भर्खरै :

वैदेशिक अध्ययनको खेती

सरकारको समृद्धि नाराले युवाहरूलाई फिटिक्कै तानेन भन्ने कुरा वैदेशिक अध्ययनको नाममा विदेशिने विद्यार्थी २० प्रतिशतले बढेको तथ्याङ्कले छर्लङ्ग पार्छ । अध्ययनको नाममा विदेशिने विद्यार्थीबाट करिब एक वर्षमा ४० अर्ब रुपियाँ बाहिरिनुले नेपाल कतातिर गइरहेको छ भन्ने देखाउँछ । एउटा गरिब देशको यति धेरै रकम बाहिरिनु आर्थिक प्रगतिको हिसाबमा पटक्कै सकारात्मक मान्न सकिन्न ।
विदेश पढ्न जाने उमेरमा १७ देखि २५ वर्षसम्मका युवायुवती हुन्छन् । अध्ययनको नाममा विदेशिने युवाहरूको ध्येय कसरी ती नै देशमा स्थायित्व कायम गर्ने भन्ने हुन्छ । १५–२० लाख रुपियाँ खर्च गरी अष्ट्रेलिया, अमेरिका, युरोप पुग्ने विद्यार्थीको ध्यान पढ्नुभन्दा काममा केन्द्रित हुनु अस्वाभाविक हुन्न ।
युवा विदेशिनुको अर्थ हाम्रो सबभन्दा भरपर्दो श्रमशक्ति बाहिरिनु हो । त्यतिमात्र होइन ती युवाले विदेशबाट सिक्ने संस्कार र संस्कृतिले नेपाली संस्कृतिलाई कतातिर पु¥याउने भन्नेमा पनि ध्यान दिनुपर्ने हुन्छ । पुँजीवादी संस्कार एवम् संस्कृतिमा अल्झिएका युवाहरूले व्यक्तिवाद, नाफाको निम्ति घाँटी रेट्ने प्रतिस्पर्धा, खुला अर्थतन्त्र, उदारवाद, आदि के के सिक्ने हो भन्न सकिन्न । समाजवादउन्मुख संविधान बनाउने देशका नेताहरूको निम्ति के त्यस्तो सिकाइ स्वीकार्य होला ? वैदेशिक अध्ययनको द्वार यसरी नै खुला गर्ने हो भने ती नेताहरूले समाजवादको नाम जप्ने ढोङी चरित्रबाहेक केही प्रदर्शन गरिरहेका छैनन् भन्ने ठोकुवा गर्न सकिन्छ ।
यस्तो विकराल परिस्थिति कसले निम्त्यायो ? यस्तो परिणाम किन आयो ? यी प्रश्नको सही जवाफ निक्र्योल नगरी पढ्नेका नाममा लाखौं विद्यार्थी बाहिरिन रोकिन्न ।
विदेश जानु केहीको रहर होला, तर धेरैको कहर नै हो । वैदेशिक रोजगारीको नाममा विदेशिने नेपालीको मूल उद्देश्य काम गरी आय आर्जन गर्नु नै हो, त्यस्ता युवा सामान्यतः गरिब वर्गकै हुन्छन् । तर अध्ययनको नाममा विदेशिने ७० प्रतिशतको मुख्य उद्देश्य पढ्नु होइन, काम गर्नु हो । किनभने उनीहरूमा आफ्नो खर्च उठाउने दबाबसमेत हुन्छ । नेपाल भित्रिने रेमिटेन्सको ठूलो हिस्सा विद्यार्थीको रहेको सरकारी पदाधिकारीको बयानले पनि यो कुरा पुष्टि हुन्छ ।
युवाहरू विदेशिनुमा आफ्नो देशप्रतिको भरोसामा आएको गिरावट हो । यो अत्यन्तै गम्भीर पाटो हो । नेपाली शासक वर्गका चरित्र–व्यवहार देखेर युवाहरू निराश छन् । किनभने शासक राजनीतिक पार्टीहरूले लड्ने–भिड्ने वा सङ्घर्ष गर्ने शिक्षासमेत दिन सकेनन् । स्पष्ट छ, शिक्षा व्यवस्थाले देशको निम्ति बलिदान गर्ने भावना दिन सकेन । यसले युवा पुस्ता ‘भगुवा’ पुस्तामा रूपान्तरित भयो ।
अध्ययनको निम्ति विदेश जाने व्यक्ति दक्ष बनी स्वदेश आएका भए त्यसलाई पनि एउटा सकारात्मक मान्न सकिएला तर त्यस्तो घटना मुस्किलै देखिन्छ । उल्टो नेपालको घरबार बेचेर विदेशी भूमिमै रमाउनेको सङ्ख्या बढेको छ ।
विज्ञान तथा प्रविधि क्षेत्रमा विश्वमा भइरहेको परिवर्तनसँग अगाडि बढ्नसक्ने शिक्षा दिन नसक्नाले पनि देशको शिक्षाप्रति आकर्षण घटेको हो । शिक्षालाई उत्पादन श्रमसँग जोड्न नसक्दा शिक्षित बेरोजगारको सङ्ख्या थामिनसक्नु भएको हो । शिक्षामा आमूल परिवर्तनको साथै स्वदेशमै रोजगारीको सुनिश्चितता नभएसम्म विभिन्न नाममा युवा विदेशिन रोकिने छैन । रेमिटेयान्स त आएकै छ भन्ने शासकहरूले आगामी २० वर्षमा बुढो, अशक्त र रोगी भएर नेपाल आउने ती ‘विद्यार्थी’ लाई कति वटा वृद्धाश्रम र अस्पताल बनाउने योजना भन्ने छ, नेपाली जनतालाई प्रस्ट पारून् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *