सरस्वती

बालबालिकासँग कसरी व्यवहार गर्ने भन्ने चुनौती हरेक अभिभावकमा छ । आफ्ना केटाकेटी पढाइलेखाइमा एकसेएक होऊन् भन्ने चाहना हुन्छ अभिभावकमा तर भइदिन्छ उल्टो । साना बालबालिकामा समेत लागूपदार्थको दुव्र्यसनी देखिन थालेको छ । केही दिनअघि एउटा बालकले माया नपाएको भन्दै आत्महत्या गरेको घटनाले सबै अभिभावक र शिक्षकलाई झस्काइ दिएको ताजै छ । नचाहिँदो काममा लागेको भनी गाली गर्दा केटाकेटीले दिनभर ढोका थुनेर बस्ने वा खानासमेत ‘बहिष्कार’ गरी बस्ने गरेको घटना सुन्न पाइन्छ । कहिले त घर छोडेर हिँड्ने गरेको घटना पनि सुनिन्छ । केटाकेटीले अभिभावकलाई मर्छु भनी धम्की दिने, अभिभावक थरहरी हुने । बालबालिकाको मनमा आमाबुबाले केटाकेटीको भावना बुझेन, कुरै नबुझी गाली गरेको लाग्छ भने आमाबुाबाको मनमा आफूलाई टेर्न छोडेको, बरालिएको आदि चिन्ता व्याप्त छ । समाज प्रतिस्पर्धात्मक बन्दै छ, अब कुनै काम पाउन पनि अब्बलकोटीको हुनैपर्ने परिस्थिति बन्दै छ । शिक्षामा कमजोरले रोजगारी पाउनु आकाशको फलजस्तै बन्दा अभिभावकमा थप तनाव हुनु स्वाभाविकै हो । केटाकेटीको परीक्षाको परिणाम हेरेर कति अभिभावक निराश हुने स्थिति छ, यसले केटाकेटीमाथि अभिभावक खनिने स्थिति उत्पन्न हुन्छ । रिसमै अभिभावकले जथाभावी बोलिदिँदा फेरि परिणाम उल्टो निस्किन्छ । अब गर्ने के ? समस्याको चुरो कहाँ हो ? के हामीले केटाकेटीलाई गर्दै आएका व्यवहारमा समस्या छ ? बदलिँदो समाज, संस्कार र संस्कृतिअनुसारको अभिभावकत्वमै समस्या त छैन ? यी र यस्तै प्रश्नमा घोत्लिनु टड्कारो भइसकेको छ । यसको निम्ति एउटा सहयोगी पुस्तक बजारमा उपलब्ध छ, दिनेशराज सत्यालको ‘बालबालिकासँग कसरी व्यवहार गर्ने’ ?’
“तिमी मलाई असल आमा देऊ, म तिमीलाई असल भविष्य दिन्छु ।” महात्मा गान्धीको प्रस्तुत भनाइले बालबालिकाको हेरचाहको महत्व कति हुन्छ भन्ने दर्शाउँछ । गान्धीको भनाइमा आमाको अर्थ जन्मदिने आमामात्र भन्न खोजिएको लाग्दैन । बच्चा स्याहार्ने बुबा होस् वा हजुरआमा, बालबालिकलाई खेलाउने र लेखपढ गर्न सिकाउने गुरु वा गुरुआमा होस् वा बालबालिकाको रेखदेख गर्ने छरछिमेकी सबै आमाको रूपमा उपस्थित हुन्छन् । बालबालिकासँग जोडिएका सबै मानिस आमाकै विभिन्न रूपभन्दा फरक पर्दैन । त्यसैले आमाहरूले केटाकेटीसँग कसरी व्यवहार गर्ने भन्ने सिक्नैपर्छ ।
सत्यालको पुस्तक पढ्दा जो कोहीलाई आफ्नो बाल्यकाल सम्झाई दिन्छ । पुस्तकले आफ्नो बाल्यकालमा कसले के भन्दा खुसी वा दुःखी भएको स्मरण गराउँछ । पुस्तकको मर्म बुझी अध्ययन गर्ने हो भने हरेक अभिभावकलाई केटाकेटीसँगको व्यवहारमा परिवर्तन गर्नसमेत झक्झक्याउँछ । पुस्तकले केटाकेटीलाई माया गर्ने तरिका सिकाउँछ ।
बालबालिकालाई योग्य एवम् सवल बनाउने हरेक बाबुआमा वा अभिभावकको सपना हुन्छ । यही सपना साँचेर उनीहरू आफ्ना सन्तानको खुसीको लागि तन, मन र धन खर्चिरहेका हुन्छन् । मायाकै नाममा अभिभावकले केटाकेटीको निम्ति महँगा सामानको उपहारसमेत दिने गर्छन्, के ती सामानले केटाकेटीको व्यक्तित्व विकासमा खास टेवा पु¥याउला ? माया र ममता देखाउन के महँगो उपहार नै चाहिन्छ ? पुस्तक भन्छ, त्यसो होइन । मीठो बोली, असल चरित्र र माया मिसाउन सकिएन भने केटाकेटीलाई महँगा सामानले झन् कमजोर बनाउने डर हुन्छ ।
केटाकेटीसँग समय बिताउनुलाई समय र पैसाको बर्बादी ठान्ने अभिभावक पनि भेटिन्छन् । सत्यालको पुस्तकले केटाकेटीसँगै बसी उनीहरूका कुरा सुन्ने र उनीहरूका कुरामा आफ्नो विचार पनि थप्ने शैली अवश्यक भएको चर्चा गरेको छ ।
केटाकेटीले आफूलाई चित्त नबुझेको कुरा रिसको माध्यमबाट पनि देखाउन सक्छन्, ठूलो ठूलो स्वरले कराउने, हप्काउने र रुने गर्नसक्छन् । यस्तो अवस्थामा अभिभावकले राम्ररी सोचविचारपूर्वक व्यवहार गर्न जानेन भने अनेक दुर्घटना निम्तिन सक्छ । प्रत्येक अभिभावकमा तर्क र विचारले केटाकेटीलाई सम्झाइबुझाइ गर्ने क्षमता आवश्यक हुन्छ । तत्कालै कुटपिटमा उत्रिने, धम्काउने र डर देखाउने हो भने स्थिति अझ तनावपूर्ण बन्दै जानसक्छ । रिसाएका बच्चालाई अँगालो मारी शान्त हुन दिने सूत्रले पनि काम गर्नसक्छ ।
लेखक सत्याल केटाकेटीलाई अनावश्यक संरक्षण नगर्न अभिभावकलाई सुझाव दिन्छन् । केटाकेटी गल्तीबाट सिक्दै जान्छन् र अत्यधिक संरक्षणले उनीहरूको आत्मबल कमजोर हुने लेखकको भनाइ छ । केटाकेटीलाई भूतप्रेत वा जङ्गली जनावर, वा अनावश्यक हाउगुजी देखाउनु हुन्न । केटाकेटी अबोध हुन्नन् बरु तिनीहरू अभिभावकका व्यवहारबाट सिकिरहेका हुन्छन् । केटाकेटीलाई अर्ती उपदेशको भारी मन नपर्ने बरु अभिभावक स्वयम्ले असल व्यवहार र चरित्र प्रस्तुत गर्नुपर्ने लेखकको भनाइ छ । लेखक भन्छन्, “प्रत्येक व्यक्ति एउटा छुट्टै विशेषता बोकेर जन्मिएका हुन्छन् । कोही कसैसँग बालबालिकाको तुलना नगरौँ । तुलनाले उनीहरूको आत्मबललाई घटाउँछ ।”
बालबालिकालाई प्रशस्त उत्प्रेरणा आवश्यक हुन्छ । उनीहरूका दोषमात्र केलाउने गुणपक्षलाई नहेर्ने प्रवृत्ति पनि ठीक होइन । उनीहरूका गल्तीलाई दोहो¥याइरहने प्रवृत्ति पनि उपयुक्त होइन । अरु कसैको रिस केटाकेटीमाथि पोख्ने प्रवृत्ति पनि घातक हुन्छ । लेखक हुर्किएको छोराछोरीसँग साथीको व्यवहार गर्नुपर्ने शास्त्रमा पनि उल्लेख भएको भन्न छुटाउन्नन् । उनी भन्छन्, “घरका निर्णय प्रक्रियामा केटाकेटीको राय सुझाव पनि लिनु उपयुक्त हुन्छ ।” बालबालिकाका मनपर्ने र मननपर्ने के के हुन् भन्नेबारे अभिभावक जानकार हुनुपर्ने लेखकको भनाइ पनि मननीय छ ।
छोरा र छोरीमा भेदभाव राख्ने संस्कृतिलाई बदल्नु आवश्यक छ । बालबालिकालाई नियन्त्रण होइन स्वतन्त्रता दिनुपर्ने लेखकको विचार छ । बालबालिकाको जिज्ञासालाई स्वस्थ तरिकाबाट सुल्झाउने प्रयास गर्नुपर्ने लेखकको रायमा प्रत्येक अभिभावक गम्भीर हुनु आवश्यक छ । केटाकेटीले कुनै काम जिम्मेवारीपूर्वक गरेबापत स्यावासी वा हौसला दिनु आवश्यक छ । उनीहरूको आत्मबल उँचो राख्न अभिभावक सतर्क हुनुपर्ने हुन्छ । आफन्तसँग परिचित बनाउने, बालबालिकालाई नचाहिँदो घुक्र्याइँबाट अलग्ग राख्ने, आफूलाई मन नपर्ने व्यवहार केटाकेटीसँग नगर्ने, बालबालिकामाथि हुनसक्ने यौनदुव्र्यवहारप्रति सचेत गराउने आदि मननीय सुझाव लेखक सत्यालले पुस्तकमा सविस्तार राखेका छन् । केटाकेटीलाई अनुशासित बनाउने हात अभिभावकमै हुने लेखकको तर्क छ ।
पुस्तकको दोस्रो एकाइमा बालबालिकाको खाना खान नमान्ने समस्याका समाधान, लाज मान्ने समस्याका उपचार, केटाकेटी बीचका झगडा र समाधान, विद्यालय जान नमान्ने समस्या र अभिभावकको भूमिका, केटाकेटीलाई गृहकार्य गर्न कसरी उत्साहित गर्नेजस्ता विषयमा आफ्ना विचार राखेका छन् । आजकलका अभिभावकको एउटा मुख्य टाउको दुखाइको विषय टेलिभिजन धेरै हेर्ने बालबालिकाको समस्या र निराकरणका लागि सुझावहरूसमेत पुस्तकमा दिइएको छ । समस्याका कारण थाहा भए समाधानका उपाय पनि निस्किन्छ । पुस्तकका लेखक यसबारे संवेदनशील भई प्रस्तुत भएका छन् ।
पुस्तकको तेस्रो एकाइमा लेखक दिनेश सत्यालले घरेलु हिंसा, यसको असर र नियन्त्रणका उपाय, अभिभावकबीचको सम्बन्ध विच्छेद र त्यसले पार्ने असर, मनोपरामर्श कसरी गर्नेजस्ता विषयमा सारभूत कुरा समेटेका छन् । अन्तमा लेखकले पुस्तकमा बालअधिकारका कुरा समेटेका छन् ।
पुस्तकमा केटाकेटीका उमेरअनुसार आउने शारीरिक एवम् मानसिक विकासबारे पुस्तकमा खासै उल्लेख छैन । उमेरअनुसारका स्वभाव थाहा हुँदा सोहीअनुसार व्यवहार गर्न सकिने पक्षलाई लेखकले समेटेका भए सुनमा सुगन्ध हुन्थ्यो ।
पेशाले कानुन व्यवसायी दिनेशराज सत्यालको पुस्तक पढ्न सरल छ । लेखकले आफू अभिभावक बन्दाका अनुभवसमेत समेटेका छन् । व्यावहारिक उदाहरणहरूले पुस्तकलाई अझ स्तरीय बनाएको अनुभव हुन्छ । अभिभावक हुन चाहने हरेक अभिभावकलाई उपयोगी पुस्तक प्रकाशित गर्ने बुद्ध एकेडेमिक पब्लिसर्सलाई साधुवाद ¤ २०६५ मा प्रथम संस्करण प्रकाशित भएको ९१ पृष्ठको पुस्तकको मूल्य पाठकमैत्री छ ।