भर्खरै :

पुँजीवादी अर्थशास्त्र जे. एम. किन्स

योगेन्द्र प्रधानाङ्ग
जे.एम.किन्स (John Maynard Keynes) बीसौँ शताब्दीको पुँजीवादी जगतका महानतम एवम् सर्वाधिक प्रभावशाली अर्थशास्त्री थिए । पुँजीवादी जगतमा किन्सलाई अर्थशास्त्रका जन्मदाता एड्म स्मिथ र महान समाजवादी विचारक कार्ल माक्र्सको श्रेणीमा राखिएको छ । उनको रोजगार, व्याज एवम् द्रव्यका ‘सामान्य सिद्धान्त’ नामको महान् कृतिले एड्म स्मिथको सुविख्यात कृति ‘वेल्थ अफ नेसन’, कार्ल माक्र्सको ‘दास क्यापिटल’ र डार्बिनको ‘ओरिजन अफ स्पेशिज’ ले जत्तिकै सम्मान प्राप्त गरेको छ । पुँजीवादी जगतमा निरन्तर उच्च सम्मान प्राप्त गरेकोले ‘सामान्य सिद्धान्त’ लाई अर्थशास्त्रको बाइबल भनिन्छ । किनकि यसमा उनको मौलिक एवम् नवीन गुण पाइन्छ । यसकारण किन्सको रोजगार सिद्धान्तलाई प्रायः नवीन सिद्धान्तको संज्ञा दिइएको छ । कोही अर्थशास्त्रीहरू केन्सियन अर्थशास्त्रबाट प्रभावित भएर बडो श्रद्धाले केन्सियन क्रान्ति भनेर सम्बोधन गर्छन् । पुँजीवादी जगतमा किन्सको योगदान एक महत्वपूर्ण मार्गप्रदर्शकको रूपमा रहेको छ । पुँजीवादी जगतमा उनले अर्थशास्त्र चिन्तनको इतिहासमा यस्तो अमिट पदचिह्न छोेडेर गएका छन्, जसको प्रेरणाबाट भावी पुँजीवादी अर्थशास्त्रीका पिँढीले मार्गदर्शन, आश्रय र प्रोत्साहन पाएका छन् ।
उनी पुँजीवादलाई बचाउन चाहन्थे । उनी पुँजीवादका विभिन्न अङ्गजस्तो स्वतन्त्र छनौट, नाफा खाने उद्देश्य र मूल्य प्रक्रिया (Price Mechanism) लाई पहिले जुन हालतमा थियो त्यही हालतमा राख्न चाहन्थे । उनी पुँजीवादलाई केवल सुधार र केही नयाँ शक्ति थप्नमात्र चाहन्थे । ताकि साम्यवादको चुनौतीसँग पूर्णढङ्गले सामना गर्न सकोस् । निर्वाध पुँजीवादमा पूर्ण रोजगार कदापि नरहने र वर्तमान अवस्थामा जस्तै पुँजीवाद विशुद्धरूपमा अधिक समयसम्म टिक्न नसक्ने भए पनि उनले पुँजीवादलाई दीघार्यु बनाउन निकै कोसिस गरे । यसबाट नै उनले पुँजीवादको रक्षकको रूपमा श्रेय पाए । आज पुँजीवादी अर्थशास्त्री हारोड, लर्नर, हैन्सन र जोन रविन्सन आदि प्रमुख अर्थशास्त्रीहरू ‘सामान्य सिद्धान्त’ को वर्णित केन्सियन प्रणालीलाई विस्तृत सुधार, सोधनकार्य, सुस्पष्ट एवम् गतिवान बनाउनुमा मात्र लागेका थिए । उनका कृतिहरूमध्ये सबभन्दा सर्वोत्तम कृति ‘सामान्य सिद्धान्त’ हो ।
जोन मायनार्ड किन्सको जन्म ५ जून १८८३ मा भएको थियो । उनका पिता नेभिल किन्स एक प्रसिद्ध अर्थशास्त्री तथा क्याम्ब्रिज विश्वविद्यालयका रजिष्ट्रार थिए । उनको शिक्षादीक्षा इटन (Eton) र क्याम्ब्रिजमा भएको थियो । उनी क्याम्ब्रिजको एक विशिष्ट क्लवका सदस्य बने । यस क्लवलाई सोसाइटी भनिन्थ्यो । यस सोसाइटीमा उनको परिचय उच्च लेखक, आलोचक र कलाकारहरूसँग भयो । यिनीहरूलाई ब्लुम्सबरी गु्रपको सदस्य मानिन्थ्यो । सन् १९०५ मा किन्सले प्रथम उपाधि प्राप्त गरे । यसमा उनले १२ औँ प्रतिभाशाली छात्रको स्थान प्राप्त गरे । आर.एफ. हारोडले किन्सको जीवन कथामा लेखेका छन् कि उनको सफलतामा भिन्न–भिन्न प्रकारले टिप्पणी भएको थियो –कोहीले बधाई दिए, कोहीले समवेदना प्रकट गरे, कोहीले भने “परिणाम उत्तम अवश्य छ तर विजय गौरवान्वित गर्न योग्य छैन ।” दोस्रो वर्षमा किन्स सिभिल सर्भिसको परीक्षामा बसे र सफलता पनि प्राप्त गरे । जी. एल. स्ट्राकि (G. L.Strachey) लाई लेखेको पत्रमा किन्सले यस परीक्षामा अर्थशास्त्र र गणितमा सबभन्दा कम अङ्क प्राप्त भएको कुरा उनकै पत्रमा उल्लेख गरेको पाइन्छ । उनलाई इन्डिया अफिसमा एक सिभिल सर्भेन्ट (कर्मचारी) को रूपमा नियुक्त गरियो र उनले सन् १९०८ सम्म नोकरी गरे । यस सफलतामा उनलाई सन्तोष भएन, उनको विचार त क्याम्ब्रिजमा रहनु थियो । सन् १९०९ मा उनले क्याम्ब्रिज विश्वविद्यालयको छात्रवृत्ति स्वीकार गरे तर उनको पिताले त्यसलाई राम्रो मानेनन् । प्रो.ए.सी.पिगु युवक किन्सलाई क्याम्ब्रिज विश्वविद्यालयमा ल्याउन बढी लालायित थिए । विश्वविद्यिालयको छात्रवृत्तिबाट जति रकम पाउँथे त्यो धेरै कम थियो । अतः प्रो.ए.सी.पिगु त्यस कमीलाई पूरा गर्न किन्सलाई आफ्नो खल्तीबाट १०० पाउण्ड दिन्थे । मार्च १९१० मा किन्सले किंग्स कलेजमा छात्रवृत्ति पाए । छात्रवृत्तिबाट उनले वार्षिक १२० पाउण्ड पाउन थाले । किनकि किन्स मार्सलका निष्ठावान शिष्य थिए ।
क्याम्ब्रिज विश्वविद्यालयमा किन्सको निकट सम्पर्कमा आएका सबैमाथि किन्सको विद्वता एवम् प्रतिभाको गहिरो प्रभाव परेको थियो । आफ्नो विद्वता एवम् सफलताको कारणबाट उनले सम्मान पाए । उनी किंग्स कलेजका कोषाध्यक्ष पनि भए । यस पदमा रहेर उनले आफ्नो उच्च योग्यताबाट कलेजको आयमा पर्याप्त धन वृद्धि गर्न सफल भए । विदेशी मुद्राको व्यवसाय गरेर उनले पर्याप्त धन कमाए । सन् १९११ मा एक महान अर्थशास्त्री इजवर्थ (Edgeworthe) को मृत्युपश्चात किन्सलाई ‘इकोनोमिक जर्नल’ नामको पत्रिकामा सम्पादकजस्तो उच्च पदमा प्रतिस्थापित गराइयो । आफ्नो मृत्युको एक वर्ष पूर्वसम्म अर्थात् सन् १९४५ सम्म निरन्तर यस पदमा कार्य गरे ।
सन् १९१३ मा उनी Royal Economics Society का मन्त्री पनि बने । उनी निरन्तर ३३ वर्षसम्म यस सोसाइटीमा कार्य सञ्चालन गर्न सफल भए ।
किन्सले आफ्नो व्यावसायिक जीवनको सुरु एक मुद्रा विशेषज्ञको रूपमा गरेका थिए । ‘इन्डियन करेन्सी एन्ड फाइनेन्स’ नामक ग्रन्थ उनको प्रथम प्रसिद्ध पुस्तक सन् १९१३ मा प्रकाशित भएको थियो ।
उनलाई भारतीय वित्त एवम् मुद्रा नामक शाही आयोगमा सदस्य मनोनीत गरियो । यो २९ वर्षीय नवयुवकको निम्ति एक महान् स
म्मान थियो । यसबेलासम्म उनको ‘भारतीय मुद्रा एवम् वित्त’ नामक ग्रन्थ प्रकाशित भएको थिएन । जब यस आयोगको रिपोर्ट प्रकाशित भयो तब थाहा भयो कि किन्सले आफ्नो तर्क एवम् निष्कर्षको पुनरावृत्ति मात्र गरेको थियो ।
सन् १९१५ मा उनी ब्रिटिश टे«जरीमा प्रवेश गरे र उनले सन् १९१९ सम्म कार्य गरे । उनी पेरिस शान्ति सम्मेलनमा ब्रिटिश ट्रेजरीको प्रधान प्रतिनिधिमा नियुक्त भए । तर उनी शान्ति सन्धिको आर्थिक प्रावधानमा सहमत भएनन् । त्यसपछि उनले सन् १९१९ मा राजीनामा दिए । पुनः अध्यापन कार्यमा लागे । सन् १९२० मा उनको ‘इकोनोमिक कन्सिक्वेन्सेस अफ पिस’ नामक अति पठनीय, विवादास्पद एवम् शास्त्रीय पुस्तक प्रकाशित भयो । यस पुस्तकमा उनले शान्ति सम्मेलनसम्बन्धी प्रमुख व्यक्तिहरू विल्सन, क्लीमेन्स्यू, लायड जार्ज एवम् ओर्लान्डोमाथि डटेर प्रहार गरे । यस पुस्तकमा उनले भने कि युद्धमा पराजित जर्मनीले क्षतिपूर्ति भुक्तान गर्न आवश्यक माल उत्पादन गर्नसक्दैन । यदि उत्पादन नै गरे पनि विदेशमा बेच्ने क्षमता हुँदैन । यसमा शङ्का छैन कि यस पुस्तकमा प्रतिपादित सिद्धान्तको आधारमा नै सन् १९२०–२९ को बीचमा जर्मनीद्वारा दिनुपर्ने क्षतिपूर्तिको मात्रामा अनेकपल्ट संशोधन गरिएको थियो ।
सन् १९२०–२९ को बीचमा किन्सले समय–समयमा ‘द नेसन’ नामक सुधारवादी पत्रिकामा लेख लेखे । यस लेखमा उनले सरकारको सामु सुझाव पेश गरे कि देशले दयनीय आर्थिक दशाको सुधार गर्न सरकारले धेरै विस्तृत र प्रभावपूर्ण भूमिका निभाउनुपर्छ ।
यसपछि सन् १९२२ मा उनको ‘ए रिभिजन अफ द ट्रिटी’ नामक ग्रन्थ प्रकाशित भयो । यस ग्रन्थ उनको पूर्वलिखित ग्रन्थ ‘इकोनोमिक कन्सिक्वेन्सेस अफ पिस’ नामक ग्रन्थको पूरक भाग सिद्ध भयो । यस पुस्तकमा किन्सले यो विचार प्रस्तुत गरे कि जति पनि देशले जर्मनीबाट क्षतिपूर्ति प्राप्त गरे पनि बेलायतले क्षतिपूर्ति लिन बन्द गर्नुपर्छ ।
सन् १९२३ मा किन्सको एक अर्को पुस्तक ‘ट्रेक्ट अन मोजेटरी रिफर्म’ प्रकाशित भयो । यस पुस्तकमा मुख्यतया दुई विषय समावेश थियो –
(१) स्फीतिविरुद्ध अवस्फीति
(२) स्वर्णमानविरुद्ध प्रबन्धित मुद्रामान ।
सन् १९२५ मा किन्सको विवाह एक रुसी नर्तकीसँग भयो । उनको नाम लिडिया लोपोकोवा थियो । विवाहपछि पनि उनमा अर्थशास्त्रप्रति झुकाव बढ्दै गयो तर उनको व्यूम्सबरीका साथीहरूको सम्पर्क कम हुँदै गयो ।
सन् १९२४ मा चर्चिलले अन्तर्राष्ट्रिय स्वर्णमानको पुनः स्वीकार गर्ने घोषणा गरे । यो सुनेर उनी उत्तेजित भए र सन् १९२५ मा ‘द इकोनोमिक कन्सिक्वेन्सेस अफ मिस्टर चर्चिल’ नामको प्रसिद्ध पुस्तक लेख्न थाले । उनले सरकारले स्वर्णमान पुनः स्वीकार गरेको नीतिको आलोचना गरे र भविष्यवाणी पनि गरे । उनको भविष्यवाणीअनुसार बेलायतले घातक आर्थिक समस्या सामना गर्नुपर्ने छ । जब बेलायत सरकारले स्वर्णमान स्वीकार ग¥यो तब पौन्डको भाउ १० प्रतिशत कम भयो । स्वर्णमान पुनः स्वीकार गरेको समयमा आन्तरिक मूल्यको समायोजनबारे सोच्नुपर्ने थियो । उनका अनुसार बेलायतद्वारा निर्यात गर्ने औद्योगिक वस्तुको मूल्यको समायोजन गर्नु आवश्यक थियो । किन्सले त्यसबेला भनेका थिए कि युद्धकालको पुनः स्वर्णमानको नीतिमा मजदुरको सङ्ख्या घट्ने, हड्ताल हुन थाल्ने र बेरोजगारी फैलिने छ । सन् १९२६ मा बेलायतमा आम हड्ताल भएको थियो ।
सन् १९२९ मा बेलायतमा आम चुनाव भयो । त्यसबेला चुनावमा भाग लिने जति पनि दल थियो, ती दलहरूको सामुने बेरोजगारीको प्रश्न नै प्रमुख थियो । उदार दलका नेता लायड जार्जले घोषणा गरे कि सार्वजनिक निर्माणद्वारा नै बेरोजगारी हटाउन सकिन्छ । किन्स उदार दलको सदस्य भएकाले दलको कार्यक्रममा बल प्रदान गर्ने हेतुले एक पुस्तिका वितरण गराइयो । यस पुस्तिकाको विषय थियो, के लायड जार्जले यस्तो गर्नसक्छ ? यस ‘पुस्तिका’ मा किन्सले दुई महत्वपूर्ण विचार प्रस्तुत गरे । यसको विकास आफ्नो महान पुस्तक ‘सामान्य सिद्धान्त’ मा गरे । उनको विचारमा –
१) बेरोजगारी उन्मूलन गर्न सरकारले सार्वजनिक निर्माण कार्यको कार्यान्वयन गर्नुपर्छ ।
२) गुणक सिद्धान्त प्रारम्भिक निशेष र राष्ट्रिय आयमा आउने अन्तिम वृद्धि गर्नुपर्छ ।
यसपछिको ग्रन्थ ‘ए ट्रिटिइज अन मनी’ थियो । जसको प्रकाशन सन् १९३० मा भएको थियो । यसको प्रकाशन दुई भागमा भएको थियो । यस पुस्तकमा किन्सले उद्योग वा वित्त अथवा ‘औद्योगिक परिचालन’ वा ‘वित्तीय परिचालन’ मा स्पष्ट अन्तर स्थापित गरे ।
किन्सले अनेक सरकारी आयोगमा काम गरेका थिए । जुनबेला उनी आफ्नो पुस्तक ‘इन्डियन करेन्सी एन्ड फाइनेन्स’ नामक पुस्तक लेखिरहेका थिए, त्यसबेला उनलाई ‘भारतीय मुद्रासम्बन्धी चैम्बरलिन’ आयोगमा काम गर्न आमन्त्रण गरियो । त्यसैगरी उनी ‘ट्रिटिइज’ नामक पुस्तक पूरा गर्दै थिए । त्यहीबेला उनलाई वित्त एवम् उद्योगसम्बन्धी मैकमिलन कमिटीमा काम गर्न आग्रह गरियो । मैकमिलन कमिटीमा रिपोर्टमा मतैक्य भए तापनि उनकै बढी प्रभाव भएको पाइन्छ । त्यसबेलासम्म किन्स परम्परागत आधारमा स्वतन्त्र व्यवसाय
(Free enterpries) का पक्षपाती थिए । तर, बेलायतले महान मन्दीको समस्याको सामना गर्नुपर्ने देखेर उनले केही हदसम्म संरक्षणवादको आवश्यकतामा जोड दिनथाले । सन् १९३३ मा उनले ‘द मिन्स टू प्रोस्परिटी’ नामक पम्प्लेट निकाले । यस पम्प्लेटमा पुँजी बजेट व्यवस्था, सार्वजनिक निर्माण कार्य र आर्थिक क्रियाकलापमा सरकारी हस्तक्षेपको आवश्यकतामा जोड दिए । जुलाई १९३४ मा उनलाई बेलायत सरकारले आर्थिक सल्लाहकार परिषद्मा नियुक्त ग¥यो । यस परिषद्का प्रधान नै उनी भए । यस परिषद्मा प्रो.पिगु, प्रो.रविन्स सर जोसिन्या स्टाम्प र हेन्डरसनजस्ता प्रमुख अर्थशास्त्रीहरू पनि थिए ।
यसकालमा किन्स डी. एच. रोबर्टसन, राय हारोड, आर.जी. हाँट्रे श्रीमती जोन रविन्सन आदि सहयोगी र मित्रहरूसँग ‘सामान्य सिद्धान्त’ भन्ने रचनामा लागिरहेका थिए । उनलाई आशा थियो कि यस ग्रन्थले आर्थिक जगतमा हलचल पैदा गरिदिन्छ, आशाअनुसार नै युरोपमा यस ग्रन्थले हलचल पैदा ग¥यो ।
‘सामान्य सिद्धान्त’ भन्ने रचना प्रकाशनपछि पनि उनी आफ्नो देशको सेवामा लागिरहे । सन् १९३७ मा उनलाई हृदय रोगले च्याप्यो र पहिलेभन्दा उनी अस्वस्थ भए । तथापि उनी द्वितीय विश्वयुद्धताका पनि टे«जरीमा बडो लगनका साथ लागिरहे । उनले ब्रिटेनबुड्स सम्मेलनमा अन्तर्राष्ट्रिय मुद्राकोष र अन्तर्राष्ट्रिय विकास एवम् पुनःनिर्माणको स्थापना गर्नमा महत्वपूर्ण योगदान गरे र सन् १९४५ मा उनले बेलायतको लागि अमेरिकाबाट ऋण प्राप्त गर्न आफ्नो अद्वितीय बुद्धिमत्ता देखाए । सन् १९४६ मा उनलाई दोस्रोपल्ट हृदय रोगले च्याप्यो । अन्तमा उनको मृत्यु भयो र बेलायतको एक महानतम अर्थशास्त्री एवम् विचारकले यस संसारलाई छोडेर गए ।
स्रोत ः हाम्रो प्रयास

Leave a Reply

Your email address will not be published. Required fields are marked *