भर्खरै :

मार्कोपोलो र ‘रेशम मार्ग’

डी. आर.
इटालीका विभिन्न नगरहरूमा एक प्रमुख नगर भेनिस हो । यही भेनिस नगरमा सन् १२५४ मा महान् यात्री मार्कोपोलो ( Marco Polo) को जन्म भयो । महान् यात्रीहरूमा प्राचीन ‘रेशम मार्ग’ (Silk Road) हुँदै चीन पुग्ने पहिलो यात्री मार्कोपोलो नै थिए ।
ईशा जन्मनुभन्दा १३९ वर्ष पहिले चीनका सम्राट उ (Wu) ले एउटा यात्रा मण्डलीलाई पश्चिमी देशमा पठाएका थिए । यात्रा मण्डलीका नेता च्याङ छियान (Zhang Qian) थिए । च्याङ छियानले चीनको उत्तर पश्चिमबाट मध्य पश्चिम–एसिया हुँदै भूमध्यसागरको पूर्वी किनारसम्म पुग्ने थलमार्ग पत्ता लगाए । कालान्तरसम्म त्यही थलमार्गद्वारा चीनको व्यापार पश्चिमी देशहरूसँग चलिरह्यो । चीनबाट निर्यात हुने वस्तुहरूमा मुख्य रेशम नै थियो । तसर्थ त्यो थलमार्ग ‘रेशम मार्ग’ नामले प्रख्यात छ ।
मार्कोपोलोका पिता निकोलोपोलो र काका मतियोपोलो हिरामोतीको व्यापार गर्थे । पोलो परिवार खानदानी र सम्पन्न थियो । निकोलोपोलो र मतियोपोलोले धेरै दिन यात्रा र विदेशमा बिताइसकेका थिए । हिरा–मोती र अन्य सामानहरूको लागि तिनीहरू टाढा देशहरूमा पुग्थे । निकोलोपोलोले जोन र विलियमको यात्रा वर्णन पढेका थिए । यात्रा वर्णन पढेपछि उनी सुदूरपूर्वमा प्रस्थान गर्न उत्साहित भए । उनले चीन र मङ्गोलियासँग सम्बन्ध राख्नाले व्यापारको वृद्धि हुने कुरा सोचेका थिए ।
इजिप्ट (मिश्र), पर्सिया (इरान) र कृष्णसागरबाट गलैंचा, हात्तीको दन्त, सुगन्धित तेल, बा¥ह मसला, बहुमूल्य पत्थर आदि वस्तुहरू भेनिस हुँदै फ्रान्स र जर्मनीमा पु¥याइन्थ्यो । ती सामान जिब्राल्टर (स्पेन) को साँघुरो जलमार्ग तर्दै बेलायत र नेदरलान्डमा भित्याइन्थ्यो । थलमार्गद्वारा महँगो हुनाले धेरै सामान जलमार्गद्वारा पश्चिमी संसारमा पु¥याइन्थ्यो ।
त्यसबेला इटाली धनी र शक्तिशाली थियो । ईशु धर्म प्रचार गर्न इटालियन धर्म प्रचारकहरूले वरपरका देशहरूमाथि हमला गर्थे । धर्मको निम्ति लड्ने युद्धलाई क्रुसेड (Crusade) भनिन्छ । तिनीहरूले कब्जा भएको स्थानहरूमा बस्ने मानिसहरूलाई ईशु धर्म मान्न लगाउँथे । तिनीहरूले ठाउँ–ठाउँमा चर्च पनि निर्माण गर्न लगाउँथे । यसरी इटाली अन्य देशहरूमा शक्ति प्रयोग गरी ईशु धर्मको जग बसाल्न सफल भयो ।
भेनिस नगरसँग टक्कर लिनसक्ने एउटामात्र नगर कन्स्तान्तिनपोल थियो । आजभोलि कन्स्तान्तिनपोललाई ईस्तानबुल
(टर्की) भनिन्छ । इटालियन शासकहरूलाई कन्स्तान्तिनपोलको उन्नति सह्य थिएन । इटालीले त्यो नगरमाथि आक्रमण ग¥यो र कब्जा गरी छाड्यो । इटालियन फौजले त्यहाँ लुटपाट मच्चायो । इटालीको प्रमुख शासक ड्युकले कन्स्तान्तिनपोल भेनिसवासीहरूको निम्ति भनी घोषणा गरे ।
मार्कोपोलो जन्मेको केही दिनपछि निकोलोपोलो र मतियोपोलोले सुदूर पूर्व एसियातर्फ यात्रा सुरु गरे । पहिले तिनीहरू जहाजमा बसी आयड्रिटिक समुद्र छिचोल्दै कन्स्तान्तिनपोलको साँघुरो जलमार्ग हुँदै कृष्णसागरमा (Black Sea) पसे । त्यसपछि तिनीहरू कृष्णसागर पार गरी तारतसको राजधानी पुग्न थल यात्राको तयारीमा लागे । त्यहाँबाट तिनीहरू घोडा चढेर अघि बढे । बोखारा (Bokhara) चीन पुग्ने बाटोमा पथ्र्यो । पर्सिया र पेकिङ्गका राजदूतहरू बोखारा हुँदै आउने जाने गर्थे । निकोलोपोलो पर्सियाबाट आइरहेको कुनै राजदूतसँग चीनको राजधानी पेकिङ्ग पुग्न चाहेका थिए । तिनीहरूले तीन वर्षसम्म बोखारामा कुनै राजदूतको बाटो कुरेर बसे । एकदिन पर्सियाबाट चीन पुग्ने दूत आइपुगे । निकोलोपोलोले दूतसँग भेटी चीनका सम्राट कुब्लाई खाँसँग भेट्ने इच्छा व्यक्त गरे । दूत तिनीहरूलाई आफ्नो साथमा लान राजी भए । निकै कष्टपूर्ण यात्रापश्चात् तिनीहरू सम्राटको दरबारमा पुगे । दरबारमा तिनीहरूको निकै सम्मानका साथ न्यानो स्वागत गरियो । सम्राट कुब्लाई खाँले भव्य भोजको आयोजना गरे । सम्राटले पश्चिमी संसारका गोराहरूलाई देखेको पहिलो अवसर यो नै थियो । उनले ती दुई अतिथिसँग पश्चिमबाट पूर्व आउने बाटो र इटालीबारे धेरै प्रश्नहरू गरे र सम्राटले निकै ध्यानपूर्वक तिनीहरूको कुरा सुने । उनी तिनीहरूदेखि निकै खुसी र प्रभावित भए । उनले ती दुई दाजुभाइलाई इटालीका पोपसमक्ष चिनियाँ जनतामा ईशु धर्म प्रचार गर्न दुई सय जवान असल र बुद्धिमानी धर्म प्रचारकहरू पठाइदिने सन्देश पु¥याइदिन आग्रह गरे । कुब्लाई खाँ सबै धर्मलाई सम्मान गर्थे । उनको दरबारमा ठूलठूला धर्माधिकारी थिए । निकोलोपोलो र मतियोपोलोले पेकिङ्गमा बडो उत्सुकतापूर्वक दिनहरू बिताए । त्यसपछि तिनीहरू सम्राटको सन्देश लिएर पश्चिमतिर बढे । तिनीहरू डाँडा–काँडा, विशाल मरुभूमि, जङ्गल, नदीनाला, हिमाल, मैदान पार गर्दै घनघोर पानी, भयङ्कर हुरी, ठूल–ठूला आँधी आदि सहँदै अनेकौं शारीरिक यातना र आपतविपतलाई पन्छाउँदै तीन वर्षभन्दा बढी दिन बिताएर भेनिस पुगे । भेनिसका कति मान्छेहरूले १५ वर्षपछि फर्केका निकोलोपोलो र मतियोपोलोलाई चिन्नै सकेनन् । पछि छरछिमेकी र इष्टमित्रहरूले तिनीहरूको आश्चर्य र विस्मयकारी घटना र कुराहरूले भरिएको यात्रा वर्णन सुनेर धेरै दिन बिताए ।
निकोलोपोलोले पोपलाई सम्राट कुब्लाई खाँको सन्देश सुनाए । पोप चीनमा धर्म प्रचारकहरू पठाउन सहमत भए । तिनीहरू चीनबाट फर्केर भेनिसमा दुई वर्ष बिताएपछि पुनः सुदूरपूर्व यात्राको तयारीमा लागे । १७ वर्षका युवक मार्कोपोलो पनि यात्रामा जाने भयो ।
धर्म प्रचारकहरू लामो यात्रामा आइपर्ने सङ्कट र भोग्नुपर्ने कष्ट सुनेर डराए । मात्र साहसी पोलो परिवार र दुईजना धर्म प्रचारकले यात्रा सुरु गरे । तिनीहरू सिरिया हुँदै अलफुरात नदी तरे । त्यसपछि तिनीहरूले पर्सियाको विशाल उच्च समस्थली पार गरे । मार्कोपोलो बाटामा देखेका प्राकृतिक सौन्दर्य आदिको टिपोट गर्दै जान्थे । तिनीहरूले मध्य एसियाको आँखाले नभेटिने मरुभूमि नाघे । फेरि पामीरको उच्च पठार नाघ्दै तिनीहरूले तिब्बतको हिउँले ढाकिएको मैदान कुल्चन्दै चीनको काशगर, तुनहाङ आदि स्थलहरू हुँदै निकै कष्टपूर्वक ४ वर्षपछि सन् १२७५ मा शाङतु पुगे । शाङतु खाँ राजवंशको गृष्मकालीन राजधानी थियो ।
øवान राजवंशका प्रथम सम्राट कुब्लाई खाँले पोलो परिवारलाई हार्दिक स्वागत गरे । सम्राट युवक मार्कोपोलोको तेजिलो अनुहार, शील स्वभाव, बोलचाल र प्रतिभादेखि निकै प्रभावित भए । सम्राटले उनमा परिश्रम गर्ने ठूलो जागर र धेरै सिक्ने, बुझ्ने तत्परता देखे । मार्कोपोलोले छिट्टै नै मङ्गोल र हान जातिको रीतिस्थिति, सम्बन्ध, भाषा, कूटनीति धेरै विषयमा जानकारी हासिल गरे । सम्राटले उनको तीक्ष्ण बुद्धि देखेर उनलाई आफ्नो सल्लाहकार एवम् सहयोगी पदमा नियुक्त गरे । सम्राटले उनलाई चीनका विभिन्न प्रान्तहरूमा जाँचबुझ गर्न पठाए । उनले आफू पुगेका प्रान्तहरूको भौगोलिक स्थिति र त्यहाँका बासिन्दाहरूको एक एक कुरा बुझ्थे र सम्राटलाई बताउँथे ।
मार्कोपोलोले चीनको हाङचाउ नगर भेनिसभन्दा कता–कता धेरै भव्य र सुन्दर भएको देखे । उनले त्यहाँ एकसे एक अति उत्कृष्ट कलाले भरिपूर्ण दरबार र मन्दिरहरू देखे ।
हाङचाउ नगरलाई घेरिएको पर्खालको लम्बाइ एक सय माइल लामो थियो । यस नगरको मुख्य (मूल) सडकको चौडाइ दुई सय फिट फराकिलो थियो । शिशिर दरबार र गृष्म दरबार विशेषरूपले अरु दरबारभन्दा भव्य र कलात्मक थिए ।
हाङचाउ नगरस्थित हाङचाउ बन्दरगाहमा बडेमाका चिनियाँ जहाजहरू प्रशस्त सामान बोकेर अड्थे । भेनिसको जहाजभन्दा चिनियाँ जहाजहरू धेरै गुणा ठूला थिए । ती जहाजहरूको पिँध धेरै सामान लाद्न हुने गरी निकै फराकिलो गरी बनाइएको हुन्थ्यो ।
त्यसबेला चीन सामुद्रिक व्यापारमा निकै अघि बढेको थियो । विदेशबाट चीनमा मरीच, जाइफल, चन्दनको काठ, आवनुसको काठ (एक किसिमको कालो रङ्गको काठ) आदि थरीथरीका सामानहरू ल्याइन्थ्यो । फेरि चिनियाँ व्यापारीहरूले ती सामानहरू अरबका महाजनहरूलाई बेच्थे । अरबका महाजनहरूले ती सामान भेनिसमा लग्थे । भेनिसबाट ती सामान अन्य पश्चिमी देशहरूमा पुग्थ्यो ।
सम्राटले मार्कोपोलोलाई बेलाबखतमा ठूलठूला सभामा बोलाउँथे । सम्राटले उनलाई कूटनीतिक सम्बन्ध बलियो पार्न बर्मा, भियतनाम, जाभा, सुमात्रा र भारतमा पनि पठाए । उनी समुद्रको प्राचीन ‘रेशम मार्ग’ हुँदै ती देशहरूमा पुगेका थिए । उनले त्यहाँको सामाजिक, राजनैतिक र भौगोलिक स्थितिको यथार्थ कुरा सम्राटका सामु प्रस्तुत गर्थे ।
ईशा पूर्व २२१ देखि २०७ सम्ममा छिङ र हान राजवंशको शासनकालमा चीनको दक्षिणी समुद्रबाट दक्षिणीतर्फ बढ्दै जाभा र सुमात्राबीचको साँघुरो जलमार्ग हुँदै हिन्द महासागरमा पुगी त्यहाँबाट उत्तरतिर बढ्दै पर्सियाको खाडीसम्म पुग्ने समुद्री बाटो खोलियो ।
सन् ९६० देखि १२७९ सम्मको सुङ राजवंश र १२७१ देखि १३६८ सम्मको युआन राजवंशको पालामा यही समुद्री मार्गबाट अन्य देशहरूसँग व्यापार खुब चलेको थियो ।
चीनबाट मुख्यतया रेशम र चिनियाँ माटोमा भाँडाकुँडाहरू अन्य देशमा निर्यात गरिने हुनाले यो समुद्री मार्गलाई पनि ‘रेशम मार्ग’ भनिन्थ्यो ।
मार्कोपोलोले कुब्लाई खाँको सहयोग र सेवामा चीनमा धेरै वर्ष बिताए । सन् १२८६ मा पर्सियाबाट थलमार्ग हुँदै दूतहरू कुब्लाई खाँको दरबारमा आइपुगे । तिनीहरूले सम्राटसँग चिनियाँ राजकुमारी कोकाचिनको विवाह पर्सियाका नरेशसँग सु–सम्पन्न गर्ने कुरा चलाए । सम्राट राजकुमारीको विवाह गरिदिन राजी भए । उता चीन र पर्सियाको सिमानासँग जोडिएका राज्यहरूबीच लडाइँ सुरु भयो । तसर्थ पैदल यात्रा गरी पर्सिया पुग्नु खतरा थियो । पर्सियाली दूतहरूले समुद्रको प्राचीन ‘रेशम मार्ग’ हुँदै पर्सिया पुग्ने निधो गरे । तिनीहरूले मार्कोपोलो, उनका पिता र काकासँग मद्दत मागे । सम्राटलाई पोलो परिवार स्वदेश पठाउन करै लाग्यो । राजकुमारीलाई सुरक्षापूर्वक पर्सियामा पु¥याउनु थियो ।
ठूलठूला मस्तुलधारी १६ वटा जहाजहरूको बन्दोबस्त भयो । त्यस्तै रसद–पानी, जहाज खियाउने माझी, फौज, वैद्य आदि सबै कुरा पूर्णरूपमा तयार भयो । सम्राट कुब्लाई खाँले १७ वर्षको अमूल्य सहयोग र सेवाको बदलामा मार्कोपोलोलाई मनग्य सुन–चाँदी, लालमणि, नीलमणि, माणिक्य, हिरा, ज्वाहारपन्नाजस्ता अमूल्य वस्तुहरू उपहार दिए । यीबाहेक मार्कोपोलोले कस्तुरी मृगका टाउका, नीर रुखका बीउ, याकको रेशमी रौं, तीनतिर धार भएका तरवारहरू र अन्य सामानहरू पनि आफ्नो साथमा राखेका थिए । मार्कोपोलोेले सम्राटले दिएका बहुमूल्य सौगातहरू लामा–लामा कोटहरूमा घुसारेर सिउन लगाए ।
सबै कुराको तारताम्य मिलेपछि सन् १२९२ को वसन्तमा पोलो परिवार राजकुमारी कोकाचीन, पर्सियाली दूतहरूसहित ६०० जनाको समूह फुचेन प्रान्तको छ्वेनचओ बन्दरगाहबाट यात्रा शुभारम्भ गरे ।
मार्कोपोलोको नेतृत्वमा तिनीहरू आँधीबेहरीसँग जुझ्दै, ठाउँ–ठाउँमा जहाज रोक्दै दुई वर्षपछि पर्सिया पुगे । यो कठीन, लामो र साहसिलो यात्रामा पोलो परिवार, राजकुमारी, तीनजना पर्सियाली दूतहरू र अरु केहीबाहेक धेरैले ज्यान गुमाए । त्यसपछि तिनीहरू त्यहाँबाट हिँडेर भेनिसतिर लागे । २४ वर्षपछि भेनिसमा लामा–लामा कोट लगाएका मार्कोपोलो, उनका पिता र काकालाई कसैले चिन्न सकेनन् । मार्कोपोलोले चीनबाट ल्याएका धेरैजसो सामानहरू भेनिसको नगरपितालाई दिए । त्यसबेला भेनिसको नगरपितालाई डज (Doge) भनिन्थ्यो । डज चुनावबाट चुनिन्थे ।
मार्कोपोलो भेनिस पुगेको तीन वर्षपछि सन् १२९८ मा भेनिस र जेनोआ (Genoa) बीच घमासान लडाइँ भयो । भेनिसको नराम्रोसित हार भयो । जेनोआको फौजले भेनिसको ६८ वटा जहाजहरूमा आगो लगाइदिए । तीन हजार भेनिसवासीहरू पक्रिएर जेलमा थुनिए । त्यसमा मार्कोपोलो पनि परेका थिए । जेलमा उनको रुस्तिकेलो दे पिशा नाम गरेका एक साहित्यकारसँग चिनापर्ची भयो । त्यहाँ मार्कोपोलोले पूर्वी देशको यात्रामा भोगेका तीता–मीठा कुरा, अमूल्य अनुभव सुनाएर दिन बिताए । रुस्तिकेलो दे पिशाले मार्कोपोलोको यात्रा वर्णनलाई व्यवस्थितरूपले पुस्तकको रूपमा फ्रान्सेली भाषामा लेख्दै गए । चार वर्षपछि सन् १३०२ मा मार्कोपोलो र अरुहरू जेलबाट छुटे । रुस्तिकेलो दे पिशाले किताबलाई ‘मार्कोपोलोको यात्रा’ नाम दिई प्रकाशित गरे । तुरुन्तै संसारभर त्यो किताबले ख्याति पायो ।
त्यसै पुस्तकमा सबैभन्दा पहिले मार्कोपोलोले नै जापानको सुनौला छाना, बर्माको टल्कने पागोडा, सुमात्रा र जाभाबारे बयान गरेका थिए । उनले त्यस पुस्तकमा साइवेरियाको हिउँ नै हिउँले ढाकिएको मैदान र आर्टिक सागरबारे पनि चर्चा गरेका थिए । चीनको भूगोल, इतिहास र चिनियाँहरूको रीतिथिति, भेषभूषा इत्यादिको विस्तृतरूपमा लेखिएको पहिलो पुस्तक पनि यो नै थियो । पुस्तकको आधाभन्दा बढी भाग चीनकै विषयले ओगटेको थियो । यीबाहेक यो किताब रोचक र उत्तेजित घटनाले भरिएको थियो ।
जेलबाट छुटेर मार्कोपोलो घर पुग्दा आफ्नो पिताको मृत्यु भइसकेको थियो । केही दिनपछि उनको विवाह भयो । उनले भेनिसमा मृत्युपर्यन्तसम्म निकै सम्मानित जीवन बिताए । सन् १३२४ मा सत्तरी वर्षरी उमेरमा महान यात्री मार्कोपोलोले अन्तिम सास फेरे ।
आजसम्म पनि ‘मार्कोपोलोको यात्रा’ संसारमा सबैभन्दा बढी बिक्ने पुस्तकहरूमध्ये एउटा भएको छ । यो पुस्तक एक सत्न्दा बढी भाषामा अनुवाद भइसकेको छ । सन् १९३५ मा चिनियाँ अनुवादक फङछङ च्युनले यो पुस्तकलाई चिनियाँ भाषामा अनुवाद गरेका थिए ।
भनिन्छ, मार्कोपोलोको यात्रा वर्णनबाट प्रभावित भई स्पेनियालीहरूले भूमण्डलबारे पुरानो धार्मिक धारणालाई त्यागेका थिए रे ! फलस्वरूप तिनीहरूले संसारको एउटा वैज्ञानिक, अति महत्वपूर्ण नयाँ मानचित्र तयार पारेका थिए । कोलम्बसजस्ता महान् यात्रीहरूले त्यो पुस्तकबाट ठूलो प्रेरणा र शिक्षा पाएका थिए ।
स्रोत ः हाम्रो प्रयास

Leave a Reply

Your email address will not be published. Required fields are marked *