भर्खरै :

जी २० सम्मेलनः मूल विषत्न्दा साइडलाइन बैठकको चर्चा

श्रवण सिंह
जापानको ओसाकामा जी २० मुलुकको शिखर सम्मेलन हालै सम्पन्न भयो । तर, सम्मेलन चालू रहँदा संसारको ध्यान भने जी २० तिरभन्दा त्यहीं भएका अन्य साइडलाइन बैठकमा बढी केन्द्रित देखियो । चीन र संरा अमेरिकाबीच चर्किंदो व्यापार युद्धका कारण ओसाकामा भएको डोनाल्ड ट्रम्प र सी चिनफिङबीचको साइडलाइन बैठक सबभन्दा चासोको विषय बन्यो ।
जापानको ओसाकामै ब्रिक्स देशहरू (ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका) का नेताहरूबीच ‘लघु–ब्रिक्स’ बैठक पनि भयो । साथै साइडलाइनमै जापान–संरा अमेरिका–भारतको बैठक बस्यो । गत वर्षदेखि यी तीन देशका सरकारप्रमुखबीच बैठक बस्ने परिपाटीको थालनी भएको थियो । भारतका प्रधानमन्त्री मोदीको प्रस्तावअनुसार रुस–भारत–चीन (रिक) को ‘लघु सम्मेलन’ पनि ओसाकामै बस्यो ।
‘रणनीतिक त्रिभुज’ मानिएको रिक देशहरूबीच सन् १९९९ बाट सहकार्यको थालनी भएको थियो । विश्वव्यापी कोणबाट हेर्दा रिकको ओसाका बैठक संरा अमेरिकी नेतृत्वको पश्चिमा मोर्चाका लागि ठूलै चासोको विषय बनेको छ । रिकको बैठकले दसकौँ पहिलेदेखि हुँदै आएको त्रिदेशीय विदेशमन्त्रीस्तरीय बैठकको उन्नत अवस्थाको सङ्केत गरेको छ । यीबाहेक पनि ओसाकामा अरु पनि महत्वपूर्ण दुईपक्षीय बैठक र कुराकानी भए । भिन्न–भिन्न महत्वका यी सबै बैठकमा संरा अमेरिकाले लगाएका आर्थिक नाकाबन्दी र भन्सार वृद्धिको विषय भने साझा बन्यो । संरा अमेरिकाको यो कदमले विश्वको अर्थतन्त्रलाई ओरालोतिर धकेलेको छ । संरा अमेरिकी राष्ट्रपति निर्वाचन नजिकिएसँगै यो अवस्था अझ भयावह बन्दै जाने खतरा पनि उत्तिकै छ ।
बहुरङ्गी द्वन्द्व र उथलपुथलको माझमा जी २० सम्मेलनको मूल मुद्दा भने छायामा परेको छ ।
पहिलो कुरा, बितेका दुई दसकमा जी ७ देशहरूले मन नमानी नमानिकन पनि एकपछि अर्को उदयीमान अर्थतन्त्रलाई आत्मसात गर्दै जानुपरेको छ । जी ७ बाट जी ८ अनि जी ८ प्लस ५ र अहिले जी २० ।
दोस्रो कुरा, सन् २००८ यता भएको विश्वव्यापी आर्थिक मन्दी र जी ७ देशबीच भएका पछिल्लो गहिरो फाटा (उदाहरणको लागि ब्रेक्सिट र संरा अमेरिकाको एक्लो बन्दै जाने नीति) का कारण पश्चिमा विश्व एसियाली देशहरूलाई तत्कालीन जी ७ सङ्गठनमा समावेश गर्न बाध्य भयो । विश्व व्यवस्थामा एसियाली देशहरूलाई अझ विस्तारित भूमिका दिन उनीहरू बाध्य छन् । चीनको नेतृत्वमा पछिल्लो समय भारत, रुस, जापान र दक्षिण कोरिया यस किसिमका एसियाली शक्ति बनेका छन् । तथापि यी देशहरूले पनि एउटा सामूहिक आवाज वा दृष्टिकोण बनाउन भने अझै बाँकी नै छ ।
