भर्खरै :

गणेशमा कविता कार्यशाला

भक्तपुर, १ साउन । नेपाली, अङ्ग्रेजी, सामाजिक विषयका पाठ्यपुस्तक पल्टाउँदै कविता पढ्दै, वाचन गर्दै र शिक्षकले लय मिलाएर वाचन गरेको कविता सुन्दै आएका विद्यार्थीले साउने सङ्क्रान्तिको दिनमा भने आफैंले कविता लेखेका छन्, वाचन गरेका छन् ।
भक्तपुर नगरपालिकाको भार्वाचोस्थित गणेश माविमा अध्ययनरत विद्यार्थीहरूले बुधबार कविताका हरफहरूमात्र लेखेनन्, कविता पनि वाचन गरे । विद्यालयले आयोजना गरेको ‘कविता लेखनसम्बन्धी कार्यशाला’ अन्तर्गत अढाइ घण्टाको कक्षमा सादा कापी र कलमको साथमा सहभागी कक्षा ९ र १० का विद्यार्थीले कविता लेखे ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र खर्बुजाले साहित्यिक क्षेत्रमा राम्रो गर्ने विद्यार्थीले अन्य सिर्जनात्मक क्षेत्रमा पनि प्रगति गर्ने उल्लेख गर्दै आफूसँग भएको प्रतिभा र कला प्रस्फुटन गराउन कार्यशालाले सहयोग पु¥याउने बताउनुभयो ।
अध्यक्ष खर्बुजाले कविता, गीत, गजल, मुक्तक, कथा, लघुकथा, निबन्धले विद्यार्थीको जीवनमा ठूलो प्रभाव पार्ने चर्चा गर्दै विद्यालयले विद्यार्थीमा रहेको प्रतिभाको उजागर गर्न विभिन्न क्रियाकलाप गर्दै आएको बताउनुभयो ।
कार्यशालामा सुरेश बखुन्छेंले कविताको आधारभूत पक्षबारे चर्चा गर्दै कविताले विद्यार्थी जीवनमा पर्ने प्रभावबारे उल्लेख गर्नुभयो । सञ्चारकर्मी एवम् स्रष्टा हरिसुन्दर छुकांले कविता लेखनले पुग्ने फाइदासँगै कविता लेखनको विधिबारे चर्चा गर्नुभयो ।
कार्यशालामा सहभागी विद्यार्थीहरूले विभिन्न विषयमा कविता लेखनको अभ्यास गरेका थिए ।
“साहित्य तथा कविताप्रति विद्यार्थीको आकर्षण बढाउन गरिएको कार्यशालाले साहित्यको महत्व, आवश्यकता र कविता लेखनको विधि सिकेका छन्, यसले उनीहरूको अभिव्यक्ति कला र सिर्जनात्मक खुबी बढाउन सहयोग पुगेको छ ।” विद्यालयका सहायक प्रधानाध्यापक गणेशराम थुसाले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *