भर्खरै :

केसीएनएको विश्लेषण : ट्रम्प प्रजग कोरिया प्रवेश गर्नु ‘अभूतपूर्व र ऐतिहासिक’ घटना

प्योङ्गयाङ्ग । संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व योजनाविना गरेको उत्तर कोरियाको भ्रमण गर्नु ‘अभूतपूर्व घटना’ रहेको प्रजग कोरियाको सरकारी सञ्चारमाध्यमले उल्लेख गरेको छ ।
जापानमा भएको जी–ट्वेन्टी सम्मेलन सकेर दक्षिण कोरिया पुगेका अमेरिकी राष्ट्रपति ट्रम्प आइतबार दिउँसो किमसँगको भेटका लागि दुई कोरियाको सीमा क्षेत्रमा रहेको डीएमजेड जोन पुगेका थिए । उनले दक्षिण कोरियाको सीमा नाघेर प्रजग कोरियामा प्रवेश गरी किम जोङ–उनसँग हात मिलाएका थिए ।
त्यसपछि उनीहरू डीएमजेडमा रहेको पानमुनजोममा फर्केर केहीबेर छलफल गरेका थिए । उत्तर कोरियामा प्रवेश गर्ने ट्रम्प अमेरिकाको पहिलो बहालवाला राष्ट्रपति हुन् ।
ट्रम्पले जापानमै रहेका बेला ट्वीट गरेर किमलाई भेटका लागि आग्रह गरेका थिए । ट्रम्पको आग्रह किमले स्वीकार गरेपछि आइतबार दिउँसो दक्षिण कोरियाका राष्ट्रपति मुन जाय–इनको उपस्थितिमा किम र ट्रम्पबीच भेट भएको हो । भेटबारे प्रजग कोरियाको सरकारी समाचार संस्था केसीएनएले सोमबार विस्तृत कभरेज गरेको छ । ट्रम्पको पहलमा भएको भेट ऐतिहासिक रहेको केसीएनएले उल्लेख गरेको छ ।
६६ वर्षअघि दुई कोरियाबीचको युद्ध अन्त्य गर्नका लागि भएको सम्झौतापछिको यो अर्को ऐतिहासिक घटना रहेको उल्लेख छ । विभाजनको प्रतीकका रूपमा लिइने पानमुजोममा त्रिदेशीय भेट हुनु अभूतपूर्व घटना रहेको केसीएनएले जनाएको छ ।
ट्रम्प र किमबीच भविष्यमा सम्पर्कमा रहिरहने सहमति भएको उल्लेख छ । यस्तै वार्तालाई पुनः स्थापित गर्दै सामूहिक हितका लागि काम गर्ने पक्षमा दुवै नेता रहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *