भर्खरै :

अन्तर्राष्ट्रिय उडान बढाउँदै निगम

काठमाडौँ, १० असार । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले अन्तर्राष्ट्रिय गन्तव्यमा उडान थप गर्ने भएको छ । निगमले भारतको नयाँ दिल्लीमा तीन र दुबई गन्तव्यमा एक उडान बढाउन लागेको जनाएको हो ।
अन्तर्राष्ट्रिय गन्तव्यमा उडान बढाउँदै लैजाने प्रयासअनुरुप दुई गन्तव्यमा उडान वृद्धि गरिएको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार निगमका जहाजको उपयोगिता बढाउन तथा उपलब्ध पाइलटबाट बढीभन्दा बढी उडान गर्ने योजनाअनुरुप हाललाई दिल्ली र दुबई उडान थप गरिएको छ । ती गन्तव्यमा उडान थपका लागि विमानस्थलबाट ‘स्लट’ पनि प्राप्त भइसकेको छ ।
निगमले ‘वाइडबडी’ जहाज र ‘न्यारोबडी’ जहाजमार्फत काठमाडौँ–दिल्ली गन्तव्यमा सात उडान गर्नेछ । यसअघि दिल्ली गन्तव्यमा हरेक साता ११ उडान भइरहेकामा हाल १४ पु¥याइएको छ । यो गन्तव्यमा साताको २१ उडान भर्ने निगमको योजना छ । यस्तै दुबईमा हरेक साता तीन उडान गरिँदै आएकोमा एक उडान थप गरी चार उडान पु¥याइएको छ ।
निगमले आन्तरिक उडानमा पूर्ण क्षमताका साथ जहाज उडाउनका लागि विमान चालकको तालिम सञ्चालन गर्न संस्थागत कार्य अघि बढाइएको जनाएको छ । वाइ–१२ जहाज उडान गर्न दुईजना वरिष्ठ पाइलटको असार मसान्तभित्रै तालिम सम्पन्न गरी जहाज सञ्चालन गर्नेतर्फ निगम सक्रिय रहेको विज्ञप्तिमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *