भर्खरै :

पत्रकारिता र शिक्षणको सेरोफेरो

नारायणमान बिजुक्छें (रोहित)
पत्रकारिता र लेखनमा झुकाउ
पञ्चायतकालमा शिक्षण पेशा स्वतन्त्र विचार राख्ने व्यक्तिहरूको निम्ति सुरक्षित पेशाको रूपमा लिइन्थ्यो । सबैजसो विद्यालयहरू सरकारी थिए र एक दुई विद्यालय आजको भाषामा निजी वा अर्धसरकारी थिए ।
यसकारण पत्रकारिता र लेखन पेशामा मैले आफूलाई समर्पित गर्ने विचार गरेँ । भक्तपुरमा त्यसबेला माध्यमिक विद्यालयहरूमा गोरखापत्र र हालखबरजस्ता एक – दुई वटा पत्रिका नियमित आउँथे । त्यसबेला सरकारी शिक्षकहरूसमेत पत्र–पत्रिकामा बिदा, राशीफल या हास्य–व्यङ्ग्यका पृष्ठहरू हेर्थे । एकाध शिक्षकहरू देश–विदेशका समाचार, सरकारी सूचनाहरू र चिट्ठीपत्र कोलुम हेर्थे । निजी विद्यालयहरूका युवा शिक्षकहरूमात्रै टिका – टिप्पणी र अन्य पत्रपत्रिका हेर्थे ।
गौर बस्दा पत्रपत्रिका हेर्ने बानी बसेको थियो । बौद्धिक विकास मण्डल (चोछेँको पुस्तकालय) र नासमनास्थित जनज्योति पुस्तकालयमा देशी र विदेशी दैनिक तथा अन्य पत्रपत्रिका हेर्ने दैनिकीले आफ्नो झुकाव र जनतालाई संसारका स्थितिको सूचना प्रवाह गर्ने तथा सचेत गराउन पत्रकारिताको ठूलो हात हुने सम्झेँ । त्यही समझदारीको कारण साप्ताहिक समीक्षाको फसिकिवा वा रञ्जना सिनेमा हलको दक्षिण पश्चिम कुनाको कार्यालयमा पुगेँ । तुलनात्मकरूपले मोटो चश्मा लगाएका सम्पादक मदन मणिजीले हप्ताको एउटा लेख बजारभाउबारे वा अन्य विषयमा दिन भन्नुभयो ।
त्यसबेला भक्तपुरमा किसान कार्यकर्ताहरूको मोहियानी हक जोगाउने, बाली बुझाएर भपाइ लिई किसानलाई दिलाउने अभियान, बाली–काट्ने आन्दोलन र भ्रष्टाचारविरोधी गतिविधिहरू निरन्तर चल्दै थिए । त्यस्ता समाचारहरू नयाँ साथीहरूमार्फत घण्टाघरनिरको मातृभूमि साप्ताहिकमा पठाउने गरेँ । रञ्जना सिनेमा हलकै पूर्वी लाममा ‘नयाँ समाज’ साप्ताहिकको कार्यालय थियो । पशुपतिदेव पाण्डे सम्पादक र बाल मुकुन्ददेव पाण्डे सह–सम्पादक थिए । तर, मलाई उहाँहरूको राजनैतिक पृष्ठभूमि थाहा थिएन र त्यस पत्रिकामा चीनका बारेमा लामा – लामा लेखहरू छापिन्थे । धेरैजसो चीनको कृषि, उद्योग, शिक्षा आदिबारे नेपाली अनुवाद छापिन्थ्यो । त्यसमा मैले पनि नेपाल – चीन मैत्री सम्बन्ध र साम्राज्यवादविरोधी लेख तथा समाचारहरू पठाउँथे । तर, कार्यालयमा कहिल्यै पशुपतिदेव पाण्डेसँग भेट भएन ।
मातृभूमि प्रेसमा म ‘भियतनाम परिचय’ शीर्षकको सानो पुस्तिका छपाउन गएको थिएँ । पुस्तिकामा स्वाभाविक हिसाबले भूमिकामा भियतनामी जनताको समर्थन र अमेरिकी आक्रमणको विरोध गरिएको थियो । भक्तपुरमा त्यसबेला गाईजात्रा, गठेमुङ्गल (गाठामोगचरे) जस्ता जात्रामा अमेरिकी राष्ट्रपतिहरूप्रति व्यङ्ग गरिएका प्रहसनहरू पनि देखाइन्थे र त्यस्ता कार्यक्रमहरू दबाउन प्रहरी गतिविधिहरू बढ्दै थियो । त्यही सिलसिलामा सहअञ्चलाधीश र त्यसबेलाका परराष्ट्र सचिवले मित्रराष्ट्र अमेरिकाको राष्ट्रपतिको नाम नै किटेर आलोचना गरिएको हुँदा पुस्तिका स्वीकृति नहुने भनी जफत गरे ।
झण्डै एक–दुई वर्षपछि २०२४ सालमा ‘चीन–भ्रमण’ छपाउन मातृभूमि प्रेस पुगेँ । पुस्तक तयार भयो, त्यो पुस्तक पनि स्वीकृत भएन र जफत गरी जलाइदिएको कुरा सुनेँ । काका मदनकृष्ण हाडाले तिमीले पत्रिका चलाउने हो भने प्रेस र कागज सरकारबाटै आउँछ, एउटा साप्ताहिक चलाउन भने । मलाई सरकारी सहयोगमा पत्रिका चलाउने इच्छा लागेन ।
त्यसैबेला भक्तपुरमा एकपछि अर्को किसान आन्दोलनले निरन्तरता पायो, म पनि भक्तपुर नगरको ८ वार्डबाट निर्वाचित सदस्य थिएँ । मेयर (प्रधान पञ्च) र साथीहरू कार्यालयमै पक्राउमा परे । साथीहरूको निर्णयले म भूमिगत भएँ । साथीहरू छुटेपछि म पुनः अध्ययनलाई चालू राख्न चाहन्थेँ । तर, एकजना छुट्थ्यो र दुईजना नयाँ साथी पक्राउ पर्थे । यो क्रमले निरन्तरता पायो र मेरो अध्ययन चालू राख्ने तथा पत्रकारिता वा लेखनी पेशाको सपना एक राजनैतिक कार्यकर्ताको रूपमा परिणत भयो ।
भूमिगतकालमा साथीहरूलाई राजनैतिकरूपले सचेत पार्न एक गेस्नर (लिथो मेशिन) को बन्दोबस्त गरी ‘लाल झन्डा’ नामको २–४ पृष्ठको पत्रिका प्रकाशन गर्न साथीहरूलाई उत्साहित गरेँ । विद्यार्थीहरूलाई ‘विद्यार्थी बुलेटिन’ प्रकाशन गराई ‘अखिल’ को ‘स्वतन्त्र विद्यार्थी युनियन’ बारेको दृष्टिकोणको सैद्धान्तिकरूपले खण्डन गराएँ । त्यसबेला अन्तर्राष्ट्रिय क्षेत्रमा रुसी र चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा सैद्धान्तिक सङ्घर्षपछि ‘विद्यार्थी फेडरेसन’ निष्क्रिय भयो र अमेरिकी समर्थनमा ‘फ्री वल्र्ड’ को शैलीले ‘फ्री स्टुडेन्ट युनियन’ (स्वतन्त्र विद्यार्थी युनियन) को सिलसिला सम्झाउँथ्यो । त्यसबेला पाटनबाट एक गुप्त पत्रिका ‘जनसङ्घर्ष’ लिथो गरी प्रकाशित हुन्थ्यो ।
भारत प्रवासको सुरुमा मैथली भाषामा एक प्रगतिशील बुलेटिन प्रकाशित गर्ने सोच थियो । तर, दरभङ्गा जिल्लाकै केही साहित्यकार साथीहरूसँगको सल्लाहमा ‘आधार’ भन्ने ८ पृष्ठको हिन्दी बुलेटिन सुरु गरियो । त्यसले भारतका केही क्षेत्र र नेपालको तराईमा परिवर्तनवादी दृष्टिकोणको प्रचारको काम ग¥यो । २–४ महिनामै भारतीय गुप्तचर विभागले नेपालको तराईबाटै थाहा पाई अग्नी पुष्प, डण्डवी रोड्को ठेगाना पत्ता लगाएर प्रेसलाई धम्की दियो र ‘आधार’ बुलेटिन बन्द भयो । अग्नी पुष्प पटनामा अर्काे पत्रिकामा पुगे ।
केही दिनपछि ‘समाचार–सन्देश’ हिन्दीमै प्रकाशित गरियो । विहारका नक्सलवादी हाम्रो दृष्टिकोण थाहा पाएर सम्पर्कमा आए । तिनीहरूसँग हाम्रो दृष्टिकोण मेल खाएन ।
तिनीहरू हामीलाई र तत्कालीन ‘झापा गुट’ लाई ‘समान दुरी’ मा राख्न चाहन्थे, हामीले एउटा देशमा एउटामात्र ‘कम्युनिस्ट’ पार्टी रहन्छ तर विदेशी हस्तक्षेप उपयुक्त नभएको बताएपछि त्यो कुरा अगाडि बढेन । त्यसै सिलसिलामा ‘समाचार – सन्देश’ पनि केही अङ्क छापिएपछि प्रेसले छाप्न मानेन, भारतीय मित्रहरू पनि पछि हटे ।
पाकिस्तानमा भुट्टोको हत्यापछि काठमाडाँैमा विद्यार्थी आन्दोलन अगाडि बढ्यो र दरभङ्गामा ‘धु्रवतारा’ भन्ने नयाँ हिन्दी बुलेटिन साथी अवधेशको सहयोगमा सुरु भयो । नेपालमा वामपन्थी आन्दोलन पनि अगाडि बढ्यो, जनमतसङ्ग्रहको घोषणा भयो, पञ्चायती सरकारले राजनैतिक व्यक्तिहरूको पक्राउ आदेश फिर्ता लियो र आममाफीको घोषणा भयो । ‘जनताको साहित्य’ ६ अङ्कसम्म भारतमै प्रकाशित भयो र हामी काठमाडाँै पुग्यौँ ।
काठमाडौँमा सबै कम्युनिस्ट भनिने दलहरूको पत्रिका प्रकाशित हुन्थ्यो तर नेमकिपालाई स्वीकृति दिइएन । त्यही विषयलाई लिएर एकजना साथीले राजाको सचिवसँग पक्षपात भएको व्यहोरा राख्दा उनले भनेछन्, “दिल्लीभन्दा पेकिङ धेरै टाढा छ ।” हामीले ‘आधार’ नामको एउटा साप्ताहिक बुलेटिन प्रकाशित ग¥यौँ, पाटनको एक प्रेसबाट । प्रेसवालाले भन्न सुरु ग¥यो, “खाली भेरी, कर्णालीको मात्र समाचार छापिन्छ, अञ्चलाधीश कार्यालयले हामीसँग सोधपुछ गर्दैछ ।” अनेक पटकको चेतावनीपछि ठीक एक वर्षमा ‘आधार’ बन्द भयो ।
बनेपाका साथीहरूको सहयोगले हामीले ‘साकार’ चलाउन सुरु ग¥यौँ । ठीक एक वर्षपछि नाम वालाले पत्रिका बन्द गर्ने जनाउ दियो । ‘साकार’ पनि बन्द भयो । २०५०÷५१ मा ‘साप्ताहिक श्रमिक’ ले दर्ता पायो र २६ वर्षदेखि लगातार प्रकाशित हुँदैछ । त्यस्तै ‘मजदुर’ दैनिक २०५५–५६ सालमा दर्ता भयो । २१ वर्षदेखि निरन्तर चालू छ । त्यसपछिका हाम्रा साथीहरूको पत्रकारिताका गतिविधिबारे सबै साथीहरू अवगत हुनुहुन्छ ।
शिक्षक हुँदा
२०१७–१८ सालमा म एक प्राथमिक विद्यालयमा शिक्षक भएँ । सानो विद्यालय २–४ जना शिक्षक र ४०–५० विद्यार्थी थिए । बहुमत विद्यार्थीहरू गरिब किसानहरूका छोराछोरी थिए । तिनीहरूको खुट्टामा चप्पल वा जुत्ता थिएन, टालेका लुगामा फेरि टालेर लाएका हुन्थे । हरेक शनिबार हात–खुट्टा सफा गर्ने वा नुहाएर आउनमा उत्साहित गर्थँे तर तिनीहरूसँग साबुन किन्न पैसा हुँदैनथ्यो र पढ्न टुकीको लागि मट्टितेल पनि पाउँदैनथे । केहीले टोलको लठ्ठाको बत्ती बलेन भनेर पाठ सुनाउन सक्दैनथे । तर, विद्यार्थीहरू सरल र पढ्नमा उत्साहित थिए । हरेक दिन पाठ सुनाउँथे । म तिनीहरूबाट त्यसबेला गरिब किसानहरूको जीवन पढ्दै थिएँ ।
२०१८–२० सालतिर म सरस्वती विद्यालयमा शिक्षक थिएँ । दश कक्षामा भूगोल, नागरिक शास्त्र र अङ्ग्रेजीको पहिलो भाग पढाउँथँे । राजनैतिक भूगोल पढाउँदा विद्यार्थीलाई बुझ्न सजिलो होस् भनी म इतिहासका केही जानकारी पनि दिन्थेँ । उत्तर अमेरिकी महादेश पढाउँदा प्राकृतिक भूगोलपछि कोलम्बसले के कसरी अमेरिका पत्ता लगायो, त्यसपछि कसरी युरोपेली उपनिवेशवादीहरूले त्यहाँका आदिवासीहरूका बस्तीहरू कब्जा गरे तथा आदिबासीहरूलाई दबाए आदि बताउँथेँ । सँगसँगै बेलायती उपनिवेशवादविरोधी स्वतन्त्रता आन्दोलन (१७७५–१७८३), बिना प्रतिनिधि कर नतिर्ने, कर लागेको चियाको बहिष्कार, कर उठाउने बेलायती समर्थक कर्मचारीहरूको जीउमा खोटो लगाई चराका प्वाँखहरू टाँसिदिन्थे र कसरी घण्टी बजाई गाडामा राखेर घुमाउँथे आदि जानकारी दिन्थेँ । अनि रातो पोशाकमा बेलायती सेना र स्वतन्त्रता सङ्ग्रामीहरूको लडाइँबारे स्वतन्त्रताको घोषणा (४ जुलाई १७७६) र संविधान निर्माणको छोटो इतिहास बताउँथेँ ।
अमेरिकी स्वतन्त्रता, संविधान घोषणा र नयाँ पुँजीवादी सरकारले लडाइँबाट पीडित किसानहरूलाई लगाएको करको बोझको विरोधमा क्रान्तिकारी सेनाको पूर्व क्याप्टेन डेनियल सेजको नेतृत्वमा झण्डै १५००० किसानहरूको सशस्त्र विद्रोह (१७८६), पुँजीवादको विकाससँगै अफ्रिकी दासहरूको बेचबिखन र शोषण, नाट टर्नर (Nat Turner) भन्ने एक सिपालु मजदुरको नेतृत्वमा सशस्त्र दास विद्रोह, सन् १८५४ देखि १८५६ सम्मको जोन ब्राउन (John BRown) को सशस्त्र विद्रोह र १८८६ मई १ को मजदुर सङ्घर्षसम्मको छोटकरीमा एउटा दुईटा कक्षा लिन्थेँ । (तर, त्यही बेला किसानहरूको रात्री कक्षाहरूसमेत सञ्चालन भएका थिए र ती रात्री कक्षाहरूमा पनि बेलायती क्रान्ति, अमेरिकी स्वतन्त्रता आन्दोलन, फ्रान्सेली राज्य क्रान्ति, रुसी अक्टोबर क्रान्ति र चीनको हुनान किसान आन्दोलकको समेत कक्षा सञ्चालन हुन्थ्यो ।)
नागरिक शास्त्रमा नागरिक भावनाबारे विद्यार्थीहरूलाई उदाहरणहरूबाट सम्झाइन्थ्यो । राजतन्त्र, संवैधानिक र निरङ्कुश, एकात्मक र सङ्घात्मक सरकारहरूबारे अध्ययन गराउँदा, बेलायत एवम् स्वीट्जरल्यान्ड, संरा अमेरिका, फ्रान्स, सोभियत सङ्घ र भारतको संविधान र सङ्घीय बन्दोबस्त छोटकरीमा पढाइन्थ्यो । विद्यालयस्तरको वर्तमान पाठ्यक्रममा नागरिक शास्त्र, भूगोल र इतिहास नहुँदा केन्द्र र प्रदेशका सांसदहरूमै अन्योल देखिन्छ । प्रजातन्त्रमा स्थानीय निकाय बलियो भएन भने प्रजातन्त्र बलियो नहुनेबारे पनि शासक दलहरू गम्भीर थिएनन् र छैनन् ।
अङ्ग्रेजीमा ‘छोरीलाई नेहरूको पत्र’ पुस्तकमा जातीय मुखिया कसरी राजा भएजस्ता विषय थियो भने ‘पाइपर्स एन्ड प्रोग्रेस’ पुस्तकमा ‘दासहरूको मुक्ति’, ‘केटाकेटीहरूका साथी’ जस्ता ज्ञानबद्र्धक विषयहरू पाठ्यक्रममा हुनु समय सुहाउँदो थियो । आजको पाठ्यक्रममा त्यस्ता विषय नहुनु शिक्षक र विद्यार्थीहरूका निम्ति खल्लो अनुभव हुनेछ ।
पछि प्रधानाध्यापकले मलाई कक्षा ९, कक्षा ८ गर्दागर्दै ३ कक्षाको जिम्मा पो दिए ! मैले भनेँ, “म इमानदारीपूर्वक एक शिक्षकको आफ्नो कर्तव्य पूरा गर्छु ।”
तीन कक्षामा झण्डै ५०–६० जनाको हाजिरकापीमा नाम थियो तर उपस्थिति ४० जनामात्रै थियो । सोध्दा बताइयो “अङ्ग्रेजी गा¥हो हुँदा सबै भागे ।”
