भर्खरै :

किन तिर्मिराएको छ ओली सरकार ?

करभिका
एकपछि अर्को लगातार सरकारको विरोध भएपछि प्रधानमन्त्रीले आफ्ना पार्टी कार्यकर्तालाई सरकारको प्रतिरक्षा गर्न निर्देशन दिए । तर, सरकारको विरोध राजनीतिक विषयमा राजनीतिक निहितार्थमात्र नभएको हुँदा सत्तासीन दलका कार्यकर्ता पनि खुलेर आफ्नो दलले नेतृत्व गरेको सरकारको प्रतिरक्षा गर्न सकेका छैनन् । आइफा अवार्डदेखि भारतीय तरकारी र फलपूmलमा बिषादी परीक्षण नगर्ने सरकारी निर्णयसम्मको पछिल्लो शिलशिलामात्र हेर्दा पनि सरकारी दलका नेता कार्यकर्ताले सरकारको पक्षमा प्रतिकार गर्नुपर्ने कुनै आधार देखेका छैनन् । गुठी विधेयकको विरोधमा भएको आन्दोलनका सहभागीमध्ये सूर्य र गोलाकारभित्र हँसिया हथौडा चुनाव चिह्नमा छाप लगाएका मानिस पनि मनग्य थिए । सत्तासीन दलका नेता–कार्यकर्तासमेत सरकारी कदमको प्रतिकार गर्नुभन्दा सरकारकै विरोधमा सडकमा उत्रेका थिए । प्रधानमन्त्रीका एकजना सल्लाहकारले गरेको निकै अशिष्ट र अराजनीतिक ट्वीटको विरोधमा सबभन्दा पहिले सत्तासीन दलकै नेताहरू देखिए ।
सरकार किन भित्र र बाहिर दुवैतिरबाट प्रतिरक्षा गर्नुपर्ने अवस्थामा पुगेको छ ? निकै बलियो मानिएको सरकारसमेत किन हरेक दिन नयाँ नयाँ विषयमा एकपछि अर्को विरोधको सामना गर्न बाध्य छ ?
विचारहीन एकता
सामान्यतः कुनै पनि दुई वा दुईभन्दा बढी राजनीतिक दलबीचको एकता विचार र कार्यक्रममा सामिप्यता भएपछि हुने गर्दछ । सिद्धान्तमा एकरुपता नै राजनीतिक दलको एकताको आधार हो । कतिबेला सिद्धान्त र कार्यक्रममा विभेद भएर पनि कुनै निश्चित मुद्दामा निकटता भएपछि संयुक्त मोर्चा बनाएर पनि अघि बढ्ने अभ्यास छ । तर, एमाले र माओवादी केन्द्रबीचको एकताको प्रक्रिया भने ठीक उल्टो छ । पहिले दुवै दलबीच एकताको घोषणा गरियो अनि बल्ल सिद्धान्तको चर्चा गरिंदै छ । जे कुरा पहिले हुनुपर्ने थियो, त्यो पछि गरिएको छ । जे कुरा पछि गर्नुपर्ने थियो, त्यो भइसकेको छ ।
सामान्यतः मानिस खुट्टाले टेक्छ । टाउकोले टेकेको मानिस आश्चर्यको विषय बन्छ । अहिले एमाले र माओवादीबीचको एकता प्रक्रिया खुट्टाले टेकेको छैन, टाउकोले टेकेको अवस्थामा छ ।
त्यसो भए के नेकपा अहिले टाउको टेकेर अघि बढिरहेको छ ? टाउकोले टेकेर पनि पार्टी अघि बढ्न सक्छ र ? कोही व्यक्तिले सहारा दिने हो भने टाउकोले टेकेर पनि मानिस केही दुरी पार गर्नसक्छ । नेकपाले पनि केही निश्चित दुरी त्यसरी नै पार गर्ने छ । उसलाई आज टाउको टेकेर हिँडाउने शक्ति भनेको सत्ताको शक्ति नै हो । जुन दिनसम्म सत्ताको शक्तिले थामेको हुन्छ, टाउकोले टेकेर पनि यो एकता अघि बढ्छ । जुन दिन सत्ताको समाइ कमजोर बन्छ, लड्नुबाहेकको अर्को विकल्प ऊसँग हुने छैन ।
सरकारको नेतृत्व गरेको नेकपा वैचारिक एकता र आन्दोलनको जगमा एकीकृत बनेको होइन । स्थानीय तहदेखि केन्द्रसम्मको भागबण्डाका आधारमा साङ्गठनिक एकता गरिएको छ ।
प्रधानमन्त्रीको हचुवा अभिव्यक्ति
प्रधानमन्त्री केपी ओलीको वाक्पटुताको बयान गरी साध्य छैन । धेरै मानिस उनको यस्तै वाककलाबाट प्रभावित छन् । उनले धेरै उखानमात्र दिएका छैनन् बरु लोपोन्मुख नेपाली उखानले समेत जीवन पाएका छन् । राजनीतिक नेतृत्वसँग हुनुपर्ने धेरै थरी विशेषतामध्ये वाककला पनि पर्दछ । यसमा ओली विशिष्ट श्रेणीमा उत्तीर्ण छन् । तर, वाक्कलाले नै राजनीति चलेको हुँदैन ।
राजनीतिक जीवनमा ओलीलाई आफ्नो वाक्कलाले धेरै ठाउँमा धेरै उपलब्धि हासिल गर्न मद्दत गरेको हुनुपर्छ । तर, प्रधानमन्त्री बनेपछि उनका अभिव्यक्तिकै कारण उनी अलोकप्रिय बनेका छन् । उनले विगतमा कुनै सन्दर्भमा बोलेको कुरा आज उनकै लागि गलपासो बनेको छ । प्रधानमन्त्रीले बिना कुनै तयारी हचुवाको भरमा बोलेका अभिव्यक्ति आफ्नै लागि घाँडो बनेको छ । सामाजिक सञ्जाल र नयाँ सञ्चारमाध्यमले मानिसको बुझाइ र जानकारीको तह निकै विस्तार गरिसकेको छ । कसैले सार्वजनिकरूपमा दिएको अभिव्यक्ति कति सही वा गलत भन्ने कुराको जाँच गर्न विशेष संयन्त्र परिचालन गर्नुपर्ने अवस्था छैन । नयाँ सञ्चारमाध्यममा जनता स्वयंले कसैको भनाइ कति सही वा गलत भन्ने कुराको छिनोफानो गर्ने गर्छन्, पक्ष विपक्षमा बहस गर्छन् ।
एक सन्दर्भमा प्रधानमन्त्रीले काठमाडाँैमा आफू पदासीन भए यता आधा मानिसले मात्र मास्क लगाउने तर्क गरे । तर, उनको अभिव्यक्ति कुनै तथ्य र अध्ययन अनुसन्धानको निचोडमा आधारित थिएन । हिजो कति मानिसले मास्क लगाउँथे र अहिले कतिले लगाउने गर्छन् भन्ने विषयमा कुनै सरकारी वा अनुसन्धान निकायले अध्ययन गरी त्यसैको आधारमा प्रधानमन्त्रीले यस्तो अभिव्यक्ति दिएका भए त्यो तर्कमात्र हुन्थेन, तथ्य हुने थियो । प्रधानमन्त्रीले बोलेको कुरा असत्य भएको वास्तविकता बोल्न कुनै मिडिया वा प्रतिपक्षले विशेष टोली परिचालन गरी अध्ययन गर्नुपरेन । जनता स्वयंले यो अवस्तुगत कुराको प्रतिकार गरे ।
प्रधानमन्त्रीले हिजोजस्तै हचुवाको भरमा भाषण गर्दै जानुले उनको मात्र होइन, उनी नेतृत्वको सरकारको लोकप्रियता पनि घटाउँदै लाने छ ।
चुनाव जिताउने वर्गको सेवा
सत्ताको आडमा आफ्नो दुनो सोझ्याउने वर्ग सबै व्यवस्थामा हुन्छ । राणाकालमा राणाको, पञ्चायतमा राजदरबारको, बहुदलमा काङ्ग्रेस र एमालेको अनि अहिले नेकपाका नेताहरूको चाकडी गर्ने वर्ग छँदै छ । शक्तिको भक्ति गर्ने चिन्तन नेपाली समाजमा बलियो गरी गडेको सांस्कृतिक चिन्तन हो । राजनीतिक व्यवस्थाको परिवर्तनले यसमा धेरै ठूलो अन्तर ल्याउन सकेको छैन । राणाको दरबारमा चाकडी र अहिले नेताको घरदैलोमा चाकडी जाने शैलीमा केही भिन्नता होला । तर, जुन वैचारिकीमा त्यो टिकेको छ, त्यसमा कुनै ठूलो अन्तर आइसकेको छैन ।
एमाले र माओवादीको इतिहास हिजो जे–जस्तो भए पनि आज यी दुई दल ‘मिलेर’ बनेको दललाई यही वर्गले घेरा हालेको छ । यो वर्गको भक्ति मन्त्र यति बलियो र मोहनी लगाउने खालको हुन्छ, शासक यसमा वशीभूत हुने गर्दछ । यो वर्गको प्रशंसा र महिमागानमा हिजोका शासक निमग्न भएका थिए र आजका शासक पनि यसैमा निमग्न छन् ।
यो परम्परागत भक्तिमार्गी वर्गबाहेक गणतन्त्रको स्थापनासँगै सत्ताकै आडमा अर्को एउटा नयाँ वर्ग हलक्कै बढेको छ । यो वर्गका मानिसको हिजोको पृष्ठभूमि वा पारिवारिक आधार त्यत्ति खाइलाग्दो थिएन । तर, सत्ताकै आडमा बजारमा चल्ती जुन कुनै व्यापार व्यवसायमा पनि हामफालिहाल्ने वर्ग भएकोले यो वर्ग आर्थिकरूपमा आज उदयीमान छ । भूमाफियादेखि विभिन्न क्षेत्रका ठेकेदारहरू यही वर्गमा छन् । राजनीतिक दललाई सत्तारोहण गराउन यो वर्गको विशेष भूमिका हुने गर्छ । यसले पैसा पनि लगानी गर्छ, साथै आफ्नो सञ्जाललाई राजनीतिक उद्देश्य पूरा गर्न परिचालन गर्नसक्ने भएकोले परम्परागत र ओरालोलाग्दो भक्तिमार्गी वर्गभन्दा यो उदयीमान वर्ग आजका शासक दलहरूलाई बढी उपयोगी छन् ।
तर, यो वर्गको सर्त भनेको चुनावमा लगानी र चुनाव जित्न सहयोग गरेबापत् आफ्नो आर्थिक लाभको व्यापार विस्तारमा सहयोग गर्नुपर्छ अथवा रोकतोक गर्न पाउँदैन । नेकपाले हासिल गरेको चुनावी सफलताको पश्र्वमा यो वर्गको ठूलो भूमिका छ । सरकार यो वर्गको स्वार्थसँग टकराउन सक्दैन । बरु चुनावताका भएको आपसी सम्झौताअनुसार नै यो वर्गको हितमा नीति कार्यक्रम बनाउने गर्दछ ।
यो वर्गको नाफामा आधारित स्वार्थ जनताको हितसँग टकराउने गर्दछ । अनि सरकार आफ्ना अन्नदाताको स्वार्थ पूरा गर्ने धुनमा जनताको हितलाई उपेक्षा गर्दै छ ।
दम्भी कार्यकर्ता
दुवै दल मिलेर चुनावमा हासिल गरेको अड्ढगणितीय सफलताले नेकपाका नेता कार्यकर्तामा बेग्लै खालको ऊर्जा सञ्चार गरिदियो । संसदमा आफ्ना नेताहरूको बाक्लो उपस्थितिले कार्यकर्ताको खुट्टा भुइँ टेकेन । हुरुक्कै नेता र कार्यकर्ताले सोचे–कम्तीमा बीस वर्ष ढुक्क भए हुन्छ । यो भावनाले उनीहरूले दुई दल मिल्दा नै आफ्नो हित देखे । सिद्धान्त र विचारलाई एकातिर मिल्काउँदै भन्न थाले, जीवनको लागि सिद्धान्त हो, सिद्धान्तको लागि जीवन होइन । सरकारले विकास र समृद्धिको नारा दिइरहेको सन्दर्भमा कतिपय कार्यकर्ताले चीनमा चिनियाँ कम्युनिष्ट पार्टीको शासनसँग नेकपाको शासनलाई तुलना गर्न भ्याए । यसले नेकपाका कार्यकर्तामा दम्भ भरिदिएको छ । दम्भी कार्यकर्ताले ओलीका शब्दमा अरिङ्गाल बनेर जताततै बहुमतको थुतुनोले चिल्दै गए । जनताभन्दा आफूलाई माथि सोच्ने र बहुमत पाएको सरकारले गल्ती नै नगर्ने चिन्तनले कार्यकर्ता पञ्चायतका पञ्चजस्तै व्यवहार गर्नथाले । हिजो आन्दोलनको प्रतिकूलतालाई इतिहास मानेर जुनीजुनीसम्म सत्तामै रहने जस्तो कार्यकर्ताको व्यवहारले सरकारको लोकप्रियता क्रमशः ओरालो लाग्दै गयो ।
यस्तै विशेषता (कमजोरी) ले आज ओली सरकार एकपछि अर्को विवाद र विरोधमा फस्दै गएको छ । सरकार आज राक्षस मार्न नसकेको हकुर्लस तिर्मिराएजस्तै तिर्मिराएको अवस्थामा छ । आफूभित्रको समस्या समाधान नगरी छायासँग मुक्काबाजी खेलेर सरकारले कसरी आफ्ना बाधा पन्छाउन सक्ला र !

Leave a Reply

Your email address will not be published. Required fields are marked *