सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ४
- असार १५, २०८३
चिन्मय
स्वास्थ्य र शारीरिक सङ्गठनका लागि नियमित व्यायाम चाहिन्छ । मानसिक र बौद्धिक सङ्गठनका लागि ज्ञान, विज्ञान र साहित्यको नियमित अध्ययन चाहिन्छ । अनिमात्र कुशल नागरिक तयार हुन्छ । इतिहासमा जहाँ ज्ञान, विज्ञान र कला साहित्यको चिन्तनमनन, लेखन र अध्ययन परम्परा रहेको छ त्यहाँमात्र माक्र्स र मोजार्ट, गेटे र गोर्की, लिङ्कन र लेनिन, आइन्स्टाइन र न्युटनजस्ता मानव जातिका सपुत पैदा भएका छन् । अन्धविश्वासले गाँजेको मुलुकमा वैज्ञानिकहरू जन्मन गा¥हो पर्छ । फराकिलो शब्दभण्डारको अभावमा महान् साहित्य लेख्न अप्ठ्यारो हुन्छ ।
हरेक परिवारमा विश्वकोश वा इन्साइक्लोपिडिया पुगेको दिन, बालबालिकाहरू विश्वकोश र साहित्यसँगै हुर्किएको दिनमात्र देशलाई सम्पन्न र सु–संस्कृत मान्न सकिएला । अहिले त हामी ज्ञानगुन र साहित्यका पुष्टकारीमात्र गाउँठाउँ पु¥याउन सक्छौँ । इन्टरनेटको जमानामा यो विचारलाई पुरानो भन्न सकिएला । तर, डिजिटल दुनियाँ यस मामिलामा भरपर्दो र स्वस्थ विकल्प होइन भन्ने अनेक उदाहरण र अनुसन्धानले पुष्टि भइसकेको छ । यस अर्थमा किशोरकिशोरी सुहाउँदा पुस्तक वा पत्रिकाहरू देशका लागि नभई नहुने खुराक हुन् । यस्ता पुस्तक र पत्रपत्रिका नियमित छाप्नु एउटा सत्प्रयास हो । आजभन्दा धेरै वर्षअघि यस्तै एक असल प्रयास गरिएको थियो ।
प्रचेष्टा अर्थात् विशेष चेष्टा वा प्रयास । साढे दुई दशकअघि यो प्रयास थालिएको थियो । मावि तहका विद्यार्थीको पहल र परिचालनमा प्रचेष्टाको पहिलो अङ्क २०५१ सालमा प्रकाशित भएको थियो । सुरुमा लिथो गरेर छापिएको प्रचेष्टाको पहिलो अङ्क हाल प्रदेशसभा ३ का सदस्य सुरेन्द्रराज गोसाईको सम्पादनमा निस्केको थियो । केही वर्षको प्रकाशनपछि प्रचेष्टा नियमित हुनसकेन ।
उज्यालो पृष्ठभूमिमा उम्रिएको मुना माथि । प्रचेष्टाका पुराना अङ्कहरूको झलक तल । महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको तस्वीर गाताको पछिल्लो पानामा । यो चित्ताकर्षक कलेवर हो प्रचेष्टाको नौलो अङ्क । वर्ष २५ र पूर्णाङ्क २७ को । दशकौँपछि प्रचेष्टा फेरि आएको छ । प्रचेष्टाको यो अङ्कलाई कलेवरमा व्याप्त हरियो रङ्गजस्तै जीवन्त बनाइएको छ । कथा, कविता, चित्र, अनुभव, मिथक, किस्सा, जीवनी, समीक्षा, संस्मरण, वैज्ञानिक लेख, प्रेरक प्रसँग आदिले प्रचेष्टाको यो अङ्क सिँगारिएको छ, रोचक र गुनिलो बनाइएको छ ।
प्रचेष्टाको २७ औँ अङ्कमा ल्याटिन अमेरिकी युवा विद्यार्थीका हृदयसम्राट चे ग्वेभाराका अन्तिम पत्रहरू छापिएको छ । चे ग्वेभारालाई नचिन्नेहरूको जानकारीको लागि चेको छोटो र रसिलो परिचय पनि दिइएको छ । चेले आफ्ना ससाना छोराछोरीलाई “क्रान्तिकारीजस्तै हुर्कनू” भनेर जुन दिशानिर्देश गरेका थिए त्यो सदालाई र सबैलाई बाटो देखाउने मसाल बन्न पुगेको छ । हरेक विद्यार्थीको आदर्श वाक्य बन्न पुगेको छ ।
पत्रिकामा नेपाली कामदार जनताका आदरणीय अगुवा नारायणमान बिजुक्छेँको आफू शिक्षक हुँदाको अनुभव पनि छापिएको छ । कुनै बेला राजधानीका शिक्षकलाई देशविदेशका घटनाक्रमबारे साम्राज्यवादी मुलुकका प्रशिक्षकहरूले डिक्टेट वा मेनिपुलेट गर्ने कोसिस गर्थे भन्ने यो संस्मरणले बताएको छ । बिजुक्छेँ कामरेडले यसको विपरीत शिक्षक, विद्यार्थी र निरक्षर जनतालाई साम्राज्यवादी र प्रतिक्रियावादी कुकर्मबारे सचेत बनाउन कसरी गतिविधि गर्नुभयो भन्ने कथा हालिएको छ । एउटा क्रान्तिकारीलाई काम गर्ने ठाउँको अभाव कहिल्यै हुँदैन भन्ने पाठ यो गहकिलो अनुभवले सिकाइरहनेछ ।
पत्रिकामा अङ्ग्रेजीमा छापिएको ‘मौसम परिवर्तन’ जानकारीमूलक र विचार निर्माणमा सहायक लेख हो । विश्वको तापक्रम बढिरहेको र पृथ्वीको हावापानीमा अस्वाभाविक र भयानक परिवर्तन आएको वैज्ञानिक तथ्य हो । तर, डोनाल्ड ट्रम्पजस्ता प्रकृति दोहन गर्ने व्यापारी–नेताहरूले कसरी औँसीको रातलाई पनि घमाइलो दिन भनिरहेका छन् भनी लेखले तर्क गरेको छ । त्यसैगरी प्रचेष्टाको यो अङ्कले कसरी ढुङ्गालाई पनि सुन बनाउन सक्ने अजीव ‘दर्शन ढुङ्गा’ को खोजीमा निस्केका एकजना व्यापारीले फोस्फरस नामक मूल्यवान तत्व पत्ता लगाउन पुगे भन्ने रोमाञ्चक कहानी पस्केको छ ।
‘हर्लिक्स भिभा भर्सेज गहुँ जौ’ शीर्षकको लेखले विद्यार्थीको दिमागलाई एकछिन हल्लाइदिन्छ । पोषणविद् डा. अरूणा उप्रेती खाद्यान्नको मामिलामा कलम चलाउँदै आउनुभएकी जनताकी डाक्टर हुनुहुन्छ । कसरी हामीलाई चिनीमा घोलेर गहुँ र जौ नै महँगोमा बेचिन्छ ? साथै हुँदै नहुने अनेक फाइदाबारे भ्रामक र आकर्षक विज्ञापन गरेर विद्यार्थी र तिनका अभिभावकलाई मूर्ख बनाइन्छ ? यी विषयमा डा. उप्रेतीको रोचक र घोचक लेख आफैमा पोषिलो छ ।
भीमनिधि तिवारीका केही समय सान्दर्भिक मुक्तक, अर्नेष्टो कार्डेनाल र दामोदर सुवालका चित्रमय कविताले प्रचेष्टालाई ओज प्रदान गरेका छन् । कार्डेनालको कविताले करुण स्वरमा कङ्गोका युवा र बालबालिकाको दीनहीन रामकहानी सुनाउँछ र नसुनेझैँ गर्नेलाई व्यङ्ग्यवाण हान्छ । जात, भाषा, धर्म, लिङ्गको आधारमा नेपालीहरूलाई टुक्राउने खेल मञ्चन भइरहेको बेला कवि सुवालले सुन्दर शब्दमा जनतालाई वर्गीय आधारमा एकजुट हुन आह्वान गर्नुभएको छ । पत्रिकामा अनेक विद्यार्थीका रचना–प्रयास पनि छापिएका छन् । निर्जला कोजूको संस्मरण ‘मेरी साथी सुरक्षा मिजार’ पढेपछि भावुक नहुने पाठक शायदै होलान् । नयाँ रचनाकारहरूको कलम तिखारिँदै जाओस् भन्ने प्रचेष्टा प्रकाशक एवं सम्पादकको मनसाय वा अभिष्ट रहेको देखिन्छ ।
यो त भयो प्रचेष्टाको नयाँ अङ्कको एकसरो प्रदक्षिणा । तर, पत्रिका निकाल्दैमा वा त्यसलाई पढ्दैमा सचेत विद्यार्थीको वा एक जिम्मेवार देशवासीको दायित्व पूरा हुँदैन । ज्ञान आफैमा ठूलो कुरा होइन, त्यो कतिजनाको पहुँचमा छ महत्वपूर्ण पाटो यो हो । ज्ञान मुठ्ठीभर मानिसको हातबाट निस्केर बहुजनको हातमा पुग्यो पुगेन भन्ने कुराले नै समाजलाई कतातिर लग्ने, भाग्यरेखा कोर्छ । प्रचेष्टा बुद्धिविलास होइन, एउटा अभियान हो । सभ्य समाज निर्माणको अभियान । ज्ञानको ज्योति घरघरमा, विद्यार्थीको हातहातमा पु¥याउने अभियान । त्यसैले आफूले पढेरमात्र होइन, छरछिमेकका युवा विद्यार्थी, साथीसङ्गी र भाइबहिनीलाई प्रचेष्टा पढाएर यो अभियानलाई अगाडि बढाउनु प्रचेष्टाका हरेक पाठकको कर्तव्य हो ।
राजधानीका ठूलठूला किताब पसलहरूमा माविस्तरका विद्यार्थीका लागि महँगा, रङ्गीन, रमाइला र झिल्के पुस्तक, पत्रपत्रिका र कमिक्सहरू पर्याप्त मात्रामा पाइन्छन् । अझ नेपालका घरानियाँ र धनाढ्यका छोराछोरीहरू पढ्ने केही विद्यालयले त आफ्ना विद्यार्थीको बौद्धिक विकासको लागि पाठ्यपुस्तकबाहेक आवश्यक ज्ञानबद्र्धक साहित्यहरू छापेर पढाएको पाइन्छ । राजधानीकै कतिपय सरकारी विद्यालय र राजधानीबाहिरका अधिकांश विद्यार्थीका लागि यो कुरा कुनै किंवदन्तीजस्तो लाग्नसक्छ । अझ पाठ्यपुस्तक पनि नपुग्ने नेपालका दुर्गम भेगका विद्यार्थीहरूले त यस्तो दृश्य कल्पिन पनि सक्दैनन् ।
यस्तो परिस्थितिमा सहरबजारका विद्यार्थी र गाउँका विद्यार्थीमा आकाश जमिनको अन्तर आउनुमा के अस्वाभाविक मान्नु ? गरिब र धनीका छोराछोरीहरूको बौद्धिक स्तरमा गहिरो खाडल पर्नुमा के आश्चर्य मान्नु ? यो खाडल वा असमानता पुर्नु पुनीत कार्य हो । प्रचेष्टाले ससानो नै भए पनि सभ्य समाजको बाटो खन्ने चेष्टा गरेको छ । ज्ञानको नौलो अभियान थालेको छ । यो अभियानमा प्रचेष्टा टीम र हरेक पाठकले नियमित योगदान दिए परिवर्तन सम्भव छ । परिवर्तनको आगामी यात्रामा सबै विद्यार्थीलाई शुभकामना, प्रचेष्टा प्रकाशक एवं सम्पादकलाई शुभकामना । शुभकामना प्रचेष्टाका पाठक, प्रसारक एवं प्रवद्र्धकलाई ।
Leave a Reply