भर्खरै :

सरकारी पत्रिका दलको पत्रिका होइन

– मेरिना शाक्य
विसं १९५८ देखि प्रकाशित गणतन्त्र नेपालको बहुभाषी राष्ट्रिय दैनिक गोरखापत्र सरकारको मुख्य पत्रिका हो, नेकपाको पत्रिका होइन । सरकारको पत्रिका र दलको पत्रिका एउटै होइन, एउटै हुँदैन । सरकारको काम कारबाही र गतिविधि जनताको घर आँगनमा पु¥याएर जनतालाई सुसूचित पार्न सरकारी पत्रिका प्रकाशन हुन्छ । सरकारको पत्रिकामा सरकारको काम कारबाहीलाई जोड दिइएको हुन्छ । त्यस्तो पत्रिकामा पार्टीको गतिविधिलाई प्राथमिकतामा राख्दैन, राख्नु हुन्न । पार्टीको गतिविधि पार्टीको पत्रिकामा प्राथमिकताका साथ राख्न सकिन्छ, राख्न मिल्छ । तर दलको गतिविधिलाई सरकारी पत्रिकामा प्राथमिकता दिएर कुनै समाचार छाप्नु ठीक होइन । सरकारी कार्यक्रममा कुनै प्रधानमन्त्री, मन्त्रीले बोलेको या गतिविधिको समाचार छाप्नु अर्को पाटो हो । नेकपाको नेतृत्वमा बनेको ओलीको सरकारले गोरखापत्रलाई दलको पत्रिकाजस्तो दलको समाचार र फोटो दिएर प्राथमिकतासाथ छाप्नु पत्रिकाको दुरुपयोग हो ।
सोमबार प्रकाशित गोरखापत्रको पहिलो पृष्ठमा चार कोलमको फोटोसहितको समाचार छाप्यो । समाचारमा ‘सबै जिल्लामा तोकियो इन्चार्ज’ उल्लेख गरिएकोे छ । न्यायाधीश र प्रमुख जिल्ला अधिकारीहरू सरुवाको समाचार दिनु अन्यथा होइन । प्रधानमन्त्री निवासमा आइतबार नेकपाको सचिवालय बैठक भएको थियो । सबै जिल्लामा इन्चार्ज तोक्ने निर्णय नेकपाको लागि ठूलै काम होला । तर, त्यो ठूलो कामको समाचार सरकारी पत्रिका गोरखापत्रमा प्राथमिकतासाथ छाप्ने होइन । यसअघि पनि नेकपाका गतिविधिको समाचार गोरखापत्रको अघिल्लो पृष्ठमा छापिएको थियो । पार्टीको समाचार गोरखापत्रमा छाप्न मिल्छ तर, गोरखापत्र नै ढाक्ने गरी समाचार छाप्नु कति उचित हो ?
यसअघि राष्ट्रपति विद्या भण्डारीले राष्ट्रपति भवन शीतल निवासमा छोरीको बिहेको तामझाम गरियो । राष्ट्रपति भवनमा स्वागत सत्कार गरियो । त्यसबेला छोरीको बिहे राष्ट्रपति भवनमा गरेर राष्ट्रपति भण्डारीले गल्ती ग¥यो भनी आलोचना भएको थियो । त्यसरी नै भोलि प्रधानमन्त्रीले प्रधानमन्त्री निवासमा आफ्नो परिवार या नातागोताको भोज खुवाइयो भने के गर्ने ? मन्त्रालयमा मन्त्रीहरूले, नगर प्रमुख र उपप्रमुखले नगरपालिका र अध्यक्ष र उपाध्यक्षहरूले आ–आफ्नो र गाउँपालिकामा छोराछोरीको बिहे, काजक्रिया गर्न थाले के गर्ने ? गाउँपालिका, नगरपालिका, मन्त्रालय प्रधानमन्त्री निवास र राष्ट्रपति निवास व्यक्ति र दलको होइन । सरकारी कार्यालयलाई आ–आफ्नो कार्यालय ठानेर उपयोग गर्नु ठीक होइन । सरकारी कार्यालय व्यक्तिगत र दलको कार्यालय एउटै हुँदैन, एउटै होइन । यसमा सत्तारुढ दल नेकपा किन चुक्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *