भर्खरै :

आलु–तरकारी र समाचारपत्र

– प्रधान
हरेक दिन काठमाडौँ उपत्यकामा १०–१५ वटा दैनिक पत्रिका छापिने अनुमान छ र वितरण पनि भइरहेकै छन् ।
यो असारमा पत्रिका बाँड्ने युवाहरू बारम्बार पानीमा फालेर जाने गर्छन् । चिया खाने बेला बुबा र हजुरबुबाहरू अखबार हेर्ने गर्छन् ।
“ए नानी, अखबार किन भिजेको ? २–४ दिन भयो, जहिले यस्तै हो ।” “म पनि भन्दै छु, किन पानीमा फालेका होलान्” नातिनाले भनिन् । “केही पनि भनिनौ त नातिना ? पढ्नुपर्ने अखबारलाई पानीमा फालेर कसरी पढ्ने ?” हजुरबुबा दिक्क माने ।
“बुबा मैले अस्ति मोटरसाइकलमा आएका बाहिरबाटै फुत्त अखबार फाल्ने दुई जना युवकलाई सम्झाएँ ।” छोरोले बुबालाई सम्झायो । “के भने त ती युवकहरूले, छोरो ?”
“के भन्नु बुबा ! दुवै पढे लेखेका रहेछन् । एकजना लेक्चरर भन्छन् आफूलाई ! क्लासमा समयमा पुग्न सबैको ढोका घच्घच्याएर वा मोटरसाइकलबाट ओर्लेर पानीमा नपर्ने गरी मिलाएर राख्न हामीसँग समय नै छैन ।”
अर्काे भन्थ्यो, “म बी.ए.मा पढ्दै छु, बुबा, म विद्यार्थी हुँ । फटाफट अखबार चोकमा फाल्दै नदगुरे क्लासमा ७ बजे पुग्नै सक्दिनँ ।”
“हो, बुबा ! सबैका आ–आफ्नै समस्या छन् ।” छोरो मौन बस्छ । नातिना अचम्म पर्दै सोध्छिन्, “मानिस त्यसो किन हुन्छन् हजुरबुबा ?”
“अखबार बाँड्ने युवाहरू पढे लेखेका होलान् कलेजमा, तर तिनीहरूका आमा–बुबा र हजुरआमा र हजुरबुबाहरूले कहिल्यै अखबार पढेका होइनन् होलान् अथवा तिनीहरू साक्षर, शिक्षित र पढ््््ने संस्कारबाट टाढै थिए होलान् ।” गम्भीर हुँदै र केही सोच्दै हजुरबुबाले भने, “पढेरमात्रै हुन्न, संस्कार र संस्कृति हुनुपर्छ, हरेक परिवार र पुस्तामा !”
नातिनाले कुरा बुझिनन् र भनिन्, “हजुरबुबा चिया ल्याउँ है ?” “हुन्छ, नानी, तर आज अखबार पढ्न नपाउने भयो,” ज्येष्ठ नागरिकले मन–मनै पीडाको अनुभव गर्दै लामो सास फेरे ।
यस्तो परिस्थितिमा सम्पादक, संवाददाता, स्तम्भ लेखक, प्रुफ रिडरहरूले जत्तिसुकै मेहनत गरे पनि समयमै छाप्ने छापाका सेक्सनका कर्मचारीहरूले यसबारे के गर्नसक्ने हो र ?
ध्यान त प्रबन्धक, जिल्ला–जिल्लामा एजेन्ट र वितरकका नायकहरूले नै दिनुपर्ने हुन् । हो त, अखबार, कापी, कलम बेचेरै करोडपति भएका छन् केही साहुहरू । तर, तिनीहरूले कहिल्यै आफ्ना वितरक केटा र युवाहरूसँग पाठक र ग्राहकको गुनासोबारे बैठक गर्दैनन् र गर्न जाने कुरा पनि होइन, किनभने जसरी आलु पसले र तरकारी पसलेले कहिल्यै आफ्नो ग्राहकहरूको बैठक गर्दैनन् । सबै वितरक र पुस्तक पसल ‘रत्न पुस्तक भण्डार’ होइनन् जसको सम्बन्ध सम्पादक, लेखक, पाठक र ग्राहकसँग पनि हुन्छ ।
हाम्रा नयाँ नयाँ वितरक र पुस्तक पसलेहरू साहित्य, शिक्षा र संस्कृतिबारे प्रचार गर्न पसल राखेका होइनन् बरु नाफाको निम्ति, आफ्नो परिवार चलाउन भारतबाट आएका विषादी तरकारी बेच्न बसेका पसलेहरूजस्तै हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *