भर्खरै :

शिखर बैठकको प्रस्ताव प्रजग कोरियाद्वारा स्वागत

प्योङ्याङ, १४ असार (सिन्ह्वा) । प्रजग कोरियाका विदेश मामिलासम्बन्धी एक जना वरिष्ठ अधिकारीले फेरि शिखर बैठक गर्ने अमेरिकी प्रस्तावको स्वागत गरेका छन् ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको प्रस्तावलाई प्रजग कोरियाली प्रथम उपविदेशमन्त्री चोए सोन हुनीले शनिबार स्वागत गर्नुभएको हो ।
उहाँले अर्थपूर्ण र उपलब्धिमूलक हुने भए शिखर बैठक बस्न प्रजग कोरिया तयार रहेको बताउनुभयो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले शनिबार बिहान ट्वीट गर्दै दक्षिण कोरिया भ्रमणमा आएका बेला प्रजग कोरियाका नेता किम जोङ उनसँग भेटवार्ता गर्न चाहेको उल्लेख गरेको केही घण्टामै उत्तर कोरियाको यस्तो प्रतिक्रिया आएको हो ।
राष्ट्रपति ट्रम्प शनिबार बेलुका दुईदिने भ्रमणका लागि दक्षिण कोरियाको राजधानी सोल आउने अपेक्षा गरिएको अधिकारीले बताएका छन् ।
उहाँ जापानको ओसाकामा भइरहेको जी–२० शिखर सम्मेलनमा सहभागी भएर त्यतैबाट दक्षिण कोरिया आउन लाग्नुभएको हो ।
उहाँले आइतबार प्रजग कोरियासँगको सीमा क्षेत्रमा पर्ने विभिन्न ठाउँको भ्रमण गर्ने तय भइसकेको जनाइएको छ ।
दक्षिण कोरियाका प्रथम उपविदेशमन्त्री चोएले अमेरिकाको तर्फबाट वार्ताका लागि औपचारिक प्रस्ताव भने आइनसकेको स्पष्ट पार्नुभयो । गत वर्ष किम र ट्रम्पबीच दुई ओटा शिखर बैठक भएको थियो तर बैठकमा भएका सहमति कार्यान्वयन नभएपछि दुवै पक्षले एक अर्कालाई दोषारोपण गर्दै आपसी सम्बन्ध बिग्रिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *