भर्खरै :

ट्रम्पसँग नडराउने काली महिला

यो साता संरा अमेरिकी राजनीति एउटा फरक विषयले तात्यो । त्यसो त संरा अमेरिकी राष्ट्रपति पदमा डोनाल्ड ट्रम्प आए यता उनका विवादस्पद अभिव्यक्ति नै अमेरिकी राजनीति तताउने मुल विषय बन्ने गरेको छ । त्यसमा पनि विशेषतः ट्रम्पले गर्ने ट्वीटले अमेरिकी राजनीति मात्र होइन, विश्व राजनीति नै तताउने गरेका छन् ।
यो साता ट्रम्पको त्यस्तै ट्वीटले हलचल ल्याएको छ । उनले आफ्नै देशका प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने चार जना महिला सांसदहरूविरुद्ध गरेको ट्वीटले त्यस्तो हलचल ल्याएको हो । ट्रम्पले ट्वीटमार्फत हमला गरेका चार जना सांसदहरू अप्रवासी अमेरिकी मूलका हुन् । अनि चारै जना महिला हुन् । ट्रम्पले ट्वीटमा ती महिला सांसदहरूलाई संरा अमेरिकाप्रति धेरै गुनासो भए देश छोडेर जान लेखेका थिए ।
राष्ट्रपतिको यस्तो अभिव्यक्ति जातीय विद्वेष फैलाउने किसिमको भएको भन्दै व्यापक विरोध भएको छ । चारै जना सांसदहरूले संयुक्त पत्रकार भेटघाट गरी ट्रम्पको सो अभिव्यक्तिको कडा विरोध गरेका छन् । उनीहरूले ट्रम्पको जातीय सम्प्रदायिकता उछाल्ने अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । उनीहरूले ट्रम्पविरुद्ध महाभियोग लगाउने समय आइसकेको र त्यसमा ढिलाई गर्न नहुने घोषणा गरे ।
चार जनामध्ये पनि ट्रम्पले विशेष निशाना बनाएका सांसदको नाम हो–इलहान ओमार । ओमार ३७ वर्षकी भइन् । उनको जन्म अफ्रिकी देश सोमालियाको राजधानी मोगादिसुमा भएको थियो । उनको बाल्यकाल सोमालियाको बाएडाओ सहरमा भएको थियो । उनी दुई वर्षको उमेर हुँदा आमा गुमाएकी थिइन् ।
उनी सन् १९९२ मा न्यू योर्कमा आएकी थिइन् । उनी त्यत्तिबेला १२ वर्षकी थिइन् । सन् १९९५ मा मात्र उनको परिवारले औपचारिक रुपमा संरा अमेरिकामा संरक्षण पाएको थियो । उनीहरू केही समय भर्जिनियामा बसे । अनि मेनिपोलिसमा बसाई सरेका थिए । उनको बुवा ट्याक्सी चालक र पछि हुलाक कार्यालयमा काम गर्थे ।
सोमालियाली महिलाले लगाउने हिजाब लगाएको कारण उनले भर्जिनियामा अपमान सहनुपरेको उनले आफ्नो विगत सम्झने क्रममा सम्झेकी थिइन् । सन् २००० मा मात्र ओमार संरा अमेरिकी नागरिक बनेकी थिइन् । त्यत्तिबेला उनी १७ वर्षकी थिइन् ।
नर्थ डाकोटा स्टेट युनिभर्सिटीमा उनले राजनीतिशास्त्र र अन्तर्राष्ट्रिय अध्ययनमा स्नातक गरेकी थिइन् । उनी सामुदायिक पोषण शिक्षक थिइन् । मेनिसोटा विश्वविद्यालयमा उनले त्यही हैसियतमा काम गरेकी थिइन् । उनले पोषण परामर्शदाताको रूपमा लामो समय विभिन्न क्षेत्रमा काम गरेकी थिइन् ।

सन् २०१६ मा उनले आफ्नो क्षेत्रबाट सांसद पदमा निर्वाचित भएकी थिइन् । उनी सोमालियाली मुलबाट संरा अमेरिकी निर्वाचित जित्ने पहिलो व्यक्ति हुन् ।
सन् २००२ मा अहमद अब्दिसालन हिरसीसँग उनको विवाह भएको थियो । उनीहरूले कानुनी रूपमा विवाह गर्न खोजेका थिए । तर, उनीहरूलाई त्यसको अनुमति दिइएन । तथापि उनीहरूले विवाह गरे र अहिले उनीहरूका दुई सन्तान पाए । सन् २००८ देखि उनीहरू अलग बसे । सन् २००९ मा ओमारको विवाह बेलायती नागरिक अहमेद नुर सेइड इम्लीसँग भयो । सन् २०११ मा उनीहरूबीच पारपाचुके भयो । पछि फेरि अघिल्लो श्रीमानसँग बसिन् । अब उनीहरूबीच कानुनी विवाह भएको छ । हाल उनीहरूका तीन सन्तान छन् ।
हँसिलो स्वभावकी ओमार प्रष्ट र सशक्त वक्ताको रूपमा आफ्नो परिचय बनाएकी छिन् ।
शुक्रबार ओमारले आफू राष्ट्रपति डोनाल्ड ट्रम्पसँग नडराउने बताइन् । वाशिङ्टनबाट आफ्नो गृह राज्य मेनासोटा पुग्दा ओमारलाई उनका समर्थकले भव्य स्वागत गरेका थिए ।

आफ्ना समर्थकसँग ओमार


“हामी हच्किएका छैनौं । हामी डराएका छैनौं”, आफ्ना समर्थकहरूसमक्ष बोेल्दै उनले भनिन् । उनका समर्थकहरूले ‘जातिवाद मुर्दावाद’ र ‘म ओमारको पक्षमा छु’ जस्ता नारा लगाएर उनको स्वागत गरेका थिए ।
“हामी लड्न तयार छौं”, ओमारले मेनासोटाको नगर सभाकक्षमा आयोजित कार्यक्रममा बोल्दै भनिन् ।
गत बुधबार ट्रम्प संरा अमेरिकी चार जना सांसदहरूविरुद्ध निकै अशिष्ट ट्वीट गरेका थिए । चार जनामध्ये एकजना ओमार पनि थिइन् ।
ट्रम्पले चार जना कलर सांसदहरूलाई लक्षित गरी भनेका थिए–‘उनीहरूसँग राम्रा कुरा गर्न केही त्यस्तो कुनै कुरा छैन । त्यसकारण म भन्छु, तिमीलाई मन पर्दैन भने छोडेर जाऊ । उनीहरू त कहिले काहीं हाम्रो देशलाई नै घृणा गर्छन् जस्तो मलाई लाग्छ ।”
ओमारलाई नै लक्षित गरी ट्रम्पले भनेका थिए,“यो देशका धेरै भागमा अज्ञानता व्याप्त रहेको भनेर उनी मिहिनेती अमेरिकीहरूलाई न्यूनाड्ढन गर्न खोजिरहेकी छिन् ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *