भर्खरै :

पुस्तकमा कर ः ज्ञानमा महँगी

पुस्तक आयातमा दस प्रतिशत भन्सार लगाउने सरकारी निर्णयको पुस्तकप्रेमीहरूले विरोध गरिरहेका छन् । पुस्तकमाथि कर थोपर्नु ज्ञानमाथि रोक लगाउनु हो । यस्तो सरकारी प्रावधानले नेपाली समाजमा भर्खरै ताती गरेको पुस्तक संस्कृति हतोत्साहित हुनेछ । पुस्तक प्रकाशक र व्यवसायीले यसप्रकार पुस्तकमाथिको करलाई अन्तर्राष्ट्रिय प्रचलन र युनेस्कोको मान्यताविपरीत भएको भन्दै फिर्ता लिन सरकारसमक्ष माग गरेका छन् ।
पुस्तकका उपभोक्ता भनेका सामान्यतः कम आय भएका विद्यार्थी, शिक्षक, प्राध्यापक, अध्येताहरू नै हुन् । जेनतेन पैसा जोहो गरी उनीहरूले ज्ञान हासिल गर्ने हेतु पुस्तक किन्ने गर्छन् । सरकारले यसप्रकार पुस्तकमाथि करको चक्कु चलाउँदा सबभन्दा गम्भीर प्रभाव तिनै बौद्धिक तप्कामा पर्ने छ । सूचना प्रविधिले वास्तवमै संसारलाई सानो गाउँमा परिणत गरेको छ । भौगोलिक र भौतिकरूपमा निकै टाढाका देशहरू पनि आज सूचना प्रविधिकै कारण आँगनकै देश बनेका छन् । संसारमा उत्पादन हुने ज्ञान अब कुनै देश वा भूगोलमा मात्र सीमित हुनसक्दैन । यो संसारका सबै जनताको लागि त्यत्ति नै सर्वसुलभ हुनुपर्छ । ज्ञानको प्रसारको सबभन्दा सशक्त माध्यम अहिले पनि पुस्तक नै हो । पुस्तकमाथि भन्सार थोपर्दा अन्तर्राष्ट्रिय वृत्तमा हुर्केको ज्ञानमाथि निषेध गर्नु हो । तसर्थ विदेशी पुस्तक आयातमा सरकारले लगाएको कर ज्ञानमाथिको निषेधको सुरुआत हुनसक्छ ।
पुस्तक प्रकाशनको लागि भारत धाउने नेपाली पुस्तक प्रकाशकको अभ्यासलाई भने निरुत्साहित गर्न जरुरी छ । पुस्तकमा भन्सार नलाग्ने तर कागजमा भन्सार लाग्ने भएकाले नेपालका धेरै प्रमुख पुस्तक प्रकाशकहरूले आफ्ना प्रकाशन भारतीय छापाखानामा छाप्ने गरेका छन् । नेपालमा छपाइसम्बन्धी उच्च प्रविधि भएर पनि पुस्तक प्रकाशनको लागि विदेश धाउने परिपाटीलाई सरकारले निरुत्साहित गर्न जरुरी छ । नेपाली पुस्तकको प्रकाशन नेपाली छापाखानामै छाप्ने प्रावधान पनि समानरूपमा महत्वपूर्ण हो ।
पुस्तकमा करको विरोधको अर्थ नेपालका सबै पुस्तक भारतीय बजारमा छाप्न मार्गप्रशस्त गर्नु कदापि होइन । नेपालमा सम्भव भएर पनि नाफा वृद्धिको लागि भारतीय बजारमा पुस्तक छाप्न लालायित हुने र नाफाको लागि ज्ञानलाई औजार बनाउने व्यापारीलाई पनि करको दायरामा ल्याउन जरुरी छ । पुस्तक प्रकाशनको लागि उच्च प्रविधि नेपालमा निर्यात गर्न सरकारले प्रोत्साहन गर्नु आवश्यक छ । तर, नाफाको लागि विदेशमा नेपाली पुस्तक छपाउने अवस्थाको अन्त्य गर्न आवश्यक छ ।
त्यसको अर्थ पुस्तकमाथि भन्सारलाई जायज भने मान्न सकिन्न । पुस्तक अध्ययन संस्कृति र विश्वको ज्ञानसागरबाट नेपालीले पनि अँजुलीभरि ज्ञान उभाउन मिल्ने अवस्था सरकारले बनाउनुपर्छ । ज्ञानलाई महँगो बनाउने सरकार कहिल्यै पनि लोकतान्त्रिक सरकार हुनसक्दैन । ज्ञानलाई सर्वसुलभ गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *