भर्खरै :

सुन्दर देशको दुर्गन्धित राजधानी

भिक्षु अश्वघोष
श्रीलङ्काबाट पठाएको एउटा चिट्ठी पाएको छु । त्यसमा लेखिएको छ, “सुन्दर हिमालय देश र बुद्धको जन्मभूमि नेपालको राजधानी काठमाडौँ अति दुर्गन्धित रहेछ । काठमाडौँको दुर्गन्धले हिमालयलाई पनि अपवित्र बनाइदिएको छ । नरक हेर्नु छ भने काठमाडौँ गए हुन्छ । के साँच्चै काठमाडौँ नरक नै हो त ?”
समय–समयमा महानगरपालिकाका कर्मचारीहरू आन्दोलनमा उत्रिन्छन् । सहरभरि फोहोर डङ्गुर नै छ । सबै बटुवाहरूलाई नाक थुनेर हिँड्नुपर्ने बाध्यता छ । सडकको फोहोर गन्हाएर काठमाडौँ साँच्चै नरकजस्तै भान हुन्छ । केही समयअघिको कुरा हो । डम्पिङ साइट नभएर एकताका राजधानी फोहोरको डङ्गुरले भरिएको थियो । त्यसबेला एकजना बर्मी महिला युरोपको दूतावासबाट काठमाडौँमा रहेको दूतावासमा सरुवा भएर आइन् । काठमाडौँको फोहोर देखेर बुद्धको देशमा आउन पाएकोमा ठूलो अहोभाग्य भयो भन्ने सोचेर आएको त नरकमा पो आइपुगेँ भन्दै तुरुन्तै काठमाडौँ छाडेकी थिइन् । त्यतिखेर धेरै पर्यटकहरू भन्ने गर्थे, “भिसा, राहदानीको लागि पैसा तिरेर दुर्गन्धित काठमाडौँ हेर्न नआए पनि हुन्छ ।” यो लेख ८ वर्ष पहिले लेखेको थियो ।
हालै पनि महानगरपालिकाले डम्पिङ साइटमा समस्या आएको भन्दै खुलामञ्चमा फोहोर थुपा¥यो । कस्तो बेइज्जत ! यसरी सार्वजनिक स्थलमा फोहोर फाल्नु कहाँसम्म उचित छ ?
महानगरपालिकाका कर्मचारीहरूले हड्ताल गरेकाले काठमाडौँ गन्हाएर बसिनसक्नु भयो । यसो हुनुमा नेपाल सरकारको पनि ठूलो कमजोरी देखियो । सरकारलाई लोकतन्त्र र संविधानसभाको चिन्तन गर्दैमा यतातिर ध्यान दिने फुर्सद छैन ।
पहिले पहिलेको फोहोरको डुङ्गुर फाल्दाफाल्दै बागमती र विष्णुमतीको किनारमा मोटर दगुर्न सक्ने बाटो बनिसक्यो । कीर्तिपुर जाने बाटो नजिक बागमती छेउ फोहोरले गर्दा सा¥है नै गन्हाउँछ । मैले बर्मामा देखेको छु, त्यहाँ राजमार्ग दुवैतिर फोहोर फालिन्छ र तत्कालै माटोले छोपिन्छ । अनि त्यसमाथि वृक्षरोपण गरिन्छ । यसबाट फोहोरको समस्या समाधान हुनुका साथै हरियाली पनि बढ्ने गर्छ ।
विष्णुमती पुलमुन्तिर जीपमा राखी होटलको फोहोर फाल्न ल्याइन्छ । फोहोर आएलगत्तै प्लाष्टिक खोज्ने गरीब केटाहरूमात्र होइनन् सँुगुर र कुकुरहरू पनि त्यहाँ आइपुग्छन् । त्यहीबेला विदेशीहरू भटाभट फोटो खिच्न थाल्छन् । यो दृश्य देखेर एकातिर हाँस्न मनलाग्छ भने अर्कोतिर रुन पनि मन लाग्छ । वर्षाको समयमा त बाढीका कारण फोहोर बगाउने हुनाले दुर्गन्ध अलि कम हुन्छ । तर, हिउँदमा बसिसक्नु हुँदैन ।
मैले धेरै देश घुमेको छु । तर, हाम्रै देश नेपालमा जस्तो अन्यत्र कहीँ पनि फोहोरको डुङ्गुर देखेको छैन । जर्मनीमा दिनको दुईचोटि र ताइवानमा चारचोटि फोहोर उठाउने गरिन्छ । अझ फोहर राख्ने अलग्ग घर नै हुन्छ । फोहोर भरेपछि घरको ढोका बन्द गरिन्छ । अनि राम्रोसँग फोहोर उठाएको छ कि छैन भनी फोहोर उठाउने गाडीको पछिपछि मोटरसाइकलमा अधिकारीहरू निरीक्षण गर्छन् । नेपालमा भने रेडियो टेलिभिजनमा सरसफाइका ठूला–ठूला कुरा गरिन्छ । तर, जताततै फोहोरै फोहोरको डङ्गुर थुप्रिएको हुन्छ ।
ताइवानमा पनि कतैकतै हामीकहाँ जस्तै चारदोबाटोमा फोहोर फालेको देखिन्छ । तर, त्यहाँ २४ घण्टामा चारपटक फोहोर उठाउने गरिन्छ, बिहान ६ बजे, दिउँसो १२ बजे, बेलुकी ६ बजे र राति १२ बजे । जर्मनीमा दमकलजस्तै साइरन बजाएर बिहान ६ बजे मोटरले फोहोर उठाउने गर्छ । त्यतिबेला सबैजना आफ्नो ढोका बाहिर फोहोरको पोका लिएर आउने गर्छन् ।
हामीकहाँ लोकतन्त्र आयो भनिन्छ । तर, मानिसहरूमा अझै चेतना आएको देखिँदैन । जिन्दावाद मुर्दावाद भनी कराएर जुलुस गर्ने चेतनामा त निकै प्रगति भएको छ तर फोहोरमैलाको समस्या समाधान गर्ने चेतना चाहिँ अझै विकसित भएको छैन ।
– स्रोत ः दीर्घायु हुने उपाय, २०७०

Leave a Reply

Your email address will not be published. Required fields are marked *