घर्षको परिणाम हालै आजीवन कारावासको सजाय दिइएका गोभान एम्बेकि (Govan Archibald Mvuyelwa Mbeki) रिहा हुनुभएको छ । उहाँका साथै आपार्थाइडविरोधी अन्य ६ जना नेता पनि रिहा भएका छन् । नेल्सन मण्डेलाका दौतरी गोभान एम्बेकि आजीवन कारावासको सजायबाट छुट्ने पहिलो काला जातिका नेता हुनुभएको छ ।
एम्बेकि को हुन् ?
गोभान एम्बेकिको जन्म सन् १९१० जुलाई ८ का दिन दक्षिण अफ्रिकाको ट्रान्स्केइ (Trasnkei) मा भएको हो । उहाँले सन् १९३६ मा राजनीति शास्त्र र मनोविज्ञानमा स्नातक र शिक्षा शास्त्रमा डिप्लोमा उत्तीर्ण गर्नुभयो ।
उहाँ मूलतः पत्रकार हुनुहुन्छ । उहाँ ‘न्यू एज’ (New Age) र ‘स्पार्क’ (Spark) का सम्पादक हुनुहुन्थ्यो । तर, ती पत्रिकामाथि प्रतिबन्ध लागेपछि उहाँ अध्यापन कार्यमा लाग्नुभयो । डर्बनको एउटा सरकारी स्कूलमा अध्यापन कार्य गरिरहनुभएको बेला उहाँको भेट एपैनेट (Epainette) सँग भएको थियो । एम्बेकि ल्याटिन र इतिहास पढाउनुहुन्थ्यो र एपैनेट अङ्ग्रेजी र भूगोल पढाउनुहुन्थ्यो, पछि उहाँहरू पति–पत्नी बन्नुभयो ।
अध्यापन कार्यमा छँदै गोभान एम्बेकिले एउटा पुस्तक लेख्नुभयो– ट्रान्स्केइ इन द मेकिङ्ग (Transkei in The Making) । त्यस पुस्तकमा सरकारी नीतिको विरोध भएको कारण उहाँलाई अध्यापन कार्यबाट हटाइयो ।
अफ्रिकी नेसनल काँग्रेस (ANC) का एक सदस्य एम्बेकिले किसानहरूको समस्याबारे थुप्रै काम गर्नुभएको छ । उहाँ दक्षिण अफ्रिकी कम्युनिस्ट पार्टी (SACP) का सदस्य पनि हुनुहुन्छ । श्रीमती एपैनेट एम्बेकि दक्षिण अफ्रिकी कम्युनिस्ट पार्टीका पुराना सदस्य हुनुहुन्थ्यो ।
सन् १९५६ मा एम्बेकिलाई अफ्रिकी नेसनल काँग्रेसका राष्ट्रिय अध्यक्ष बनाइनुभयो । उहाँलाई सन् १९६० मा सङ्कटकालीन स्थितिअन्तर्गत पक्राउ गरियो र केही महिनापछि छोड्यो । सन् १९६२ मा फेरि उहाँलाई ‘विस्फोटक पदार्थ कानुन’ अन्तर्गत पक्राउ गरियो तर आरोप सिद्ध गर्न नसकेकोले छोडियो ।
सन् १९६३ मा उहाँ भूमिगत हुनुभयो । उहाँलाई उम्खोन्टो वी सिज्वे (Umkhonto we Sizwe) को महत्वपूर्ण जिम्मेवारी दिइयो । यो अफ्रिकी नेसनल काँग्रेसको सैनिक शाखा हो जुन सन् १९६१ मा गठन भएको हो । यसको मुख्यालय रिबोनियामा थियो । सन् १९६३ मा त्यस मुख्यालयमा दक्षिण अफ्रिकी सरकारले छापा मा¥यो र यसका प्रमुख नेताहरू पक्राउ ग¥यो –नेल्सन मण्डला, वाल्टर सिसुलु, गोभान एम्बेकि, रेमन्ड म्ल्हाबा, अहमद कथराडा, इलियास मोल्सोलेदी आदि । उहाँहरूमाथि सशस्त्र सङ्घर्ष गरी सरकार पल्टाउन खोजेको आरोपमा मुद्दा चलाइयो । ‘रिबोनिया मुद्दा’ (Rivonia Trial) को नामले विख्यात उक्त मुद्दामा अभियुक्तहरूमध्ये धेरैलाई जन्मकैदको सजाय दिइएको थियो । त्यसमा नेल्सन मण्डेला, वाल्टर सिसुलु, गोभान एम्बेकि प्रमुख छन् । उक्त मुद्दाका अभियुक्तलाई मात्र होइन अभियुक्तको तर्फबाट पैरवी गर्ने अब्राहम फिसर मुद्दाका (Bram Fischer) लाई पनि ‘के निहुँ पाउँ कनिका बोकाउँ’ भनेर सजाय दिइएको थियो । ब्राम फिसरको नामले प्रख्यात अब्राहम फिसर गोरा जातिको हुनुहुन्थ्यो । उहाँ गोराहरूमाझ पनि अत्यन्त सम्मानित हुनुहुन्थ्यो । ‘रिबोनिया मुद्दा’ सकिएको एक महिना नबित्दै ‘साम्यवाद दमन कानुन’ अन्तर्गत ब्राम फिसरलाई पक्राउ गरियो र जन्मकैदको सजाय दिइयो । सन् १९७५ मई ८ का दिन क्यान्सरले उहाँको निधन भयो ।
दक्षिण अफ्रिकाको राजनीतिमा गोभान एम्बेकिको नाम उल्लेख भए पनि उहाँको तस्वीर छाप्न कानुनले प्रतिबन्ध लगाएको छ । अखबारमा उहाँको नाम उल्लेख गर्नु पनि कानुनले अपराध मानिन्छ ।
सम्मान
एक सजग पत्रकार र समाजशास्त्रीको रूपमा गोभान एम्बेकिलाई अनेक संस्थाहरूले सम्मान गरेका छन् ।
सन् १९७८ मा एम्स्टर्डम विश्वविद्यालयले गोभान एम्बेकिको पुस्तक ‘दक्षिण अफ्रिका ः किसान क्रान्ति’ (South Africa : The Peasants Revolt) को निम्ति मानार्थ विद्यावारिधि (डक्टरेट) को उपाधि प्रदान ग¥यो, सन् १९८० मा अफ्रिकी नेसनल काङ्ग्रेसले उहाँलाई ‘इसिथ्वालान्द्वे’ (Isithwalandwe) उपाधि प्रदान ग¥यो । ‘इसिथ्वालान्द्वे’ को शाब्दिक अर्थ हुन्छ ‘यस्तो व्यक्ति जसको शिरमा दुर्लभ पन्छीको प्वाँखको श्रीपेच छ ।’ दक्षिण अफ्रिकाको परम्पराअनुसार सामाजिक जीवनमा यो उपाधि त्यस्ता योद्धाहरूलाई दिइन्छ जसले आक्रमणकारीहरूबाट जनताको रक्षा गर्नमा अपूर्व सौर्य र नेतृत्व गरेको होस् ।
सन् १९८१ मा पत्रकारहरूको अन्तर्राष्ट्रिय सङ्गठन (International Organization of Journalists) ले उहाँलाई ‘जुलियस फ्युचिक पदक’ प्रदान ग¥यो । यसअघि सन् १९७१ मा ‘अन्तर्राष्ट्रिय पत्रकार पुरस्कार’ पनि प्रदान गरिएको थियो ।
रिहाइ
दक्षिण अफ्रिकी तानाशाही गोरा सरकारले ‘रिबोनिया मुद्दा’ का कैदीहरूलाई उनीहरूले हिंसा परित्याग नगरेसम्म रिहा नगर्ने कुरो गर्दै आएको थियो । तर नेल्सन मण्डेलालगायत अन्य कैदी र अफ्रिकी नेसनल काँग्रेसले यसलाई अस्वीकार गर्दै आएको छ । आज स्वाधीनताप्रेमी दक्षिण अफ्रिकी जनता र विश्व जनमतको कारण जनताको सानो विजय भएको छ । रिबोनिया मुद्दाका एक जन्मकैदी गोभान एम्बेकिलाई ५ नोभेम्बर, १९८७ (२०४४ कार्तिक १९ गते बिहीबार) मा विनासर्त रिहा गरियो । केपटाउननिरको रोबेन टापू (Robben Island) जेलबाट रिहा गर्नुअघि उहाँलाई पोल्समुर जेलमा नेल्सन मण्डेलासँग एक घण्टा भेट्न दिइएको थियो । त्यसबारे मण्डेला स्वस्थ रहेको बाहेक अन्य जानकारी दिन उहाँले अस्वीकार गर्नुभएको छ ।
रिहा पछि पोर्ट एलिजाबेथमा आइपुगेपछि उहाँले आफू अफ्रिकी नेसनल काँग्रेसको सदस्य, दक्षिण अफ्रिकी कम्युनिस्ट पार्टीको सदस्य रहिरहेको र माक्र्सवादी विचार नत्यागेको बताउनुभयो ।
उहाँको रिहाइपछि श्रीमती विन्नी मण्डेला, श्रीमती अल्वर्टिना सिसुलु (वाल्टर सिसुलीकी धर्मपत्नी एवम् संयुक्त प्रजातान्त्रिक मोर्चा (UDF) की सहअध्यक्ष) लगायत जनताले उहाँलाई स्वागत गरेको समाचार प्रकाशमा आएको छ ।
ऐतिहासिक पत्रकार सम्मेलन
बिहीबार रिहा भएपछि उहाँले शनिबार जोहान्सबर्गमा एउटा पत्रकार सम्मेलन गर्नुभयो । दक्षिण अफ्रिकाजस्तो अफ्रिकी नेसनल काँग्रेसका सदस्य एवम् कम्युनिस्टले खुला पत्रकार सम्मेलन गर्नु आफैमा ऐतिहासिक महत्व राख्दछ ।
त्यस पत्रकार सम्मेलनमा एक सय पत्रकारहरूको उपस्थिति थियो । त्यहाँ श्रीमती विन्नी मण्डेलाको पनि उपस्थिति थियो । पत्रकार सम्मेलन आयोजना हलबाहिर सयौँ काला युवाहरूले हर्षको गीत गाए, नाचे र खुसी व्यक्त गरे । त्यस पत्रकार सम्मेलनमा गोभान एम्बेकिले आफू विनासर्त रिहा भएको बताउँदै “जुन विचार लिएर म जेल गएको थिएँ र जुन नीतिमा अफ्रिकी नेसनल काँग्रेस दृढ छ, म अझै त्यसैमा छु” भन्नुभयो ।
उहाँले म जेल परेदेखि यता २३ वर्षको समयावधिमा काला जातिको राजनैतिक स्वतन्त्रताबारे खासै महत्वपूर्ण प्रगति भएको छैन र सरकारी तवरबाट इङ्गित गर्नलायक कुनै महत्वपूर्ण कुरो भएको म देख्दिनँ भन्नुभयो ।
दक्षिण अफ्रिकी सरकारले सीमित जातीय सुधारको नाममा राजनैतिक अधिकारको मूल प्रश्नलाई पन्छाउन खोजेको आरोप लगाउँदै उहाँले यसको सट्टा सरकारले आधारभूत राजनैतिक अधिकारको विषयबाट भाग्ने नीति अपनाएको हामी देख्छौँ भन्नुभयो ।
त्यस पत्रकार सम्मेलनमा उहाँले कथित राष्ट्रिय परिषद्को चुनावमा भाग नलिन जनतालाई आह्वान गर्नुभयो ।
पत्रकार सम्मेलनपश्चात् प्रहरीको एक हुलले सङ्कटकालीन स्थितिको नियम अघि सारी पत्रकार र अन्यलाई तत्काल त्यस ठाउँ छोड्न भने । केही समयपछि त्यस ठाउँ खाली गर्न जाँदै गरेका बाँकी मानिसहरूमाथि प्रहरीले अश्रुग्यास छोडेको थियो ।
विनाउत्तरको प्रश्न
त्यस पत्रकार सम्मेलन दक्षिण अफ्रिकी सरकारको दृष्टिमा ‘आधिकारिक’ छ, त्यसैले त्यसको उल्लेख पत्रपत्रिकामा गर्न पाइन्छ । तर, त्यो पटकको बाहेक अन्य (दोस्रो) कुनै पनि पत्रकार सम्मेलन गर्नु र पत्रपत्रिकामा उल्लेख गर्नु गैरकानुनी हुनेछ ।
पत्रकार सम्मेलन ‘आधिकारिक’ छ तर पत्रपत्रिकामा गोभान एम्बेकिको नाम लेख्नु अपराध मानिन्छ । त्यसैले दक्षिण अफ्रिकाको ‘स्वतन्त्र’ पत्रपत्रिकाले शनिबारको आधिकारिक पत्रकार सम्मेलन उल्लेख ग¥यो । त्यहाँको दृश्य पनि शब्दमा प्रस्तुत गरियो । पत्रकारहरूले सोधेका प्रश्नहरू पनि छापे । तर, गोभान एम्बेकिको नाम छापेनन्, उत्तर पनि छापेनन् । दक्षिण अफ्रिकाका पाठकहरूले गोभान एम्बेकिको विनाउत्तरको पत्रकार सम्मेलनबारे जानकारी कसरी लिए होलान् ? त्यसैले उहाँको ठेगाना रोबेन टापु जेलबाट दक्षिण अफ्रिकाको कैदीघरमा फेरिएको छ अर्थात् उहाँ कैदी नै हुनुहुन्छ ।
अफ्रिकी नेसनल काँग्रेस सन् १९६० देखि दक्षिण अफ्रिकामा प्रतिबन्ध छ । यसको प्रधान कार्यालय लुसाकामा छ । गोभान एम्बेकिको रिहाइपछि प्रधानकार्यालयमा कार्यरत एक पदाधिकारी माय्क महाराजाले एक अन्तर्वार्तामा एम्बेकिको रिहाइ दक्षिण अफ्रिकाका प्रजातान्त्रिक शक्ति र अन्तर्राष्ट्रिय शक्तिको विजयको संज्ञा दिनुभयो ।
उहाँले एम्बेकिको रिहाइ आपार्थाइडविरोधी निरन्तर सङ्घर्षमा उत्प्रेरक (Catalyst) झैँ हो भन्नुभयो ।
पर्यवेक्षकहरूका अनुसार नेल्सन मण्डेला एवम् अन्य मुक्ति योद्धाहरूको रिहा अघि एम्बेकिलाई नापोको रूपमा लिने छ । उहाँको व्यवहारलाई दक्षिण अफ्रिकी सरकारले नियालिरहेको हुनुपर्छ ।
(Sunset at Midday, Learning from Robben Island, The Struggle for Liberation in South Africa लगायत थुप्रै रचनाका लेखक, राजनीतिज्ञ एम्बेकिको सन् २००१ अगस्त ३० मा निधन भयो । दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति थाबो एम्बेकि उहाँकै छोरा हुनुहुन्छ –सम्पादक ।)
पञ्चायत
(वर्ष ६, अङ्क १, २०४४)
Leave a Reply