भर्खरै :

मार्टा हार्नेकर ः एकजना योद्धा

फारुक चौधरी
कामरेड मार्टा हार्नेकरको निधन भयो । सन् २०१९ को जून १५ मा उहाँको क्यानाडामा निधन भएको हो । अथक योद्धा कामरेड मार्टा हार्नेकर (सन् १९३७–२०१९) ले ल्याटिन अमेरिकामा समाजवादी क्रान्तिसम्बन्धी सिद्धान्तको बृहत् क्षेत्रमा ज्यादै महत्वपूर्ण योगदान दिनुभयो ।
उहाँको सङ्घर्ष सिङ्गो मानव विश्वको लागि थियो ।
मार्टा हार्नेकर न अरू देशको मामिलामा परिणामको ख्याल नगरी हस्तक्षेप गर्ने दुस्साहसिक (एडभेन्टरिष्ट) चिन्तक हुनुहुन्थ्यो न दुस्साहसिक वक्ता नै । त्यसैकारण उहाँ आफ्नो समयमा नेतृत्वदायी जनसिद्धान्तकारी बन्नुभयो । सङ्घर्षमा लागेको वर्षौं वर्षको अनुभवले उहाँलाई व्यवहार र सिद्धान्त जोडिएको दृष्टिकोण, वर्गीय पक्षधरता र आक्रामक वर्गको शक्ति सन्तुलनसम्बन्धी आफ्नो विचार बनाउन मद्दत ग¥यो । त्यसैकारण उहाँले भन्नुभएको छः
“हामीलाई यस्तो वामपन्थीको खाँचो छ जसले निकै कम जनतामात्र सहमत हुने र बहुमत जनताको समर्थन नभएको निकै जुझारु नारा लगाउँदैमा वा सबभन्दा उत्कर्षका गतिविधि गर्दैमा आमूल परिवर्तनकारी हुँदैन भन्ने कुरा बुझेको होस् । बरु सम्भव भएको बृहत् क्षेत्रहरूलाई एक ठाउँमा ल्याएर सङ्घर्षको परिस्थिति निर्माण गरोस् । हाम्रो आन्दोलनमा धेरै क्षेत्रका शक्ति मिसिएका छन् भन्ने यर्थाथबोधले हामीलाई अझ बलियो बनाउँछ । त्यस्तो अवस्थाले हामीलाई परिवर्तनकारी बनाउँछ । हामीलाई त्यस्तो वामपन्थीको खाँचो छ जसले कुनै कुरा थोपरेरभन्दा पनि जनतालाई चित्त बुझाएर उपलब्धि हासिल गर्न सकोस् । हामीलाई त्यस्तो वामपन्थीको खाँचो छ जसले बुझेको होस् – हाम्रो सार्वभौमिकता जित्न हामीले विगतमा गरेका कामभन्दा भविष्यमा हामी सबै मिलेर गर्ने काम महत्वपूर्ण हुन्छ । सम्पूर्ण मानव जातिको पूर्ण विकास सम्भव बनाउने समाजको निर्माण गर्नु नै हाम्रो भविष्यको लक्ष्य हो । त्यस्तो समाजवाद एक्काइसौँ शताब्दीको समाजवादी समाज हुनेछ ।”
(‘ल्याटिन अमेरिका र एक्काइसौँ शताब्दीको समाजवादः गल्ती नगर्न प्रयत्न’, मन्थ्ली रिभ्यु, जुलाई – अगस्ट, २०१०) हार्नेकरको यो भनाइलाई शिक्षाको रूपमा सिक्न सकिन्छ । ‘परिवर्तनकारीहरूले निकै जुझारु नारा लगाउँदै अतिवादी क्रियाकलाप गरेर’ आपूmलाई ‘नायक’ देखाउन खोज्नु तरुण जोशबाहेक केही पनि होइन । त्यस्ता नायकहरू वास्तवमा खलनायक हुन् । उत्पीडित वर्गका वर्ग शत्रुले यस्तो चरित्र निकै रुचाउँछन् ।
चिलीमा जन्मनुभएका समाजशास्त्री, राजनीतिशास्त्री र अभियन्ता हार्नेकर भेनेजुयलाका क्रान्तिकारी बोलिभारियाली नेता एवम् साम्राज्यवादले सबभन्दा बढी घृणा गरेको व्यक्ति ह्युगो चाभेजका नजिकका मित्र हुनुहुन्थ्यो ।
हार्नेकरको शब्दमा आजको भेनेजुयला भनेको बोलिभारियाली क्रान्तिको प्रयोगशाला हो । हार्नेकरले गर्नुभएका विभिन्न गतिविधिका आधारमा उहाँ एकजना पत्रकार पनि हुनुहुन्थ्यो । तर, उहाँका कुनै पनि सक्रियता मानव विश्वको लागि जनताको राजनीति सङ्घर्षबाट पर थिएन । राजनीतिक गतिविधिमा समर्पित विचारबाट उहाँ कहिल्यै अछुतो रहनुभएन ।
मार्टा लेख्नुहुन्छ, “विरोध प्रदर्शन, प्रतिरोध र सङ्घर्षहरूले वास्तवमै परिवर्तन ल्याउन सक्छन्, जनआन्दोलनलाई क्रान्तिमा बदल्न सक्छन् भनी पुष्टि गर्न र राजनीति गतिविधिलाई प्रभावकारी बनाउन उत्पीडित र शोषित वर्गभित्रको विभाजन र छरिएको अवस्थालाई एकै ठाउँमा ल्याउन सक्ने एउटा राजनीति औजार (सङ्गठन) को खाँचो पर्छ । एउटा यस्तो औजार जसले उनीहरू (उत्पीडित वर्ग) बीच भिन्नता भएर पनि एकै स्थानमा ल्याउने ठाउँ बनाउन सकोस् । जसले चालू
सङ्घर्षलाई अझ बलियो बनाउन सकोस् अनि राजनीतिक परिस्थितिको विस्तृत विश्लेषणमा आधारित रहेर अरूलाई पनि गतिविधिमा परिचालन गर्न सकियोस् । सङ्घर्ष र प्रतिरोधका धेरै अभिव्यक्तिबीच तालमेल गर्न सक्ने क्षमता त्यो औजारमा हुनुपर्छ ।” (‘हरेक यथार्थको लागि उपयुक्त राजनीतिक औजार’, द बुलेट, जनवरी २४, २०१९, द सोसेलिस्ट प्रोजेक्ट, टोरोन्टो, ओन्टारिओ)
आजको परिस्थितिमा यो अपरिहार्य कार्यदिशा हो किनभने पुँजीपति वर्गले उत्पीडित वर्गलाई विभिन्न रङ्गहरूमा विभाजन गरिरहेको छ । त्यसले उत्पीडित वर्गलाई कमजोर र उत्पीडिक वर्गलाई बलियो बनाएको छ ।
सिद्धान्तकार हार्नेकर विभिन्न देशमा उठेका आन्दोलनको अग्रपङ्क्तिमा सधैँ हाजिर हुनुभयो ।
सफल क्रान्तिहरूको शिक्षाबारे सार खिच्दै उहाँले लेख्नुभएको छः
“एउटा साझा गन्तव्यपछाडि विभिन्न सामाजिक पक्षका आन्दोलनलाई सङ्गठित गर्ने वैकल्पिक राष्ट्रिय कार्यक्रम उठाउन सक्षम एउटा राजनीतिक औजार (सङ्गठन) भएको अवस्थामा के कति उपलब्धि हासिल गर्न सकिन्छ भन्ने कुरा आजसम्मका सफल क्रान्तिले प्रस्ट देखाएका छन् ।”
अनि उहाँले जोड दिनुभएको छ, “…सही स्थानमा सही समयमा गतिविधि गरिनुपर्छ । शत्रुको शक्तिमा सबभन्दा कमजोर बिन्दु खोज्दै त्यहीँबाट यस्ता गतिविधिलाई अघि बढाउनुपर्छ । महान् अक्टोबर समाजवादी क्रान्तिबाट लेनिनले यही पाठ सिकाउनुभएको थियो – सही स्थान, सही समय र शत्रुको सबभन्दा कमजोर बिन्दु ।”
राजनीति औजार (सङ्गठन) बारे मार्टा भन्नुहुन्छ, “राजनीतिक सङ्गठन भनेको कुनै मेसिनको पिस्टोनजस्तै हो । त्यही पिस्टोनले भापको शक्तिलाई पाङ्ग्रामा लगेर गतिमा रूपान्तरण गर्छ । जसले इन्जिनलाई अघि धलेल्छ अनि सिङ्गो रेललाई अघि लाने गर्छ । शक्तिशाली साङ्गठनिक तालमेलले गतिविधिको लागि प्रमुख वस्तुगत क्षमतामात्र प्रदान गर्दैन बरु यसले घटनाक्रममाथि उर्जावान हस्तक्षेप गर्न सक्ने आन्तरिक वातावरण पनि सिर्जना गर्छ । घटनाक्रमले निम्त्याउने अवसरको फाइदा पनि सङ्गठनले उठाएको हुन्छ । राजनीतिमा कोही ठीकमात्र भएर पुग्दैन । बरु ऊ समयसान्दर्भिक पनि हुनुपर्छ अनि सफलताको लागि आफ्नै शक्तिमा भर पर्न सक्ने पनि हुनुपर्छ ।” उहाँका यी विचार आजको विद्यमान अवस्थामा पनि सान्दर्भिक छन् ।
उहाँ भन्नुहुन्छ, “कुनै पनि कामको लागि राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय अवस्थाबारे उपयुक्त समय, अनुसन्धान र ज्ञानको आवश्यकता पर्दछ । रातारात कुनै पनि काम हुनसक्छ भन्ने होइन । हामी बाँचिरहेको निकै जटिल विश्वमा त कुनै काम एकैबाजी हुन अझ सम्भव छैन ।”
“केही ‘नायक’ हरू हुन्छन् जसलाई अध्ययन अनुसन्धान गर्ने समय हुँदैन बरु नाराबाजीको लागि उनीहरूसँग जति पनि समय हुन्छ । उनीहरूसँग अज्ञानतामा अलमलिने जति पनि समय हुन्छ । तर, माक्र्सले प्रस्ट शब्दमा भन्नुभएको छ, “अज्ञानताले कुनै राम्रो नतिजा दिनेछैन । अज्ञानताले अराजकतावादतिर धकेल्छ । सामाजिक प्रक्रियालाई उपेक्षा गर्न उत्साहित बनाउँछ ।” बुर्जुवाहरूलाई अज्ञानी ‘नायक’ हरूको कोरा नाराबाजी चाहिएको हुन्छ । ‘नायकहरू’ लाई कुनै मिहिन कामको खाँचो पर्दैन । सिक्ने कुनै सदाशयता जरुरी हुँदैन ।
मार्टाले ती ‘नायक’ हरूलाई दिएको शिक्षा यही हो । ‘नायक’ हरूलाई यो कतिको मन पर्छ कुन्नि !
मार्टा हार्नेकर राजनीतिक सङ्गठनको प्रश्नलाई उपेक्षा गर्नुहुन्न । उहाँ भन्नुहुन्छ, “सुरुको तयारी त राजनीतिक सङ्गठनबाटै हुनुपर्छ । राजनीतिक सङ्गठनले नै नेतृत्व गर्नुपर्छ ।”
जनताको राजनीतिक सङ्घर्ष अघि बढाउन गैरसरकारी सङ्गठन (एनजीओ), अधिकारीवादी सङ्गठन र वर्गको प्रश्नलाई छोडेर सीमान्तकृत समुदायको मुद्दामा डुबेका सङ्गठनको भरमा सङ्घर्ष अगाडि बढाउन चाहनेहरूले मार्टाको राजनीतिक सङ्गठनबारे यो दृष्टिकोणबाट केही सिक्न सक्छन् ।
कार्यनीति र रणनीतिका प्रश्न पनि छन् । मार्टा लेख्नुहुन्छ, “जनताको आन्दोलनबीच समन्वय गर्न र सैद्धान्तिक चिन्तन प्रवद्र्धन गर्न मात्र नभई रणनीति खिच्न पनि राजनीतिक औजार (सङ्गठन) आवश्यक छ । सबै सफल क्रान्तिहरूले आप्mना रणनीति र कार्यनीतिका प्रश्नको सही व्याख्या गरेका छन् ।
तथापि मार्टाले बृहत् परिधिसम्बन्धी अवधारणालाई भने भुल्नुभएको छैन । उहाँले लेख्नुभएको छ, “समाजवादी परियोजनाअघि बढेसँगै यसलाई सामाजिक अभ्यासले अझ समृद्ध र परिमार्जन गर्दै लानुपर्छ । सामाजिक पक्षहरूका विचार र सल्लाह मानेर यो प्रक्रियाअघि बढाइनुपर्छ किनभने समाजवाद भनेको माथिबाट थोपरिने विषय होइन । जनतासँगै बसेर बनाइने विषय हो ।” त्यसकारण साम्प्रदायिकतालाई त्यहाँ कुनै स्थान छैन ।
मार्टा विशिष्ट विशेषता र विशिष्ट परिस्थितिको जनसङ्घर्षको प्रश्नबारे भन्नुहुन्छ, “जारकालीन रुसको तुलनामा हिजोआज हाम्रा देशहरूमा जनसङ्घर्ष भिन्न अवस्थामा विकास भइरहेको छ । साथै एउटा अर्को सत्य के हो भने भेनेजुयला न क्युवा हो न निकारागुआ हो । न बोलिभिया हो न इक्वेडर नै हो । हरेक देशका भिन्न – भिन्न परिस्थिति हुन्छन् । भिन्न – भिन्न परिस्थितिअनुसार रणनीति बन्छन् । जनसङ्घर्षका रूप र तरिका परिमार्जन हुन्छन् । सारमा क्रान्तिकारी सङ्गठनको पनि कुनै निश्चित सुत्रीय ढाँचा हुने प्रस्ताव उपयोगी हुनेमा मेरो विश्वास छैन ।” तसर्थ मार्टा हार्नेकर कुनै प्रकारको कोरा सिद्धान्तबाट मुक्त हुनुहुन्थ्यो । सबै देशको लागि उपयुक्त हुने कुनै औजारले बनाइएको सिद्धान्तबाट उहाँ मुक्त हुनुहुन्थ्यो ।
मार्टा हार्नेकर सन् १९७०–१९७३ सम्म चिलीमा भएको क्रान्तिमा सहभागी हुनुभयो । पेरिसमा लुइस अलथुसरसँग पढेपछि उहाँ सन् १९६८ मा फर्किनुभएको थियो । उहाँ चिलीको समाजवादी पार्टीको सदस्य बन्नुभयो ।
सन् १९७३ मा सैनिक जनरल पिनोचेको नेतृत्वमा भएको संरा अमेरिकी सहयोग प्राप्त सैनिक सत्ताविप्लवबाट राष्ट्रपति साल्भाडोर एलेन्डेको सरकार सत्ताच्युत भएपछि मार्टा निर्वासनको लागि क्युवा जानुभयो ।
उहाँले क्युवाली क्रान्तिबारे धेरै कुरा लेख्नुभएको छ । उहाँ भेनेजुयलाको राजधानी काराकसमा पनि बस्नुभयो र भेनेजुयाली क्रान्तिमा सहभागी बन्नुभयो ।
मार्टा हार्नेकर मेमोरिया पपुलर ल्याटिनोअमेरिकाना (एमईपीएलए) नामको अनुसन्धान संस्थाका निर्देशक हुनुहुन्थ्यो ।
सन् २००२ मा मार्टाले चाभेजसँग पन्ध्र घण्टा लामो अन्तर्वार्ता लिनुभयो । सन् १९९७ यता चाभेजले दिनुभएको त्यो सबभन्दा लामो अन्तर्वार्ता थियो । सन् १९९७ मा चाभेज भेनेजुयलाका राष्ट्रपति निर्वाचित हुनुभएको थियो ।
उहाँका धेरै चर्चित पुस्तकमध्ये एउटा पुस्तकको नाम ‘अ वल्र्ड टु बिल्डः न्यु पाथ्स टुअर्ड ट्वान्टी फस्र्ट सेन्चुरी सोसियलिज्म’ हो ।
मार्टाको ‘फिडेलः विजयको राजनीतिक रणनीति’ शीर्षकको स्पेनियाली भाषाको पुस्तकमा क्युवाली क्रान्तिबारे चर्चा गरिएको छ ।
मार्टा सन् २००४ नोभेम्बरमा प्रकाशित चाभेजको भाषण सङ्कलन ‘नयाँ रणनीतिक नक्सा’ का सम्पादक हुनुहुन्थ्यो । सो पुस्तक बोलिभारियाली क्रान्तिसम्बन्धी विचारको खँदिलो पुस्तक हो ।
उहाँको ‘असम्भवबाट सम्भवः एकाइसौँ शताब्दीको थ्रेसहोल्डमा वामपन्थी’ नामको पुस्तक सबभन्दा पहिले क्युवामा प्रकाशित भयो । त्यसपछि चिली, कोलम्बिया, पोर्चुगल र स्पेनमा त्यो पुस्तक प्रकाशित भयो । त्यो पुस्तकमा मार्टाले ल्याटिन अमेरिकाबारे आफ्नो समग्र दृष्टिकोण लेख्नुभएको छ ।
मार्टाले विभिन्न प्रकारका प्रभुत्ववादसम्बन्धी प्रश्नबारे लेख्नुभएको छ, “राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नवउदारवादी भूमण्डलीकरणविरुद्ध सङ्घर्षमा होमिएका समाजका सामाजिक नेतृत्व आफ्नो आन्दोलनमाथि प्रभुत्व जमाउने वा नियन्त्रण गर्न खोज्ने कसैको मनसाय वा कदमको विरोध गर्छ । आफ्नो शक्तिशाली अवस्थाको फाइदा उठाउँदै र राजनीतिक पदमा एकाधिकार जमाएर आन्दोलनलाई अन्यत्र मोड्ने केही सामाजिक तथा राजनीतिक सङ्गठनको पेलाहा नीतिको उनीहरू विपक्षमा उभिन्छन् । उनीहरू माथिबाट नेतृत्वको अधिनायकवादी थोप¥याई स्वीकार्दैनन् । आदेशमात्र दिएर आन्दोलनको नेतृत्व गर्ने प्रयासलाई उनीहरू अस्वीकार गर्छन् । आदेशमात्र दिने नेतृत्व जतिसुकै सही भए पनि उनीहरू तिनको पछि लाग्दैनन् । त्यस्तो नेतृत्वले आन्दोलनमा नकारात्मक असर पार्छ । एकातिर त्यस्तो नेतृत्वले सङ्गठन र आन्दोलनभित्र असन्तोषको बिजारोपण गर्छ । उनीहरूले आफ्नो कुनै प्रकारको स्वामित्व र सहभागिता नभएको निर्णय स्वीकार्न बाध्य भएको महुसस गर्नेछन् । अर्कोतिर यसैकारण राजनीतिक सहयोद्धा र सहयोगी पनि घट्दै जान्छ । जनसमुदायका सबै पक्षका हितको प्रतिनिधित्व गर्न नसक्ने अवस्थामा सङ्गठनप्रति अविश्वास र आपसमा आशङ्का जन्माउँछ । तर, प्रभुत्ववाद थोपर्न खोज्ने पदाधिकारीविरुद्ध लड्नुको अर्थ हाम्रो प्रस्तावको सान्दर्भिकता र हाम्रो योजनाको सत्यतालाई पुष्टि गर्ने हाम्रो लडाइँको विरोध भने होइन ।” (आइडिया फर द स्ट्रगल, पाम्पलेट, सोसियलिस्ट प्रोजेक्ट, टोरोन्टो, ओन्टारिओ, अगस्ट २०१०)
उहाँको प्रस्ताव थियोः “यदि हामी नामका मात्र नभई वास्तवमै क्रान्तिकारी बन्न चाहन्छौँ भने हामीले आफूले चाहेको जस्तो परिवर्तन ल्याउन सक्ने सामाजिक र राजनीतिक शक्ति निर्माणको काममा होमिनुपर्छ । यदि ओठे क्रान्तिकारीहरू वास्तवमै व्यवहारमा पनि क्रान्तिकारी भइदिए कति फलदायी हुने थियो ।” (मार्टा हार्नेकरसँगको अन्तर्वार्ता, क्रान्तिको प्रयोगशाला)
फेसबुकमा क्रान्तिकारी नाराबाजी गर्ने र अशिष्ट वक्तव्य तथा तर्क गर्ने काममा फेसबुके ‘क्रान्तिकारी’ व्यस्त छन् । उनीहरू वास्तवमै जनताको सङ्गठन र सङ्घर्ष निर्माणका आधारभूत काममा संलग्न हुने हो भने यो वाक्यबाट सिक्न सक्छन्, ‘सामाजिक र राजनीतिक शक्ति निर्माणको दैनिकीमा आफूलाई लगाऔँ ।’
ल्याटिन अमेरिकामा पुँजीवादको प्रतिरोधबारे मार्टा हार्नेकर लेख्नुहुन्छ, “हामी क्रान्तिकारी अग्रगतिको नयाँ चक्र आरम्भ गर्दैछौँ । हामीले नयाँ ऐतिहासिक निराशालाई घेर्ने आत्मगत पक्षको निर्माणलाई तीव्रता दिनुपर्छ । दुर्भाग्यवश, त्यस्ता केही देशहरूमात्र छन्, जहाँ वामपन्थभित्रका सामाजिक र राजनीतिक शक्तिले एकआपसमा मिलेर काम गर्छन् र आपसलाई बलियो बनाउँछन् । सामान्यतः अरू देशमा वामपन्थी आन्दोलनका नेताहरूमा घमण्ड र राजनीतिक महत्वाकाङ्क्षा हावी छ । उनीहरूले एकतामा नै बल भएको कुरा बुझेका छैनन् । आपसका मतभेदप्रति सम्मान व्यक्त गर्दै नै एकताको निर्माण हुन्छ । आज असम्भव भएका कुरा भोलिका दिनमा सम्भव बनाउन राजनीतिक र सामाजिक शक्ति निर्माण गर्नु नै राजनीतिमा कला हो भन्ने कुरा उनीहरूले बुझेका छैनन् । राजनीतिक शक्ति आर्जनको लागि हामीले सामाजिक शक्ति आर्जन गर्नुपर्छ ।”
‘हामी एउटा क्रान्तिकारी उपलब्धिको नयाँ चक्र आरम्भ गर्दैछौँ’, यो वाक्य निकै घतलाग्दो छ । तथापि वामपन्थी खेमाभित्रका केही चिन्तकहरू दक्षिणपन्थको उदयलाई मात्र देखिरहेका छन् । उनीहरू युग नै दक्षिणपन्थतिर मात्र झुकेको देख्छन् । नवउदारवादको ‘विजय’ मात्र देख्छन् । उनीहरू द्वन्द्ववादलाई उपेक्षा गर्छन्, विभिन्न देशहरूमा फैलिएको जनसङ्घर्षको लहर देख्दैनन् । साम्राज्यवादले व्यवहारमा भोगेका रणनीतिक असफलता देख्दैनन् । अहिलेको युगबारे साम्राज्यवादले गरेको अध्ययन गलत भएको उनीहरू स्वीकार्दैैनन् । साम्राज्यवाद ल्याटिन अमेरिकामा म्याद नाघेको औषधि बन्दै गएको विश्लेषण गर्ने सिद्धान्तकारहरू कमैमात्र छन् । त्यही उचाइमा क्रान्तिकारी भावनाका साथ मार्टा बाँच्नुभएको छ । डरछेरुवा चिन्तकहरूभन्दा पर मार्टा अमर हुनुहुन्छ ।
मार्टाले ६० भन्दा बढी पुस्तक लेख्नुभएको छ ।
तीमध्ये केही पुस्तक निम्नानुसार छन् ः
– ऐतिहासिक भौतिकवादका आधारभूत अवधारणा
– सियाटलपछि वामपन्थ
– निर्माणाधीन विश्व (मन्थ्ली रिभ्यु प्रेस, २०१५)
– सङ्घर्षका विचार
जनतासँग मार्टाको यात्रा अझै चालू छ किनभने ल्याटिन अमेरिकाका विभिन्न देशमा अझै पनि जनताको सङ्घर्ष चालू छ । क्रान्तिको बाटो, सशक्तिकरण र स्वतन्त्रताको बाटोलाई मार्टाकै कृतिले बाटो देखाइरहेका छन् ।
(फारुक चौधरी ढाकाका लेखक हुनुहुन्छ ।)
स्रोतः टेलिसुर
नेपाली अनुवादः नीरज

Leave a Reply

Your email address will not be published. Required fields are marked *