तीव्रतर गतिमा बदलिँदो जी २० को परिस्थितिमा संरा अमेरिका र चीनबीच भएको व्यापार विवादले जन्मिन लागेको नयाँ व्यवस्थाको गर्भबाट निस्केको पहिलो चिच्याहट सुनिएको छ । ओसाका सम्मेलनले प्रमुखतः तीन वटा विषय उठान गरेको छः स्वतन्त्र व्यापार र विश्वव्यापीकरण, देशहरूबीच डाटाको खुला प्रसारणमा रोक हटाइने र जलवायु परिवर्तनका नकारात्मक प्रभाव कम गर्ने साझा अनुसन्धान विकास गर्नुका साथै विश्व व्यापार सङ्गठनमा सुधारबारे चालू बहसलाई प्राथमिकता दिने । यी मुद्दाहरूतिर धेरैको ध्यान गएको छैन ।
संरा अमेरिकाले चीनमाथि पेचिलो बनाउँदै लगेको व्यापार युद्धको संसारभर गम्भीर प्रभाव पारेको हुनाले ओसाका सम्मेलनले यसलाई रोक्ने विश्वको अपेक्षा छ ।
गत साल अर्जेन्टिनाको व्युनर्स आयर्समा भएको जी २० सम्मेलनको क्रममा ट्रम्प र सीबीच भएको साइडलाइन बैठकले ९० दिनको युद्धविराम घोषणा गरेको थियो । चिनियाँ सामानमाथि ५० अर्ब अमेरिकी डलर बराबरको थप भन्सार थोपरेर संरा अमेरिकाले नै यो विराम तोडेको थियो । गएको महिनामात्र संरा अमेरिकाले चिनियाँ वस्तुमाथि २ खर्ब बराबरको भन्सार थोपरेर व्यापार द्वन्द्व चर्काएको थियो । मे महिनामा चीन र संरा अमेरिकाबीचको एघारौँ व्यापार वार्ता असफल भयो किनभने वाशिङ्टनले बेइजिङले स्वीकार्न नसक्ने ठूलठूला बुँदा अघि सारेको थियो ।
आज संरा अमेरिकाको निशाना चीनमात्र होइन । कम बढी होला, तर जी २० का सबै देशहरू नै उसको निशानामा परेका छन् । सन् २०१७ मा जर्मनीको हमबर्गमा भएको जी २० को सम्मेलनदेखि नै जी २० मा धाँजा फाटेको थियो । त्यो सम्मेलनमा संरा अमेरिकी राष्ट्रपतिले पेरिस जलवायु सम्झौताबाट फिर्ता हुने घोषणा गरेका थिए । फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोंले आश्चर्य प्रकट गर्दैै भनेका थिए, “हाम्रो संसार यति विभाजित त कहिल्यै पनि भएको थिएन ।”
संरा अमेरिकाले लगातार अरू धेरै विश्वव्यापी मान्यता र संरचनालाई उपेक्षा गर्दै गएको छ । यो अवस्थामा जी २० मा आबद्ध अरु १९ देश एकजुट भई ‘क्षेत्रीय विस्तृत आर्थिक साझेदारी’ जस्ता अन्य संरचना बलियो बनाउनुपर्ने परिस्थिति तयार बन्दै छ । ‘क्षेत्रीय विस्तृत आर्थिक साझेदारी’ संरा अमेरिकाबाहेक अन्य ठूला व्यापारिक देशको प्रस्तावित मोर्चा हो । जी २० देशहरूका आपसी शक्ति र सीमितता बुझेर नयाँ परिस्थितिमा कसरी अघि बढ्ने हो, निक्र्योल गर्नुपर्दछ ।
(लेखक जवाहरलाल नेहरू विश्वविद्यालयका प्राध्यापक हुनुहुन्छ ।)
स्रोतः चाइना डेली
अनुवादः नीरज

Leave a Reply

Your email address will not be published. Required fields are marked *