युद्ध र वार्ताजस्तै नाकाबन्दी पनि सफल हुनेछैन
- बैशाख ५, २०८३
– प्रकृति
मुलुकका केही राष्ट्रिय मानिएका पत्रपत्रिकाको माध्यमबाट उत्कृष्ट विद्यालयको नामावाली सार्वजनिक हुने क्रम जारी छ । कक्षा ११ को नयाँ विद्यार्थी भर्नाकै समयमा नै यस्तो किन भएको होला ? यसै प्रश्नबाट उत्कृष्ट विद्यालयको घोषणाको रहस्य पत्ता लाग्छ ।
शिक्षामा अस्वस्थ प्रतिस्पर्धाको मुख्य कारण देखावटी र नाफामुखी एवम् व्यापारिक प्रवृत्ति हो र यसलाई मलजल गर्ने काम उत्कृष्ट विद्यालयको घोषणाले गरिरहेको छ । यसबाट विद्यालयमा विद्यार्थीको भीड बढाउनेमात्र होइन पत्रिकाको आम्दानी बढाउने काम हुन्छ । ‘एड्भटोरियल’ लाई समाचारको रूपमा प्रस्तुत गर्ने पत्रिकाको मुख्य उद्देश्य कागजको हात्ती भित्र्याउनुबाहेक केही होइन ।
निजी पत्रपत्रिका सञ्चालकहरूबाट यस्ता कुरा हुनुमा कुनै आश्चर्य भएन, सरकार आफैले पनि उत्कृष्ट विद्यालयको पुरस्कार घोषणा गरिरहेको पाइन्छ । राम्रो विद्यालयको आधार के ? विद्यालयको नतिजाको आधारमा मात्र कुनै विद्यालय के उत्कृष्ट हुनसक्छ ? कस्ता विद्यार्थीलाई पढाएर कुन स्थान पु¥याएको भन्ने हिसाब गर्नु आवश्यक छैन ? कस्ता विद्यार्थी भर्ना गरिएका र कस्तोसम्म बनाएको भन्ने आधार लिनु के आवश्यक छैन ? जिल्लाभरका प्रथम, द्वितीय र तृतीय आउने विद्यार्थीलाई अनेक प्रलोभन दिई भर्ना लिएर कक्षा ११ मा उत्कृष्ट परिणाम ल्याएको भनी घमण्ड गर्नुको कुनै आधार छ ? परीक्षामा राम्रो नतिजा ल्याउन कहिले परीक्षा बोर्डका पदाधिकारीसँग ‘ककटेल’ खाने त कहिले नोटको बिटोले ‘अभिनन्दन’ गर्ने वा प्रश्नपत्र चोरी गर्ने वा परीक्षामा नक्कल गर्न दिनेजस्ता गैरकानुनी, अनैतिक काम गर्ने विद्यालयहरू कसरी उत्कृष्टको कोटीमा आउन सक्छन् ? शिक्षामा हुने प्रतिस्पर्धाले विद्यार्थीलाई असामाजिक बनाएको छ, तर शिक्षाविद् तथा शिक्षाका जिम्मेवार पदाधिकारीहरू यतापट्टि गम्भीर छैनन् । त्यही गलत प्रतिस्पर्धाकै कारण एसएलसी बोर्डको परम्परा हटाएको बारे सम्बन्धित निकाय किन आँखा चिम्लिरहेको छ ?
यहाँनिर एउटा उदाहरण उपयुक्त हुन्छ । काठमाडौँंको सिद्धार्थ वनस्थली मावि कुनै बेला मुलुककै प्रसिद्धि कमाएको विद्यालयमा पर्दथ्यो । २०४४ सालको एसएलसीमा यो विद्यालय एक्लैले बोर्डका उत्कृष्ट दशमध्ये नौ स्थान हासिल गर्नुमा गुणस्तरीय शिक्षण विधिभन्दा ‘वाणिज्य गणित’ विषय छनोटप्रतिको चलाखी मानिएको थियो । वाणिज्य गणित पाठ्यक्रमबाटै खारेज भएपछि वनस्थलीको बोर्डको उपस्थिति पनि हराएको घटना यहाँ स्मरणीय छ ।
कस्तो विद्यालय राम्रो ? पढाउँदै विदेश पठाउने भिसासमेत मिलाई दिने राम्रो ? वा स्वदेशमा श्रम र सीपको उपयोग गर्न उत्साहित गर्ने ? देशभक्त बनाउने विद्यालय कि देशद्रोही बनाउने ? कुन विद्यालयमा पढ्ने विद्यार्थीले देशसेवामा कति काम गरे भनी विद्यालयको उत्कृष्टताको मापन गर्नु के आवश्यक छैन ? देश र जनताको इमानदारीसाथ सेवा गर्ने नागरिक बनाउन उत्साहित गर्ने विद्यालयलाई उत्कृष्ट भनी घोषणा नगरेसम्म विदेशीका दास बनाउने विद्यालयहरू नै उत्कृष्ट विद्यालय बनिरहने सिलसिला चलिरहने छ ।
Leave a Reply