कथा सुन्न सा¥है उत्सुक विद्यार्थीहरूलाई कक्षामा प्रवेश गर्दा र बाहिरिँदा एउटा–एउटा स–साना कथा बताउँथेँ । भियतनाम युद्धको समयमा स–साना भियतनामी विद्यार्थीहरूसमेत अमेरिकाविरोधी भावनाले आक्रोशित थिए । त्यस्ता कथा सुनाउँदा विद्यार्थीहरूले बेञ्च भरिए र उनीहरू झ्याल – झ्यालमा समेत बस्न थाले । बीचको समय म पाठ्यपुस्तकको विषय पढाउँथे ।
कथा सुन्ने रहरले विद्यार्थीहरूको हाजिरी राम्रो भयो, थोरै – थोरै पाठ दिएर तिनीहरूलाई कक्षामा उपस्थित हुन उत्साहित गर्थेँ । एवम्रितले ती विद्यार्थीहरू पढ्नमा सक्रिय भए ।
विद्यार्थी निकेतन र चासुखेलको चण्डेश्वरी नाउँको प्राथमिक विद्यालयमा पनि साथीहरू शिक्षण गर्थे । भक्तपुरमा पहिलोपटक भियतनामको समर्थन र अमेरिकी साम्राज्यवादविरोधी प्रदर्शनमा तिनै विद्यालयका शिक्षक र विद्यार्थीहरूको पनि राम्रो सहभागिता थियो । ती दिनहरूलाई म निःस्वार्थरूपले जनताको सेवा गर्ने अवसर सम्झन्छु ।
२०२१ –२२ सालमा म श्री पद्म हाइस्कूलबाट सानोठिमीमा सचिवालय विज्ञान (सेक्रेटरीयल साइन्स) को तालिममा गएँ । कृषि, व्यावसायिक, गृहविज्ञान, विज्ञान आदिमा अन्य शिक्षक साथीहरू थिए । अमेरिकी प्रोजेक्टको बहुउद्देश्यीय (मल्टी परपस्) शिक्षाको निम्ति पहिलो समूहको तालिम थियो । त्यसमा १४ अञ्चलमध्ये १३ अञ्चलका माध्यमिक विद्यालयका शिक्षकहरू थिए । त्यही तालिमको सिलसिलामा दाङका अन्य शिक्षकहरूमार्फत नारायण शर्मासँग परिचित भएँ । उहाँ दाङ जिल्ला कम्युनिस्ट पार्टीका सचिव हुनुहुन्थ्यो र २०१७ साल पुस १ गतेको घटनापछि पक्राउ पर्नुभएको थियो । केही महिनाअघिमात्रै उहाँ जेलबाट छुट्नुभई तालिममा पठाइनुभएको थियो ।
त्यसबेलाका प्रशिक्षकहरू संरा अमेरिका, इजरायल, फिलिपाइन्सबाट तालिम प्राप्त थिए । तालिममा आएका केही शिक्षकहरू पनि अमेरिका, इजरायल, फिलिपाइन्स वा अन्य अमेरिकी प्रभावका देशका शिक्षालयहरूबाट थप अध्ययनमा जान पाउने अवसरका आकाङ्क्षी थिए । प्रचार पनि झण्डै त्यस्तै थियो ।
टाइप गर्ने, क्यालकुलेटर चलाउने, गेसनर (लिथो मेशिन चलाउने), फाइलिङ्ग, प्रतिवेदन तयार गर्ने आदि विषयमा तालिम दिइन्थ्यो ।
केही महिनापछि पहिलो सेमेस्टरको परीक्षा भयो । परीक्षाफल निस्कँदा हामीभन्दा ज्येष्ठ केही शिक्षकहरू टाई नलगाएको, चप्पल लगाएर आएको, पोशाक नमिलेको, फूर्तिसाथ टाइपराइटर उचाल्न नसकेको, दा¥ही पालेको आदि कारण बताई परीक्षामा असफल भएको एक युवा प्रशिक्षकले सुनाए । उनको प्रस्तुतिले अधिकांश शिक्षकहरू असन्तुष्ट देखिए र नेपाली पहिरनलाई हेला गरेको, तालिम भत्ताले काठमाडौँ बस्न गा¥हो भएको, दा¥ही काट्ने ब्लेड किन्न पनि नपुग्ने भत्ता, आ–आफ्नो उमेरअनुसारको शरीरको स्फूर्ति हुने आदि तर्कपूर्ण प्रतिवाद शिक्षकहरूले गरे । एकजना ज्येष्ठ शिक्षकले सा¥है चित्त दुखाएर भने, “मैले पढाएका विद्यार्थी मन्त्री भए, म भने अयोग्य र असफल हुने ?”
अमेरिकी फूर्ती प्रदर्शन गर्ने त्यस युवा प्रशिक्षकको बोली र व्यवहारले शिक्षकहरूमा भित्रभित्र ठूलो असन्तोष फैलियो । शिक्षकहरूका बैठक भए । शिक्षा मन्त्रालय र विभागका सचिव र डाइरेक्टरहरू आउँदा शिक्षकहरू उठ्न नपर्ने तर अमेरिकी पर्यटकहरू आउँदासमेत शिक्षकहरूलाई पनि प्राथमिक स्कूलका विद्यार्थीहरूलाई जस्तै व्यवहार गर्दा सबै तालिमे चिढिए । यसै विषयलाई लिएर सबै विषयका तालिमेहरूको बैठक भयो । बैठक गर्न नदिन कक्षाकोठाहरू बन्द गरिए । पहेँलो ठूलो बसमा बैठक गरियो र शिक्षिकाहरूकै अगुवाईमा शिक्षामन्त्री शैलेन्द्रकुमार उपाध्यायकहाँ प्रतिनिधिमण्डल पुग्यो । मन्त्रीको व्यवहार सकारात्मक नहुँदा हडताल भयो । सम्भवत ः २०१७ सालपछिको त्यो नै पहिलो हडताल हुनुपर्छ । सम्बन्धित मन्त्रालय र विभागका हाकिमहरू आएर समस्या समाधान गर्न खोजे र राजनीति गर्ने हो भने सीमापारी रक्सौल जानुपर्ने धम्की दिए । तालिमेहरूले देशमा बसेर अमेरिकी राजनीति गर्ने होइन, अमेरिकामै जानुपर्ने बताए ।
भोलिपल्ट बिहान इन्स्पेक्टर आनन्द अमात्य आए र बैठकको निम्ति डीएसपी अफिस लगिएँ । पक्राउ पूर्जी दिएर त्यहाँबाट मलाई सिधै नख्खू जेल लगे । त्यसबेला संरा अमेरिकाले भियतनाममा आक्रमण गर्दै थियो । सानोठिमीका ती तालिम कक्षाहरू काठमाडौँ कन्या मन्दिर, भक्तपुर र सानोठिमी गरी फरक – फरक विषयको तालिम चलाए । ६ महिनापछि म जेलबाट छुटेँ र सानो ठिमी जाँदा मलाई कक्षा छुटेको बताइयो ।
घर आएको केही दिनपछि मलाई ठिमीको आदर्श विद्यालयमा भूगोल पढाउन सञ्चालक समितिले बोलायो । कक्षामा गएर विद्यार्थीहरूसँग पढ्ने विषय सोध्नासाथ भियतनाम पढ्न चाहे । सोअनुसार मैले हिन्द–चीन (भियतनाम, लावस र कम्बोडिया) को प्राकृतिक भूगोल पढाएँ । अनि बिस्तारै भियतनामको इतिहास र तत्कालीन अमेरिकी आक्रमण एवम् हो चि मिन्हबारे कक्षा लिएँ । केही दिनपछि अञ्चलाधीशले भूगोल पढाउने शिक्षक नहटाएमा विद्यालयको अनुमति खारेज हुने धम्की सञ्चालक समितिका अध्यक्ष र हेडमास्टरलाई दिएको थाहा पाएपछि मैले विद्यालय छोडेँ ।
२–३ वटा विद्यालयको अनुभवपछि घूस खानु नपर्ने पेशा लेखन पेशा भएको सम्झी–बुझी मैले पत्रकारिता र लेखक पेशा रोजेँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *