भर्खरै :

व्यापार वार्ताका लागि अमेरिकी कर वृद्धि हट्नुपर्ने

बेइजिङ, १९ असार (रासस/एएफपी) : व्यापार विवाद अन्त्य गरी दुवै पक्षबीच सम्झौताका लागि चीनमाथि अमेरिकाले गरेको करवृद्धिको निर्णय हट्नुपर्ने चिनियाँ बाणिज्य मन्त्रालयले बिहीबार जनाएको छ ।
चिनियाँ बाणिज्य मन्त्रालयका प्रवक्ता काउ फङले भन्नुभयो, “अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनपिङले गत हप्ता जापानको ओसाकामा भएको जी–ट्वन्टी समूह राष्ट्रहरूको सम्मेलनका अवसरमा व्यापार वार्ताका लागि सहमति भएअनुसार विश्वका दुई ठूला अर्थतन्त्रको व्यापार समूहहरूले पुनः सम्वादका लागि सम्पर्क कायम गरेका छन् ।”
चीन–अमेरिका आर्थिक तथा व्यापारिक तनावको थालनी भएको विन्दु संयुक्त राज्य अमेरिकाको चिनियाँँ सामान आयातमाथि एकतर्फी कर वृद्धि रहेको काउले साप्ताहिक पत्रकार भेटघाटमा बताउनुभयो ।
काउले भन्नुभयो, “दुई पक्ष सहमतिमा पुग्नका लागि आयातमा गरिएको कर वृद्धि पूर्णरूपमा हटाइनुपर्छ । यस सम्बन्धमा चीनको धारणा स्पष्ट छ ।”
चीन र अमेरिकाबीच तीन अर्ब ६० करोड अमेरिकी डलर बराबरको करवृद्धिको घोषणा गरेका छन् । गत बर्षदेखि शुरू भएको व्यापार वार्ताबाट कुनै सम्झौता गर्न सफल नभएपछि वार्ता टोलीले गत मे महिनाबाट सहमतिको प्रयास स्थगित भएको जनाएको थियो ।
तर गत हप्ता जापानको ओसाकामा सम्पनन जी–ट्वन्टी सम्मेलनका अवसरमा दुई देशका राष्ट्रपतिबीच भएको वार्तापछि व्यापार वार्तालाई व्युँताउने सहमति भएको थियो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले चीनबाट आयात हुने सामानमा नयाँ कर वृद्धि नगर्ने र प्रसिद्ध चिनियाँ टेलिकम कम्पनी हुवावेविरूद्धको अमेरिकी अडानलाई नरम गर्न सुझाब दिनुभएको थियो । हुवावेलाई अमेरिकी ट्रम्प प्रशासनले कालो सूचीमा राखेको थियो ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *