भर्खरै :

आइफा अवार्डमा जिद्दीको रहस्य

– प्रकृति
भारतीय सिने उद्योगको विस्तारको उद्देश्यले सञ्चालन हुँदै आएको आइफा अवार्ड समारोहमा नेपालले अर्बाँै रुपैयाँ खर्च गर्न लागेको र यो समारोह नेपालको हितमा नरहेको भन्दै संसदीय समितिले कार्यक्रम रोक्ने निर्देशन दिएपछि सरकारले समारोह नगराउने निर्णय गरेको थियो । भारतीय दबाब परेपछि फेरि अवार्ड समारोह नेपालमा गराउने निर्णय नेपाल सरकारले गरेको छ । आइफा अवार्डका लागि ५० लाख अमेरिकी डलर दिनुपर्ने, २० दिन सैनिक मुख्यालयकै सामुन्नेको फूटबल मैदान दिनुपर्ने, कार्यक्रमको टेलिभिजन कपिराइट, विज्ञापनदेखि टिकट सङ्कलनबाट उठेको सम्पूर्ण रकम आइफाले नै उठाउने, उनीहरूलाई जहाजमार्फत काठमाडौँसम्म ल्याउने जिम्मा सबै नेपालले लिनुपर्ने, अतिथिको सम्पूर्ण प्रबन्ध नेपालले गर्नुपर्ने, कार्यक्रमको विषयमा विवाद र मुद्दा मामिला आएमा नेपाल भारतीय अदालत जानुपर्नेजस्ता भारती शर्त छन् । यस्ता शर्तसामु झुकेर सरकारले कसको ताबेदारी गर्दै छ, प्रस्ट छ ।
चारैतर्फको विरोध हुँदाहुँदै पनि भारतीय सिने उत्सव आयोजना गर्न सरकार किन धोती कसेर लागिरहेको छ ? स्पष्ट छ, जसको सिता खान्छ, उसको गीता गाउँछ । जसको बलमा उभिएको छ, उसकै सेवामा लाग्नु कुनै नौलो होइन । ‘राष्ट्रवादी’ को छवि पाई विजयी भएका केपी ओलीले भारतीय चलचित्र उद्योगको विकासको पक्ष लिनुले उनको ‘राष्ट्रवाद’ को नकाव कच्चै रहेछ भन्ने प्रमाणित हुन्छ ।
भारतीय विज्ञापनको एकाधिकार तोड्दै नेपाली विज्ञापन उद्योगलाई प्राथमिकता दिने विधेयक ल्याउने सरकारले भारतीय सिने सामग्रीका लागि जोडबल गर्नुलाई सर्वसाधारणले विरोधाभासको रूपमा बुझ्नु स्वाभाविकै हो । नेपाली कलाकारहरूले आफ्नो चलचित्र उद्योगको विकासको निम्ति सरकारबाट हौसला नभएको भनी असन्तुष्टि व्यक्त गरिरहेका छन्, स्वयम् सरकारी पार्टीका नेताहरूले अवार्डको विरोध गर्दै भारतीय विस्तारवादलाई रोक्नुपर्ने भनाइ राखिरहेको बेला सरकारले ढिपी गर्नुको एउटै कारण सरकार आफ्नो खुट्टामा उभिएको छैन भन्ने प्रमाणित हुनु हो । अझ एक कलाकार केदार घिमिरेले “यो त आफ्नी घरकी श्रीमतीलाई म्याक्सी किन्न नखोज्ने अनि छिमेकीलाई ट्याक्सी किन्न खोजिदिने” भनेझैँ हुने छ ।
भारतीय पर्यटकको ओइरो लाग्ने सरकारी जिकीरमा अझै नेपाली जनता आस्वस्त हुने अवस्था छैन । भारतीय नागरिकको कारण नेपालको पर्यटन उद्योगले कति भरथेग पाएको छ भन्ने कुरा विगतको तथ्याङ्कले पुष्टि हुन्न । पशुपतिको दर्शन गर्न आउने हजारौँ भारतीय नागरिकले खानपान र बासको निम्ति आफ्नै स्रोतको व्यवस्था गरी आउने, नेपालमा मात्र फोहर छोडेर जाने नेपालीको अनुभवलाई नेपाली शासकहरूले मनन् गरून् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *