भर्खरै :

धोका दिनेहरू समाजबाट तिरस्कृत हुन्छन्

– गोपाल नगरकोटी
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले गरिरहेको राजनीति पुँजीवादी राजनीति हो । पुँजीवादी व्यवस्थाभित्र रहेर सरकारको नेतृत्व गरिरहेको दलले पुँजीवादी राजनीति गर्नु स्वाभाविक हो । वर्तमान सरकार असफल हुँदैमा मुलुकको राष्ट्रियता र स्वाभिमान समाप्त हुन्छ भन्ने नेकपा अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्तिमा कुनै दम छैन । कुनै सरकार असफल हुँदैमा या सरकार छोड्दैमा कुनै देशको अस्तित्वमा खतरा पर्छ भन्ने होइन । नेपालमै धेरै दलले शासन गरे । सरकारको नेतृत्व गरे । देशको अस्तित्वमा धक्का पुग्ने काम कुनै दलले सरकार छोडेर या अर्को दलले सरकारको नेतृत्व गरेर हुने होइन । धक्का पु¥याउने र नपु¥याउने काम सरकारको नेतृत्व गरेको दल या अन्य दलको सिद्धान्त, विचार र दर्शनमा भरपर्छ । ती दल सरकारमा रहून् या नरहून् ।
कुनै दलको सरकारले जातीय नारा दिएर साम्प्रदायिक दङ्गा गरे, देश टुक्राउने पूर्वाधार तयार गरे, विदेशी नागरिकलाई नेपाली नागरिकता दिएर नेपालीभन्दा बढी विदेशी नागरिक नेपालमा भित्याउने नीति नियम लागू गरे, विदेशी शक्ति राष्ट्रको उठवसमा बसे या उनीहरूको इसारामा चले मुलुकको राष्ट्रियतामा आँच आउन सक्छ । नेपाल र नेपालीको हितभन्दा विदेश र विदेशीको स्वार्थमा लागे, कुनै एक देशको एकाधिकार पुँजीमा लागे, देशलाई जहिल्यै परनिर्भर बनाएर दल र व्यक्तिगत स्वार्थमा लागेर देश र जनता भुलेमा देशको राष्ट्रियता र स्वाभिमानमा असर पर्नसक्छ । पार्टी र सरकार सञ्चालनमा असफल हुँदा आफू (दाहाल) र ओली दुवैजना समाप्त हुने खतरा देख्ने नेकपाको सरकारले देश र जनताप्रति समर्पित भएर काम गर्ने चिन्ता किन गरेन ?
देश र जनतालाई धोका दिनेहरू समाजबाट तिरकृत हुन्छन् । दलगत र व्यक्तिगत स्वार्थमा भुलेर देशविरोधी र देशघाती काम गर्नेहरू समाजबाट टाढिन्छन्, धिक्कारिन्छन् । “सिद्वियौँ भने हामी दुवै एकैपटक सिद्विछौँ” भनेर अध्यक्ष दाहालले किन चिन्ता व्यक्त गरेका हुन् ? राजनीतिक वृत्तमा चर्चाको विषय बनेको छ । यो अभिव्यक्तिभित्र कतै दाहालले ओलीलाई होस् गर है भनी खबरदारी त गरेका होइनन् ? आफूलाई प्रधानमन्त्री नबनाए तिम्रो (ओली) को इज्जत र आस्था पनि बाँकी नरहने विचार त खनेका होइनन् ? नेकपाका अध्यक्ष द्वयले जीवनको सार पाउने हो, इज्जत र प्रतिष्ठा जोगाउने हो भने कम्युनिस्टको सिद्धान्त र विचारको पालना गर्नुपर्छ । सिद्धान्त र विचारलाई कार्यान्वयन गर्न सोहीअनुसार पार्टीको मात्र होइन सरकारको नीति तथा कार्यक्रम र बजेट बनाउनुपर्छ । सिद्धान्त र विचार एकातिर व्यवहार अर्कोतिर भएपछि जो कुनै दलका नेतालाई इतिहासले पनि माफी दिनेछैन । कम्युनिस्टको सिद्धान्त, विचार र आचरणअनुसार अघि बढेर देशमा आमूल परिवर्तनको पूर्वाधार तयार गर्नुपर्छ । त्यसैमा देश र जनताको कल्याण हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *